इजरायल र प्यालेस्टाइनबीच भिडन्त जारी

लोकपाटी न्यूज

ऐजन्सी। प्यालेस्टाइन र इजरायलबीच गत सोमबारदेखि सुरु भएको अन्त्य हुने संकेत देखिएको छैन। पछिल्ला ५ दिनमा हमास इजराइलमा एक हजार ७ सय ५० रकेटले हमला गरिएको छ भने प्यालेस्टाइनको गाजा शहरमा ६ सय एयरस्ट्राइक भएको छ।

१० मेमा जेरुशेलमको अल–अक्सा मस्जिदमा इजरायली सुरक्षाकर्मि र प्यालेस्टाइनी प्रदर्शनकारीहरुबीच भएको झडपपछि हिंसा सुरु भएको थियो, जसले द्वन्द्वको रुप लियो। गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८३० जना प्यालेस्टाइनी घाइते भएका छन्। प्यालेस्टाइनमा मृत्यु हुनेको संख्या ११९ पुगेको छ, जसमा ३१ जना बालबालिका रहेका छन्।

त्यस्तै, इजराइलमा प्यालेस्टाइनले गरिरहेको हमलामा ९ जनाको मृत्यु भएको छ, जसमा एक जना बालबालिका रहेका छन्। हालसम्म इजरायलमा ४ सय घाइते भएका छन्। इजरायली सैनिक र प्यालेस्टाइनबीच जारी हिंसात्मक संघर्षले गाजापछि वेस्ट बैंक क्षेत्रको अधिकांश इलाकामा पनि हमला हुन थालेको छ। वेस्ट बैकको विभिन्न ठाउँमा भएको हिंसामा १० जनाले ज्यान गुमाइसकेका छन् भने सैयौं मानिस घाइते भएका छन्।

इजरायली सेनाले यी क्षेत्रमा अश्रु ग्यास र रबरका गोलीको प्रयोग गरिरहेको छ भने प्यालेस्टाइनीहरुले थुप्रै ठाउँमा पेट्रोल बमले हमला गरिरहेका छन्। वेस्ट बैंकका केही ठाउँहरुमा गम्भिर हिंसा भइरहेको बताइएको छ। यी क्षेत्रमा वर्षौ पछि सबैभन्दा खराब हिंसा भइरहेको बताइएको छ।हप्तौंको तनाबपछि गत शुक्रबार इजरायली सेना र प्यालेस्टाइनबीच पूर्वी–जेरुसेलमबाट हिंसात्मक संघर्षको सुरुवात भएको थियो । अन्तर्राष्ट्रिय समूदायले शान्तिको अपिल गर्दा गर्दै दुई देशबीचको तनावले द्वन्द्वको रुप लिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्