कोरिया जाने कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान

लोकपाटी न्यूज

काठमाडौं। रोजगारपत्र अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई उडानका लागि बोलपत्र आह्वान गरिएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले काठमाडौंदेखि कोरियाको सिओलसम्म हवाई उडानका लागि बोलपत्र आह्वान गरेको हो।

हाल कोरियन एयरलायन्सले एकल रूपमा ईपीएस मार्फत कोरिया जाने नेपाली श्रमिकहरूलाई लैजादै आएको छ। कोरियन एयरसँग गरिएको एक वर्षे सम्झौता सकिन लागेपछि बोलपत्र आह्वान गरिएको हो।

आगामी आर्थिक वर्ष २०८१/०८२ देखि एक वर्षसम्म सिओलसम्म कामदार पुर्‍याउनको लागि बोलपत्र आह्वान गरिएको हो। विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको ईपीएस कोरिया शाखाले ३१ दिने सूचना सार्वजनिक गरेको छ।

बोलपत्र वापतको शुल्कको लागि २० हजार रूपैयाँ दस्तुर तोकिएको छ। त्यसका लागि तीन करोड ८५ लाख रूपैयाँको धरौटी रकम माग गरिएको छ। आवेदन दिँदा सीधा उडानको हवाई भाडादर र ट्रान्जिट उडानको भाडादर बराबर हुन आएमा सीधा उडानलाई प्राथमिकता दिइने शाखाले जनाएको छ।

एचआरडी कोरियाबाट उडान तालिकाका लागि नामावली प्राप्त भएका व्यक्तिहरूलाई सम्झौता दरमा नबढ्नेगरी हवाई टिकट (खानासहित) उपलब्ध गराउनुपर्नेछ। हाल कोरियन एयरलायन्सले ८९५ अमेरिकी डलरमा काठमाडौंदेखि सिओलसम्म सिधा उडानमार्फत कामदार पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्