महिला मन्त्रीकाे पक्षमा बोल्दा चरित्र हत्या !

aastha ghimire.JPG01
लाेकपाटी न्यूज

–आस्था घिमिरे

काठमाडौं । गत साता फेसबुक वालमा एउटा फोटो पोष्ट गरेर स्टाटास लेखें । जसमा लेखिएको थियो “आफैं गाडी हाँकेर हाम्री दिदी कार्यक्रममा जाँदै । वाउ मन्त्री ज्यू, सक्षमता र साहस अनुकरणीय ।” यो न कुनै चाप्लुसी थियो न कुनै चाकडी । बरु आफूसँगै राजनीतिक फिल्डमा काम गरेकी महिला नेतृको सफलतामा फुरुङ्ग भएर दिइएको प्रतिक्रिया थियो ।

तर, वास्तविकता न मैले सोचे जस्तो भयो न चाहेजस्तो । एकपछि अर्को गर्दै गालीगलौजका वाणहरु वर्षिन थाले । यो सब हुनुमा न मेरो दोष थियो, न त मैले फोस्ट गरेको फोटो र स्टाटसको । बरु दोष थियो केवल सामाजिक संरचना र संकिर्णतावादी सोच भएका मान्छेहरुको ।

गालीगलौज गर्नु पनि हिंसा हो । सामाजिक सञ्चालमा कसैको चरित्रमाथि आक्षेप लगाएर दिइने प्रतिक्रिया पनि हिंसा हो । यहाँ उठाउन खोजिएको विषय भने अलि भिन्न प्रकृतिको छ । जस्तो कि फेसबुकका भित्ताहरुमा रंगिएका घिनलाग्दा शब्दहरु । चिया पसल, चोक र गल्लीहरुमा चल्ने निम्न कोटीका राजनीतिक बहसहरु, गालीगलौजहरु । अनि खुल्ला रुपमा फैलँदै गइरहेको अनैतिक गतिविधि ।

यो सब देख्दा यस्तो लाग्छ सरकार किन मुकदर्शक बनेर बसेको होला ? यदि आदेश दिने स्थानमा म थिएँ भने अथवा सत्तामा म हुने थिएँ भने के गर्थें थाहा छ ? समाजमा विकृति फैलाउने अराजकहरुलाई नामेटै पारेर छोड्थेँ । भ्रष्टाचार गरेर जनता चुस्नेहरुलाई सिधै गोली ठोक्थेँ । बलत्कारीहरुलाई फाँसीमा लड्काउँथेँ । राजनीतिक पार्टीको आवरणमा देशमा अशान्ति मच्चाउनेहरुलाई तत्कालै प्रतिबन्ध लगाउँथेँ ? नयाँ बानेश्वर चोकबाट प्रधानमन्त्रीलाई तथानाम भन्नेलाई जेलमा कोच्थेँ । राष्ट्रपतिलाई कुकुर्नी भनेर सामाजिक सञ्चालमा पोष्ट गर्नेलाई सुली चढाउँथेँ । जुनसुकै राजनीतिक पार्टी र नेताहरुको संरक्षणमा करोडाैं हिनामिना र अनियमितता गर्नेहरुलाई कालोमसो दलेर चार भन्ज्याङ् कटाउँथेँ । सरकारी कर्मचारी बनेर अनियमितता गर्नेहरुलाई बर्खास्त गर्थेँ र डण्डा लगाउँथेँ । आजभोलि मनमा यस्तै यस्तै तर्कहरु उब्जिन्छन् । तर, यी सब मेरो व्यक्तिगत क्षणिक आक्रोश मात्र हुन् । समस्याको समाधान त यस्ता व्यक्तिहरुलाई कानूनको कठघरामा उभ्याउनु नै हो ।

यहाँ विषयवस्तुलाई जोड्न खोज्दै थिएँ, महिलाको नै चरित्र हत्या किन गरिन्छ भन्ने विषयमा । अब महिलाहरुले पनि सामाजिक संरचनालाई मात्र दोष दिएर बस्ने अवस्था रहेन । विशेष गरी बौद्धिक विकास गर्ने र सामाजिक लान्छनाहरुलाई कुल्चिएर अगाडि बड्नुको विकल्प रहेन । भारतीय इतिहासकार रमिला थापाको एउटा भनाई छ ‘बौद्धिक बन्न तपाई विशेष प्रकारको क्षमतावान् हुनुपर्छ भन्ने कुनै जरुरी छैन । तपाईंसँग विशिष्ट चुनौतिको सामाना गर्नसक्ने क्षमता, प्रतिबद्धता, इमान्दारी पूर्वक निरन्तरता दिनसक्ने कला भए पुग्छ ।’ असमानता, अन्याय, अत्याचार र विभेदका विरुद्ध विद्रोही आवाज निरन्तर आवाज उठाइरहनुपर्छ । विद्रोह र साहस शब्दले जुन ओजन बोक्छ यही गरीमाले नेतृत्व क्षमता बढाउँछ । यही योगदानले नेतृत्व स्थापित गर्छ । दाल, भात, तरकारी, पति, परिवार, जस्ता घेरालाई अलिकति भने पनि पराकिलो पार्नुपर्छ । हामीलाई कसैले बौद्धिक जगतमा स्वागत गर्नको लागि फूलमाला लिएर तयार हुँदैन । आफैंले जुधेर, संघर्ष गरेर, प्रतिस्पर्धा गरेर स्थापित हुने हो । जोखिम मोल्न तयार होऊँ । त्यसैले सक्षम बनाउँछ ।

योगमाया न्यौपाने, सायद सबैले सुनेको नाम हुनुपर्छ । वि.सं. १९१७ मा भोजपुर जिल्लाको नेपाले डाँडाको सिम्ले भन्ने ठाउँमा जन्मेकी समाज सुधारक, शान्ति र अहिंसा मार्गकी अनुयायी योग साधक । जसले तत्कालिन नेपाली समाजले महिलामाथि गरेको पशुतुत्य व्यवहारको विरुद्ध पहिलो विद्रोही आवाज समूहिक रुपमा बुलन्द गरिन् । विधवा विवाहलाई मान्यता दिनुपर्ने । बालविवाह बहुविवाह रोक्नुपर्ने । महिला र पुरुष बीचका असमानता अटाउनु पर्ने । सम्पत्तिमा छोरा र छोरीको समान हक हुनुपर्ने जस्ता समाज सुधारका मुद्दाहरु उठाएर वि.सं. १९४८ मा महिला समिति स्थापना गरिन् । राणा शासक समक्ष खरो उत्रिइन् । गाउँ–गाउँमा जनचेतनामुलक गतिविधि अगाडि बढाइन् । तत्कालिन राणा शासकहरुले उनको सक्रियता र महिला समानताको अभियानलाई समाज भाँडेको आरोप लगाई उनीमाथि कानूनी कारवाही गर्‍यो । यही अपहेलना र तिरस्कारलाई सहन नसकेर आफ्ना ६८ जना अनुयायीहरुलाई साथै लिएर वि.सं. १९९८ साल असार २२ गते अरुण नदिमा हाम फालेर आत्माहत्या गरिन् ।

हुन त सत्य र न्यायको लागि विष सेवन गरेर मृत्यु रोज्न तयार हुने सुकरातले समेत भनेका थिए ‘महिलाको स्वभावजन्य भावुकता, कामुकता र संवेगले गर्दा महिला दार्शनिक हुन सम्भव छैन ।’ यो कुरा सत्य होइन । किनकी सुकरात पनि पुरुष सत्ताका द्योतक थिए ।

समाज रुपान्तरणको लागि हामीले अझै आफूलाई सक्षम बनाउनु पर्छ । दर्शन, राजनीति, कला, साहित्य जस्ता बौद्धिक कार्यहरुमा पनि अब महिलाहरु आउनुपर्छ । जोखिमपूर्ण पेशाहरु जस्तै सेना, डक्टर, इन्जिनियर, पाईलट, वकिल, पत्रकार, ड्राइभर जस्ता पेशाहरु पनि निसङ्कोच समाल्नु पर्छ ।

यी सबैका बाबजुत चुनौति उठाउन सक्षम बनाउनुपर्छ । शारीरिक काममा मात्र होइन अब बौद्धिक काममा समेत लाग्नुपर्छ । बौद्धिक काम पुरुषका पेशा हुन् भनेजस्तै व्यवहार गरेर महिलालाई होच्याउने पुरातनवादी सोचको विरुद्ध अथाह मिहेनत गरेर भएपनि अब्बल बौद्धिक बन्नुपर्छ । महिलाहरुलाई बौद्धिक विकासको लागि पुरुषहरुलाई जस्तो सहज वातावरण पक्कै पनि नहुन सक्छ । त्यसका लागि हामीले अझै पुरुषहरुको भन्दा विशिष्ट चुनौतिको सामाना गर्नुपर्ने हुन्छ । आरक्षण र विशेष अधिकारले अगाडि बढ्ने बाटो खुल्ला गर्ला तर बौद्धिक विकास गर्दैन । बौद्धिक विकासको लागि अथाह मिहेनत गर्नुपर्छ । गहिरो अध्ययन गर्नुपर्छ । धैर्यतापूर्वक तपस्यामा लिहिन हुन सक्नुपर्छ । झिना मसिना कामलाई थाती राखेरै भएपनि अध्ययनमा लाग्नुपर्छ ।

तत्कालिन त्यो समाज र आजको यो समाज तात्विक भिन्नता के ? हिजो पनि आज पनि यो समाज महिलाले नेतृत्व गरेको, महिलाले विद्रोही आवाज बुलन्द गरेको, महिला अधिकार र स्वतन्त्रताले स्थान पाएको पचाउन सक्दैन । विभिन्न बहानामा ती महिला विरुद्ध कत्ले आम गर्छ । यस्ता क्रियाकलाप सरकारको माथिल्लो तहदेखि तल्लो तहसम्म उत्तिकै हुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई विधवा, अलच्छिना जस्ता अपशब्द प्रयोग गरेर गरिएको अपमान होस् । सभामुख ओनसरी घर्तिलाई अनपढ, गवार छापामार भनेर समाजिक सञ्जाल मार्फत गरिएको घिनलाग्दा प्रचारवाजी होस् वा बिना मगर, साहाना प्रधान, शैलजा आचार्य, सपना प्रधान, पम्फा भुसाल, जयपुरी घर्ति, सुजाता कोईराला, हिसिला यमी, अंगुर बाबा जोशी र यस्तै अरु कयौं महिला नेतृहरुमाथि लगाइएको बिना कसुरका आरोपहरु हुन् । यी सबै पुरुष सत्ताका उदेक लाग्दा हर्कतहरु हुन् । जसले महिला नेतृत्व स्वीकार नै सकस भएको प्रष्ट बुझ्न सकिन्छ । यति मात्र होइन अनुराधा कोइराला जो आफैंमा सक्षम, अडिग, बौद्धिक, क्षमतावान् महिला हुन् । उनलाई बेला–बेला विभिन्न आरोप र लाञ्छना लगाएर चरित्र हत्या गरिएको सुनिन्छ ।

यस्ता कटु बचन र आरोपहरुलाई सहजै पचाएर निरन्तर नेतृत्वमै अडिग रहँदै राजनीतिक, प्रशासनिक र सामाजिक काममा अडिग रहन सफल तीनै अब्बल महिलाहरु साहसका नमुना हुन् । जसले समाज सुधारको फलामे ढोका खोलिदिएका छन् । खोलिएको फलामे ढोकाबाट भावी पुस्ताहरु निसङ्कोच र सहजताका साथ नयाँ संसारमा प्रवेश गर्न सकुन् भन्ने कामना ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्