एकीकृत अखिल नेपाल शिक्षक संगठनकाे उपत्यका स्तरीय जिल्ला परिषद् तथा सम्मान कार्यक्रम सम्पन्न

लाेकपाटी न्यूज

काठमाडाैं, २५ साउन । एकीकृत अखिल नेपाल शिक्षक संगठनले उपत्यका स्तरीय जिल्ला परिषद् तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे प्रमूख आतिथ्यतामा संगठनले साे कार्यक्रम सम्पन्न गरेकाे हाे।

कार्यक्रमकाे सम्बाेधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अबकाे मुलुककाे समग्र शिक्षा प्रणाली समाजवादकाे शिक्षा नीतिअनुसारकाे हुनुपर्नेमा जाेड दिए । उनले लामाे समयकाे संघर्ष र कयाैं जनताकाे त्याग र बलिदानले अहिलेकाे राजनीतिक परिवर्तन भएकाे भन्दै त्यसलाइ उल्टाउन प्रयास गर्नेहरू रछ्यानमा मिल्किने बताए ।

उनले भने, “जनतामा राजनीतिक सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन । इतिहासको चक्का निरन्तर अगाडि बढ्छ । पछाडि धकेल्न चाहनेहरु इतिहासको रछ्यानमा मिल्याइने नै गरेका छन् । नेपाल त्यसको अपवादमा हुनै सक्दैन ।” उनले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि नै कम्युनिष्ट एकता गरिएको स्पष्ट पारे ।

कार्यक्रमका अवसरमा संगठनले यस वर्षकाे एसइइमा ४ जीपीए ल्याउने विद्यार्थी, विभिन्न शिक्षाविद्, शिक्षक कर्मचारी र हालै शिक्षक सेवाबाट स्थायी नाम निकाल्न सफल शिक्षकहरूलाई सम्मान समेत गरेकाे संगठनका प्रचार विभाग सदस्य रत्न सुनुवारले जानकारी दिए ।

संगठनकाे ३ नम्बर प्रदेश अध्यक्ष दुर्गा सिंह तामाङकाे सभापतित्वमा भएकाे साे कार्यक्रममा विशिष्ट अतिथिकाे रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पाेखरेलकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्