उपकुलपतिका लागि ४० जनाले बुझाए विवरण

Education Ministry
लाेकपाटी न्यूज

काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ विश्वविद्यालयका उपकुलपति र दुई विश्वविद्यालयका सेवा आयोगका अध्यक्षसहित सदस्य हुन इच्छुकलाई आवेदन माग गरेपछि ४० जनाले आवेदन दिएका छन्।सात दिनभित्र आफ्नो व्यक्तिगत संक्षिप्त विवरण बुझाउन शिक्षा मन्त्रालयले आह्वान गरेपछि शिक्षा क्षेत्रमा योगदान दिएका व्यक्तिहरूले हिजो बिहीबारसम्म व्यक्तिगत विवरण पेस गरेका हुन्।

‘उनीहरूले इमेल, मन्त्रालयको उच्च शिक्षा महाशाखा, मन्त्रीको सचिवालय र सचिवलाई नाम उपलब्ध गराएका हुन्’, मन्त्रालय स्रोतले भन्यो। इमेलबाट आवेदन नहाल्नेले मन्त्रालयमै पुगेर पनि बुझाउन सक्ने व्यवस्था गरेपछि कतिपयले मन्त्रालयमै गएर आफ्नो योग्यतासहितको व्यक्तिगत विवरण बुझाएका हुन्।

मन्त्री गिरिराजमणि पोखरेलले उपकुलपतिका लागि आफूलाई समेत केही व्यक्तिले व्यक्तिगत विवरण उपलब्ध गराएको जानकारी दिँदै भने– ‘विवरण माग गरेलगत्तै करिब ४० जनाले नाम दिएका छन्।’ उनका अनुसार आज शुक्रबार वा आज नभए आइतबारसम्म पहिलोचरणको नाम सार्वजनिक गर्ने तयारी छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्