इन्स्टाग्राममा खाता खोल्दा अब जन्ममिति खुलाउनु पर्ने

insta
लाेकपाटी न्यूज

एजेन्सी। अब इन्स्टाग्राममा खाता खोल्दा जन्ममिति खुलाउनु पर्ने भएको छ। अहिलेसम्म इन्स्टाग्राममा खाता खोल्दा उमेर मात्रै उल्लेख गरे हुन्थ्यो, ठ्याक्कै जन्ममिति राख्नु पर्थेन। तर अब इन्स्टाग्राममा नयाँ अकाउन्ट खोल्दा जन्ममिति राख्नुपर्ने नियम बन्दैछ। खासगरी बालबालिका तथा किशोर किशोरीहरूलाई सोसल साइटमा हुने हिंसाबाट जोगाउनका लागि इन्स्टाग्रामले यस्तो उपाय अपनाएको हो।

फोटो शेयरिङ एप इन्स्टाग्राम सुरु भएको झण्डै एक दशक भयो। बुधबारदेखि इन्स्टाग्राममा नयाँ खाता खोल्दा जन्ममिति उल्लेख गर्नुपर्ने प्रावधान राखिएको छ। यसअघि इन्स्टाग्राममा खाता खोल्दा प्रयोगकर्ताले आफ्नो उमेर १३ वर्ष वा सोभन्दा माथि रहेको कुरा उल्लेख गरे पुग्दथ्यो र पूरा जन्ममिति उल्लेख गर्नु पर्दैन थियो। इस्टाग्रामले लामो समयदेखि प्रयोगकर्ताको छद्मतालाई मान्यता दिँदै आएको छ र प्रयोगकर्ताले आफ्नो वास्तविक नाम खुलाउन पर्दैन।

नाम मात्र होइन उमेरको हकमा समेत प्रयोगकर्ताको मनमौजी चल्ने गरेको थियो। अर्थात् प्रयोगकर्ताले आफ्नो उमेरसमेत ढाँट्न सक्दछन् र जुनसुकै उमेरका बालबालिकाले समेत आफ्नो उमेर १३ वर्षभन्दा माथि भनेर इन्स्टाग्राममा खाता खोल्न सक्ने अवस्था रहेको थियो। इन्स्टामा अकाउन्ट खोल्दा जन्ममिति खुलाउनु पर्ने प्रावधानले कम उमेरका बालबालिका तथा किशोर किशोरीलाई इन्स्टाग्राम प्रयोग गर्न निरुत्साहन गर्ने र त्यसबाट बालबालिकामाथि इन्स्टामा हुने हिंसाको जोखिम कम हुने विश्वास इन्स्टाग्रामको छ।

प्रयोगकर्ताको जन्ममितिको जानकारीलाई इन्स्टाग्रामले उनीहरूको गोपनियताको सुरक्षामै प्रयोग गर्नेछ । कम उमेरका तथा हिंसाको जोखिममा रहेका इन्स्टाग्राम प्रयोगकर्तालाई प्राइभेसी सेटिंग्सका विभिन्न सुझावहरू उपलब्ध गराइनेछ। कम उमेरका बालबालिकाहरूलाई समेत इन्स्टाग्राम प्रयोगमा रोक्न नसकेको र यसबाट बालबालिकाहरू अनुपयुक्त सामाग्रीहरू हेर्न बाध्य हुने गरेको भन्दै इन्स्टाग्रामको आलोचना हुने गरेको छ।

अब इन्स्टाग्रामको खातामा जन्ममिति हाल्नु परेपछि प्रयोगकर्ताको वालमा आउने विज्ञापनहरू समेत उमेरगत हिसाबका हुने र यसले बालबालिकालाई अनुपयुक्त विज्ञापनमा फस्ने जोखिम नहुने विश्वास इन्स्टाग्रामको छ। यद्यपि, यसअघि पनि फेसबुकमा रहेको प्रयोगकर्ताको उमेरका आधारमा विज्ञापन देखाइने गरिएको इन्स्टाग्रामले बताउने गरेको छ।

इन्स्टाग्राममा खाता खोल्न जन्ममिति उल्लेख गर्नुपर्ने प्रावधान सुरु गरेता पनि प्रयोगकर्ताको जन्मदिन फेसबुकमा जस्तो सार्वजनिक भने नगरिने इन्स्टाग्रामले जनाएको छ। नयाँ खाता खोल्दा जन्ममिति उल्लेख गर्नुपर्ने अनिवार्यता भए पनि पुराना प्रयोगकर्ताले भने स्वेच्छिक रूपमा आफ्नो जन्ममिति राख्न पाउनेछन्। फेसबुकसँग आबद्ध भएका इन्स्टाग्राम अकाउन्टको हकमा फेसबुकमै उल्लेखित जन्ममितिलाई नै स्वतः इन्स्टाग्राममा सारिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्