बादलबिना ओली सरकार चल्छ ?

dr. prem ale
लाेकपाटी न्यूज
0 Shares

डा. प्रेम आले/

ओली सरकारका गृहमन्त्री माननीय राम बहादुर थापाको बारेमा अहिले सर्वत्र चर्चा छ । जनयुद्धकालमा ‘बादल’ उपनामले चर्चित माओवादी नेता थापा नेपाली राजनीतिमा स्वच्छ छवि बनाएका एक इमान्दार, मेहेनती र जनप्रिय नेता हुन् । हक्की स्वभाव, कम बोल्ने तर बोलेको काम गरेर देखाउने गृहमन्त्री थापालाई बेला बेलामा ‘मीडियामैत्री’ नभएको आरोप पनि लाग्ने गर्छ । गृहमन्त्री बनेपछि यसअघि कसैले आँट गर्न नसकेको काम गरेर एकाएक चर्चा कमाएका बादललाई फेरि मीडियाकर्मीले ‘सुनियोजित’ रुपमै एकपछि अर्को गर्दै किन विवादित बनाउन खोज्दै छन् ? जनतामाझ भ्रम सिर्जना गरेर बादललाई असफल गृहमन्त्रीको पगरी भिराउँदै गरेको यस अवस्थामा देशको राजनीति कतातिर गएको सङ्केत हुन्छ ? यो लेख यसैमा केन्द्रित छ ।

विचार, सिद्धान्त र नेतृत्वशैलीका कारण नेताहरु जनतामा स्थापित हुन्छन् । त्यस्तै नेताको स्वभाव, जीवनशैली, व्यवहार र कार्यशैलीले पनि जनताले उनीहरुप्रति आफ्नो सोंच र धारणा बनाउँछन् । सबै गुणले सम्पन्न नेताहरु त कमै हुन्छन् । यस्ता कतिपय गुणहरु जानबुझ बनाउन सकिने पनि होइनन् । ती कि बंश र परिवारबाट आएको हुन्छन् कि सङ्घर्षमय जीवनको दौरानमा समय र परिस्थितिको अनुकूलता र प्रतिकूलताले निर्माण गरेको हुन्छ । बादल पनि यसको अपवाद होइनन् । कम बोल्ने स्वभाव भएकाले धेरैलाई उनको भित्री कुरा बुझ्न अप्ठ्यारो हुन्छ । त्यसैले उनलाई ‘मीडियामैत्री’ नभएको आरोप लागेको हुनुर्पछ । तर, अन्य नेताझैं धेरै (अनि कहिलेकाहीं जथाभावी बोल्ने) र सबैलाई आश्वासन बाँडेर खुशी बनाउन चाहने नेताको झुण्डमा उनी पर्दैनन् पनि । यसलाई उनको कमजोरीका रुपमा चित्रण गर्न खोजिनु गलत हुन्छ । बरु, उनी त जनताका लागि पूर्ण रुपले समर्पित ‘एक्सन हिरो’ हुन् । कुरा कम, काम धेरै गरेर देखाउने थोरैमध्येका एक इमान्दार नेता हुन् बादल ।

केहीले बादलको कामलाई ‘फौजी शैली’को भनेर टिप्पणी पनि गरेका छन् । सायद फौजी पृष्ठभूमिबाट आएका बादलको लागि ‘फौजी’ शब्द सुहाउँदो पनि छ । उनको बुवा भारतीय सेनाका सुवेदार मेजर तहसम्म पुग्ने एक इमान्दार, कर्मठ र लगनशील सिपाही थिए । उनका दुई भाइहरु पनि भारतीय सेनाबाट अवकाशप्राप्त गोर्खाहरु हुन् । गोर्खा सैनिकको इमान्दारिता र बहादुरिताले त दुश्मनहरुसम्म चकित भएको कुरा यहाँ वर्णन गर्न जरुरी छैन । यो पृष्ठभूमिबाट आएका बादलको स्वभाव फौजीसरह हुनु स्वाभाविक हो । माओवादी जनयुद्धकालका फौजी रणनीतिकार बादललाई उनको पारिवारिक र ‘लडाकु जाति’को पृष्ठभूमिले पनि इमान्दार, लगनशील र मेहेनती बनाउन सहयोग गरेको हुनु पर्दछ । फौजी मान्छेजस्तो दिएको काम फत्ते नभएसम्म धुरन्धुर लाग्ने, नचाहिँदो प्रतिवाद नगर्ने र कसैसित पनि प्रतिशोध नसाँध्ने अथवा यसो भनौं ‘कर्म गर्ने, फलको आशा नगर्ने’ बादलको काममा फौजी शैली हावी हुनु स्वाभाविकै हो । फौजी शैली नराम्रो होइन, बरु अहिलेको लथालिङ्ग नेपालको सन्दर्भमा यो शैली सटिक छ । यसलाई नराम्रो गर्न खोज्ने नियत नराम्रो हो ।

यो हप्ता केही ‘ठूला भनाउदा’ पत्रिकाहरुले बादलको विरुद्ध एकाएक विषबमन गरे । यी पत्रिकाहरुले देशमा हालै घटेको बलात्कार तथा हत्या हिंसाको घटनालाई मुख्य मुद्दा बनाएर लेखेका थिए । एकै दिन उस्तै–उस्तै हेडलाइन दिएर उनको बारेमा आएका नकारात्मक समाचार सुनियोजित थिए भन्न सकिने आधार प्रशस्त छन् । सबै दोष बादलमाथि खन्याएर आफ्नो ‘मालिक–भक्ति’ राम्रैसित निर्वाह गरेको बुझ्न गाह्रो छैन । ती मालिकहरु कुन हुन् त ? ती मालिकहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूँजीपति तथा यथास्थितिवादी माफिया गुटहरु हुन्, जसले नेपालमा गैरलगानी गरेर अकुत सम्पति कमाउँदै आएका छन् । सुशासन र शान्ति भएमा गैरव्यवसायमा अंकुश लाग्ने भएकाले उनीहरुले नेपालमा अस्थिरता चाहन्छन् । ‘के निहुँ पाउँ र कनिका बुकाउँ’ भनेझैं बलात्कार, हत्या र हिंसाको घटना घटेपछि उनीहरु बुरुक्कै उफ्रेको प्रतित हुन्छ । यस्ता घटनाहरु यसअघि नघटेको होइनन् । तर, त्यो बेला ‘मनी र मसल’ पावरले यस्ता घटनाहरुलाई लुकाइन्थ्यो । भित्रभित्रै मिलेमतो गरिन्थ्यो, उजुरी गरिँदैनथ्यो । अहिले त्यसो गर्न सक्ने अवस्था नभएपछि घटना पहिलेभन्दा बढी देखिएको हो र विरोधीहरुले सामाजिक सञ्जाल लगायत सबै च्यानलहरु प्रयोग गरी यसलाई अनावश्यक बढावा दिएका हुन् । बास्तविकता यही हो ।

बलात्कारपछि हत्या भएको कञ्चनपुरको चर्चित घटनाको छानविनमा त्रुटी भएको आशंकापछि गृहमन्त्री थापाले तत्कालीन प्रहरी प्रमुखलाई निलम्बन गरेका छन् । तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई पनि केन्द्रमा बोलाएर छानविनको दायरामा राखेका छन् । साथै गृहमन्त्रीले गठन गरेको उच्चस्तरीय छानविन समितिले अहिले छानविन गरिरहेको अवस्था छ । यसको अन्तिम नतिजा नआउँदासम्म ‘यो वा त्यो’ बोल्नु उचित हुँदैन । त्यस्तै ३३ किलो सुन प्रकरणबाट सुरु भएको अनुसन्धानले पनि धेरै उपलब्धि हासिल गरेको प्रतीत हुन्छ । सुन तस्करसँग जोडिएका केही माथिल्लो दर्जाको प्रहरीहरु, सुन ब्यापारी तथा राजनीतिक नेताहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । सत्यतथ्य ढिलोचाँडो आउला नै, आउनु पर्दछ । तर, छानविनको प्रक्रियामा रहेको यस्तो संवेदनशील विषयलाई माध्यम बनाएर अहिले नै गृहमन्त्री ‘सफल या असफल’ भनी पत्रिकामा भन्नु कति उचित हुन्छ ? कसको खातिर यस्तो अपरिपक्व गैरजिम्मेवारपूर्ण हौवा फिजाइँदै छ ? यसको जवाफ माथि नै दिई सकिएको छ । त्यो हो, उही मालिकका खातिर । अहिले यत्तिसम्म भन्न सकिन्छ कि सुन तस्कर माफियाहरुको सञ्जाल च्यातिएको छ । तिनीहरु आत्तिएका छन् र आफ्नो बचाउको लागि मीडियालाई प्रयोग गरी गृहमन्त्री र सरकारका विरुद्ध ज्यान दिएर लागेका छन् ।

अनर्गल प्रचार प्रसार गरेर बादललाई असफल देखाउन अहिले पार्टी भित्र या बाहिरका गुटहरु लागेका छन् । उनलाई असफल बनाउँदा पार्टीभित्रका केही नेताहरुले आफ्नो भविष्य सुरक्षित हुने ठानेका होलान् । पार्टी बाहिरकाहरुले उनलाई आक्रमण गरेमा सत्ता समीकरणको गुटमा फाटो हुनेछ र भविष्यमा आफ्नो पार्टी बलियो हुन्छ भन्ने लागेको होला । फोहोरी राजनीतिमा यस्तो हुनु अस्वाभाविक होइन । जे होस्, बादल अहिले चारैतिरबाट ब्यापारी तथा राजनीतिक माफियाहरुको घेरामा परेको प्रतीत हुन्छ । यो घेरा तोडेर उनी कसरी अगाडि बढ्छन्, त्यो त भविष्यले नै बताउला ।

सिण्डिकेटवाला ठेकेदारलाई कारबाही गर्नेदेखि ब्यापारीहरुबाट हप्ता असुल्ने गुण्डाहरुलाई निगरानीमा राख्ने, पक्रने साहसी कदम चल्न बादल पछि हटेका छैनन् । त्यस्तै विदेशी लगानीहरूको अनुगमन गर्ने र नियम बिपरीत गरेकालाई कारवाही गर्ने योजनाहरू बनाइरहेको बेला बादलमाथिको अनावश्यक प्रहार कसले गर्दैछ भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ । एनजिओ, आइएनजिओको सञ्चालकदेखि भ्रष्टाचार गर्न नपाएका लुटेराहरू, सुविधा खोसिएका केही नेताहरु र खरिद प्रकरणमा घोटाला गर्न नपाएका निजामती सेवाका देशद्रोही कर्मचारीहरु गृहमन्त्री बादलको दृढ संकल्पदेखि हैरान छन् र यस्ता अनर्गल प्रचारका लागि पैसा खर्चेका छन् । यो कुरा बहुसंख्यक नेपाली जनताले बुझेका छन् र सबैले बुझ्न जरुरी पनि छ ।

हिजो जनयुद्धताका बलियो जनाधार बनाएको बादललाई पूर्व माओवादी पार्टीभित्रको एउटा खेमाले गृहमन्त्री हुनबाट रोक्न अनेक चलखेल गरेको कुरा यहाँ जोड्न उपयुक्त होला । ‘पार्टी फुटाएर अर्को पार्टीमा गएको व्यक्ति’लाई पुरस्कृत हुने गरी गृहमन्त्रीजस्तो वजनदार मन्त्री बनाउन नहुने भनी लबिङ्ग गरेको एउटा झुण्ड अहिले पनि उनको विरुद्ध लागेको छ । बादल गृहमन्त्रीमा सफल हुँदा उनीहरु अझ पछि पर्ने उनीहरुको बुझाई छ । तर यहाँ बुझ्नुपर्ने बास्तविकता के हो भने बादलको राजनीतिक इतिहास धेरै लामो छ । उनले जनता, पार्टी र देशको लागि निस्वार्थ त्याग गरेका छन् । उनी नातावाद, कृपावाद र भ्रष्टाचारबाट मुक्त छन् । त्यसैले उनको पक्षमा पनि कार्यकर्ता र जनताले जोडदार जनदबाव सिर्जना गर्न सक्दछन्, जुन त्यस्ता केहिी झुण्डको शक्तिभन्दा कैयौं गुणा शक्तिशाली हुनेछ भन्ने कुरा माथिल्लो कमाण्डका नेताहरुले पनि बुझेका छन् ।

बादलले गरेका कतिपय कामहरुको नतिजा छर्लङ्ग देख्न केही समय पर्खनै पर्दछ । फौजी स्टायलबाट नै किन नहोस्, भ्रष्टाचार र माफियातन्त्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जालो नच्यातेसम्म नेपालमा सुशासन र सदाचारको सिस्टम बस्न सक्दैन । त्यसैले देशलाई सुशासन र समृद्धितिर डोर्याउन बादलले गरेका कामहरु धेरै सह्रानीय छन् । नेपालको अहिलेको राजनीति त्यही सत्य–असत्य, अग्रगामी–पश्चगामी दुई गुटको लडाईंबाट अघि बढिरहेको छ । जति छिटो असत्यमाथि सत्य र पश्चगामीमाथि अग्रगामीको जीत हुन्छ, त्यति छिटो देशले शान्ति, सुशासन र समृद्धि पाउँछ । सत्य र अग्रगामी पक्षधर बादलको जीत सुनिश्चित छ, मात्र ढिलोचाँडो हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्