नित्य प्रगतिको प्रवर्तक हुनु नै आधुनिकताको पक्षपोषण

Manahari Timilsina
मनहरि तिमिल्सिना
0 Shares

मार्क्सवादी लेखक एवं चिन्तक गोपीरमण उपाध्यायले आफ्ना दार्शनिक रचनाहरूको सारांशको संकेन्द्रित कृतिका रूपमा प्रकाशित गोष्ठीपत्र प्रकाशन आफैमा मौलिक ग्रन्थ हो। विगतका गोष्ठीहरूको परम्पराभन्दा मौलिक ढाँचाको यस विचारमन्थनले दर्शनको गुरुत्व, विकासक्रम र वर्गीय पक्षधरताका दृष्टिले समेत महत्त्वपूर्ण अर्थ राख्दछ।

दार्शनिक विचार गोष्ठीपत्रमा मूलभूत रूपमा तीन महत्त्वपूर्ण सामग्री समाविष्ट छन्, पहिलो: आधारपत्रका रूपमा आजका प्रगतिशील बुद्धिजीवीहरूको कर्तव्य, दोस्रो: अध्यात्मवादी दर्शन र भौतिकवादी दर्शनको अन्तर्वस्तु विषयक अवधारणापत्र र तेस्रो: गोष्ठीपत्रमाथि विद्वान्हरूले प्रस्तुत गर्नुभएका पूरक विचार वा टिप्पणीहरू। यद्यपि, अवधारणापत्रका रूपमा परिभाषित गरिएता पनि दर्शनबोध र दृष्टिकोण निर्माणका दृष्टिले कृति संक्षिप्त तर गहन ग्रन्थ देखिन्छ।

कृतिमा कमरेड पुष्पलालको आजका प्रगतिशील बुद्धिजीवीहरूको कर्तव्य आधारपत्र अत्यन्तै सारगर्भित र वैज्ञानिक भौतिकवादी विश्व दृष्टिकोणले लैस देखिन्छ। त्यसमा मुख्यतः ‘‘सामाजिक श्रमभन्दा बाहिर सामाजिक बुद्धिको कुनै पनि अस्तित्व छैन’’ भन्ने निष्कर्ष गुरुत्वपूर्ण छ। आधारपत्रमा ‘हरिश्चन्द्रको कथा’ र ‘पचास रुपैयाँको तमसुक’मा बेजोड वर्गीय दृष्टिकोण प्रस्तुत गरिएको छ।

‘‘आधुनिकताको अर्थ उपभोक्तावाद होइन, नित्य प्रगतिको प्रवर्तक हुनु नै आधुनिकताको पक्षपोषण गर्नु हो’’ भन्ने निष्कर्षले आधुनिकता कुनै कालवधि नभएर प्रगतिशील दृष्टिकोण भएको सारांश प्रस्तुत गर्दछ। कृतिमा बुद्धि श्रमको सन्तान भएकाले श्रमका निम्ति नै बुद्धिको प्रयोग हुनुपर्ने निष्कर्षले समग्र पुस्तकको सार खिच्दछ।

गोपीरमण उपाध्यायद्वारा प्रस्तुत गोष्ठीपत्रमा मूलतः १० उपशीर्षकहरू रहेका छन्, जसमा: १. केही विषय आरम्भमा, २. अध्यात्मवाद दर्शन हो पद्धति मात्र होइन, ३. हरेक दार्शनिक विचार प्रणालीको भौतिक आधार हुनै पर्दछ, ४. समाज विकासक्रमको परिचय, ५. मिथ्या चेतनाका केही बान्कीहरू, ६. जुन वर्गको हातमा विचारसत्ता उसैको विचारसत्ता, ७. मानवीय श्रम प्रक्रिया, ८. भौतिकवाद क्रान्तिकारी दर्शन बन्न पुग्यो, ९. दार्शनिक तर्कहरूबाट मात्र अध्यात्मवादको खण्डन हुँदैन र १०. केही विषय अन्त्यमा रहेका छन्।

कृतिमा ‘पुँजीवादको दार्शनिक विचार यान्त्रिक भौतिकवाद हो, जसमा केही मात्रामा एकेश्वरवादको अंश पनि रहेको हुन्छ’ भन्ने वाक्यांश पर्न गएको छ । तर, त्यसले दार्शनिक विकासलाई मूर्तरूपमा अभिव्यक्ति गर्न सक्दैन। अर्कोतर्फ यान्त्रिक भौतिकवादी दर्शनको विकास प्रक्रिया र उत्तरआधुनिकतावादी दर्शनबारे संक्षेपमा विश्लेषण जरुरी देख्छु।

प्रस्तुत अवधारणापत्रमा पुर्पूरो (भाग्यवाद), परमेश्वर (ईश्वर), परलोक (स्वर्ग-नर्क), पुनर्जन्म (भविष्यको जीवन), परम्परा, भूगोल, विद्याविषयक, सृष्टि विषयक, काल निर्धारण, महिला र कथित शूद्रमाथिका उत्पीडनहरूबारे गहन विश्लेषण चिरफार गरिएको छ। यसको साथमा सामाजिक घटनासम्बन्धी मिथ्या चेतनाका पनि समावेश गर्नु उपर्युक्त हुन सक्छ।

श्रम विभाजनले नै दार्शनिक क्षेत्रमा दुई विश्व दृष्टिकोण निर्माणको भौतिक आधार खडा गरेको विश्लेषण महत्त्वपूर्ण छ। मानसिक श्रमले कसरी विचारसत्तामार्फत् भौतिक शक्तिमाथि शासन गर्दछ भन्ने दृष्टान्त र राम्रो विवेचना कृतिमा भेटिन्छ। जस्तै: माकुरी र माहुरीको श्रमकार्य एक प्रकारको सहज र स्वतःस्फूर्त श्रमकार्य हो, मानवीय श्रमकार्य निश्चित खालको पूर्वपरिकल्पना योजनामा आधारित भएर निश्चित उद्देश्य प्राप्तिका लागि प्रयोग भएको हुन्छ।

कृतिमा समाज विकासको क्रममा विकसित भएका प्रतिध्रुवीय धाराबारे पनि विवेचना गरिएको छ। तर, त्यसमाथि पर्याप्त चर्चा र विश्लेषण आवश्यक हुन जान्छ। जस्तै: स्वभाववाद, यदृच्छावाद, कालवाद, कारणवाद, अनीश्वरवाद, अनात्मवाद, सत्कार्यवाद, परमाणुवाद, पुद्गलवाद, अक्रियावाद, अनेकान्तवाद, आदि।

भौतिकवादी दर्शनको इतिहासको परम्परा शक्तिशाली भए पनि कृतिमा त्यसका मुख्यतः २ कमजोरीहरू औँल्याइएको छ, १. एउटा वंशको शासकको ठाउँमा अर्को वंशको शासक स्थापित गर्नु, २. मानवीय आचार विधि निर्माण गर्न नसक्नु। तर, कमजोरी त्यति मात्रै देखिँदैन। वैज्ञानिक भौतिकवादी दर्शनको समष्टिगत विकास आजको मुख्य कमजोरी र चुनौती पनि हो ।

भौतिकवादी विचारसत्ताको नेतृत्वका निम्ति भौतिकवादी अर्थ राजनीतिक प्रणाली अनिवार्य हो भन्ने व्याख्या अत्यन्तै वस्तुवादी छ। दह्रो वैचारिक विश्वासबिना कुनै पनि विषयमा टिकेर काम गर्न सकिँदैन भन्ने गोपी गुरुको निष्कर्षभित्र नेपाली कम्युनिस्ट आन्दोलनका दार्शनिक समस्याहरू संकेन्द्रित हुन सक्दछ। नेपालका वामपन्थी नेताहरूमा भौतिकवादप्रति अरुचि र अध्यात्मवादी दर्शनप्रति अनुराग बढोत्तरी हुनुमा दह्रो वैचारिक विश्वासको अभाव पनि जिम्मेवार छ।

अवधारणा पत्रमाथिका पूरक विचारहरूमा नेपाली कम्युनिस्ट आन्दोलनको शीर्ष नेतृत्व मोहनविक्रम सिंहले गम्भीर दार्शनिक समीक्षा गर्नुभएको छ। जसमा ‘‘कुनै साहित्यिक कृति इतिहास हुँदैन। यद्यपि, इतिहाससम्बन्धी कैयौँ विषयहरूको त्यसमा समावेश भएको हुन सक्दछ। कल्पनाहरू जोडिएकाले साहित्यिक कृति गलत भन्न मिल्दैन। कल्पनाहरू कुनै साहित्यिक कृतिका महत्त्वपूर्ण अंशहरू हुन्। तर, त्यस्ता साहित्यिक कृतिहरूमा जोडिएका कल्पनाहरूलाई साहित्यिक रूपमा नै लिनुपर्छ, ऐतिहासिक प्रमाणका रूपमा होइन ।’’ यसले साहित्यिक कृतिहरूको अध्ययनसम्बन्धी दृष्टिकोण निर्माणमा महत्त्वपूर्ण दिशाबोध गर्दछ।

पूरक अवधारणामा मोहन वैद्यले ज्ञान मीमांसाको ज्ञेय र अज्ञेयको दार्शनिक अवधारणा कृतिमा छुट्न गएको सुझाव प्रस्तुत गर्नुभएको छ। अज्ञेयवादी दर्शनको ऐतिहासिक पृष्ठभूमि र विकासक्रमको संक्षिप्त व्याख्याद्वारा परिवर्तनको अनन्त प्रवाह र दार्शनिक विकासलाई थप स्पष्ट गर्न सकिन्छ। कृतिमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको विवेचना गोपी गुरुद्वारा प्रस्तुत गोष्ठीपत्रको पुनर्पुष्टिमा केन्द्रित देखिन्छ।

त्यस्तै युवराज ज्ञवालीले कृतिमा प्रकृतिसँग वर्षौंवर्षको संघर्षको क्रममा मानिसले जंगलमा लाग्ने आगोको प्रयोग गर्न थालेको निष्कर्ष निकालिएको छ। यसअघि आगोको आविष्कार पदावली हुँदै आएकोमा ज्ञवालीले उठाउनुभएको दृष्टिकोणले मानिस आगोको आविष्कारक नभएर कुशल प्रयोगकर्ताका रूपमा विकसित भएपछि आदिम युगको उत्पादन पद्धतिमा गुणात्मक परिवर्तन ल्याएको निष्कर्ष निस्किन्छ। र, ज्ञवालीको टिप्पणीमा ज्ञेय/अज्ञेयबारेको प्रस्तुति निकै रोचक र अर्थपूर्ण छ।

डा. बिन्दा पाण्डेको टिप्पणीमा प्रश्न गर्ने संस्कारको विकासले नै दर्शनशास्त्रलाई सही दिशा दिन सकिने निष्कर्ष भेटिन्छ। उहाँको टिप्पणी मूल विषय प्रवेश र विवेचनाभन्दा आलोचनात्मक चेतको विकास र अध्ययन संस्कृतिमा बढी केन्द्रित छ। टिप्पणीमा वैदिक पुराण, ग्रन्थ, उपनिषद् र स्मृति ग्रन्थभन्दा वैदिक दस्तावेजमा जोड दिनुपर्ने तर्क महत्त्वपूर्ण हुँदाहुँदै पनि वैदिक दस्तावेजहरूको प्रमाणिक स्रोत भेट्न सहज भने छैन। टिप्पणीमा धर्म भनेको “रेलिजन” नभएर काम वा कर्तव्य भन्ने तर्कको भौतिकवादी दृष्टिकोणमाथि बहस आवश्यक हुन जान्छ।

डा. कृष्णराज अधिकारीले अध्यात्मवाद वा आदर्शवाद पदावलीको सट्टा प्रत्ययवाद (Idealism) शब्द बढी उपयुक्त हुने भनि राख्नुभएको मत वैज्ञानिक छ। तर, पहिले आवश्यकताले उत्पादनलाई प्रेरित गर्थ्यो, तर अहिले चाहिँ पहिले उत्पादन गरेर आवश्यकताको सिर्जना गरिन्छ भन्ने तथ्य उपभोक्तावादी संस्कृतिको विकासका दृष्टिले ठिकै मान्न सकिएला। अर्थ राजनीतिक विश्लेषणका दृष्टिले गलत हुन जान्छ। किनकि, पुँजीवादले आम नागरिकको आवश्यकता होइन, मुनाफालाई केन्द्रमा राख्दछ र अधिक उत्पादन गर्दछ। त्यही अधिक उत्पादनको बजारको खोजी गर्दै जाँदा पुँजीवादले साम्राज्यवाद र भूमण्डलीकृत साम्राज्यवादको रूपधारण गरेको हो।

कृतिमाथि म केही पूरक विषयहरू राख्न चाहन्छु ।

जेरेमी रेफ्किनको शून्य लागतको सिद्धान्त आएपछि नेपालका वामपन्थीहरूमा वैचारिक प्रदूषणको खतरा बढाएको छ। सूचना-प्रविधिको विकासले माल उत्पादनको लागत घट्न गई उत्पादक र उपभोक्ताबीचका श्रेणीहरू विलुप्त हुने र त्यसले पुँजीवादीको औचित्य स्वतः समाप्त हुने तर्क गरिएको छ, जबकि तथ्यहरूले विलुप्त श्रेणीहरूको अतिरिक्त मूल्य पनि उत्पादकहरूमा नै गाभिएर उनीहरू शीघ्र धनी हुने तथ्य पुष्टि गरेको छ।

क्वान्टम सिद्धान्तका मूल तीन नियम छन्, १. शक्तिको विच्छिन्नताको नियम, २. तरंग-कण द्वैधयताको नियम र ३. अनिश्चितताको नियम। यसअघि सूर्यको प्रकाश सिधा रेखामा हिँड्दछ भनि निकालेको निष्कर्षलाई “फोटोन” सम्बन्धी खोजले खण्डित गरिसकेको छ। यही विन्दुमा उभिएर कतिपय वैज्ञानिक एवं दार्शनिकहरूले कण-तरङ्ग द्वैधताको प्रसङ्ग उठाउँदै द्वन्द्वात्मक भौतिकवादका नियमहरू खण्डित हुने तर्क गर्न थालेका छन्। उनीहरूले भन्न थालेका छन्- यसले पदार्थको एकत्व र द्वन्द्वात्मक भौतिकवादलाई खण्डित गर्दछ। तर, भौतिकवादी चिन्तकहरूबाट यसमाथि पर्याप्त अध्ययन, विवेचना र प्रतिवाद हुन सकेको छैन। यस सन्दर्भमा अणुको इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोनमा विभाजनपछि प्रत्ययवादी दार्शनिक माखले पदार्थको अस्तित्वमाथि प्रश्न उठाएको र लेनिनले ‘‘भौतिकवाद र अनुभवसिद्ध आलोचना’’ कृतिद्वारा त्यसको खण्डन गरेको तथ्य स्मरणीय छ।

सामान्यतः सापेक्षतावादको सिद्धान्तले स्थूल पिण्डहरू र क्वान्टम सिद्धान्तले पदार्थको सूक्ष्म रूपको अध्ययन गर्ने हुनाले क्वान्टमले मात्र समग्र विश्व दृष्टिकोणको प्रतिनिधित्व गर्दैन। विज्ञानको कुनै खास आविष्कारले खास एउटा शाखा वा क्षेत्रको अध्ययन गर्दछ, एउटै आविष्कारले सिङ्गो विश्वको सम्पूर्ण नियमहरूको प्रतिनिधित्व गर्न सक्दैन। यसर्थ विज्ञानले दर्शन विस्थापन गर्न असम्भव छ।

वैज्ञानिकहरूले विज्ञानको एकीकृत सिद्धान्तको खोजी गरिरहेकाले त्यस्तो सफलता हासिल भएको खण्डमा एकीकृत सिद्धान्तले नै विश्व दृष्टिकोणको प्रतिनिधित्व गर्न सक्छ वा सक्दैन, त्यो अलग बहसको विषय हुन सक्छ। अर्को कुरा, विज्ञानका खास कुनै सिद्धान्त र नियमहरूको आविष्कार गर्ने वैज्ञानिकहरू नै प्रत्ययवादको शरणमा पुगेका दृष्टान्तहरूबाट वैज्ञानिक भौतिकवादको औचित्य घट्दैन, थप बढ्न जान्छ।

आदिम युगमा प्राकृतिक भौतिकवादको प्रभुत्व, मध्ययुगमा धर्मको शासन भएजस्तै आधुनिक युगमा विज्ञानले नेतृत्व गर्ने हुनाले विज्ञानको युगमा दर्शनको अलग्गै अस्तित्व रहँदैन भन्ने तर्क पनि वामपन्थी कित्ताबाटै आएका छन्। हकिङले अन्तिममा दर्शन विज्ञानको बाधक भएर उभिन्छ भन्ने निष्कर्ष निकालेको हवला दिँदै दर्शनको स्वतन्त्र अस्तित्वमाथि प्रश्न उठाउन थालिएको छ। दर्शन र विज्ञानलाई परस्पर विरोधी कित्ता उभ्याउने चेष्टा पूर्णतः गलत छ।

प्रत्ययवादीहरूले विराट मञ्चहरूमार्फत आफ्नो दार्शनिक हस्तक्षेप बढाएका छन्, महायज्ञ, धार्मिक महोत्सव आदि। तर, भौतिकवादीहरू बन्द कोठाभित्र जीवन र जगत्का आम नियमहरूमाथि अन्तरक्रिया गर्छौं। विचारसत्ताको श्रेष्ठता साबित गर्ने प्रसङ्गमा यस तथ्यमाथि पनि ध्यान दिनै पर्छ। तसर्थ, वैज्ञानिक भौतिकवादी दर्शनको अनुशिक्षणमा व्यापकता जरुरी छ।

उत्तरआधुनिकतावाद उत्तर आधुनिक युगको दर्शन भन्ने तर्क पनि आएको छ। प्राचीन, मध्य र आधुनिककाल सापेक्ष अवधारणा हुन्। अन्तिम अवधारणा होइनन्। आज आधुनिक युग भनिएको समय समय विकासको क्रममा कुनै बेला मध्ययुगका रूपमा गणना हुनेछ।

ज्ञानको देशीय र क्षेत्रीय सीमा हुँदैन। दर्शनलाई पूर्वीय र पश्चिमा श्रेणीमा विभाजन गरेर अध्ययन गर्दा ज्ञान, अनुसन्धान र भौतिकवादी धाराको वैश्विक सार्वभौमिकतालाई उपेक्षा गर्नु हुँदैन। अर्को कुरा दर्शनको अध्ययनलाई विभिन्न उपमहादीप, भूक्षेत्र र देश विशेषको अन्तर्यमा पुगी प्रत्ययवाद र वैज्ञानिक भौतिकवादका धाराहरू र विकासक्रमको अध्ययन गर्नु उपर्युक्त हुन सक्छ। अन्त्यमा, दार्शनिक विचार गोष्ठीपत्रमा टिप्पणीको अवसरका निम्ति आयोजक र मुख्यतः गुरु गोपीरमण उपाध्यायप्रति आभार व्यक्त गर्दछु।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्