पूरै वडाबासीले लिए जाँड–रक्सी नखाने सपथ

jad_raksi_control
लाेकपाटी न्यूज
0 Shares

पर्वत – महाशिला गाउँपालिका वडा नम्वर ३, बालाकोट जाँडरक्सी नियन्त्रित वडा घोषणा भएको छ । सोमबार एक कार्यक्रमका बीच बालाकोटलाई जाँड–रक्सी र जुवातास नियन्त्रित क्षेत्र घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले सामाजिक रुपान्तरण अभियानमा बालाकोटबासीले सुरु गरेको अभियान सह्रानीय भएको बताए । कार्यक्रममा सांसद गिरीले समृद्धि उन्मूख मुलुकलाई लक्ष्यमा पुर्याउनका निम्ति सामाजिक विकृतिको पनि उन्मुलन आवश्यक रहेको बताउँदै महाशीला गाउँपालिकाले गरेको कार्यको प्रशंसा गरेका थिए ।

बालाकोटबासीले एक औपचारिक कार्यक्रममा सामूहिक रुपमा सपथ खाँदै आगामी दिनमा जाँडरक्सी, गाँजा र जुवातासबाट टाढै रहने प्रतिवद्धता जनाएका थिए । सांसद गिरीले जाँड–रक्सी, गाँजा र तासलाई खाडलमा पुरेर अभियानको घोषणा गरेका थिए ।

महाशीला गाउँपालिकाले मातहतका सबै वडाहरुमा अभियानलाई तीव्रता दिएको छ । गाउँ–गाउँमा भेला र बैठकबाट सामूहिक प्रतिवद्धता जनाउँदै घोषणा कार्यक्रमलाई अघि बढाइएको महाशीला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए । पौडेलले भने, ‘बालाकोटबाट अभियानको थालनी गरिएको छ । भोक्सिङ पनि घोषणा हुने चरणमा छ, हामीले यो अभियान गाउँपालिकाभरि सञ्चालन गर्छौं ।’

यो अभियान पर्वत जिल्लाका सात स्थानीय तह अन्तर्गतकै पहिलो अभियान हो । अभियानले जिल्लाका सबै स्थानीय तहहरुलाई सिकाई भएको बताउँदै अन्य स्थानीय तहहरुलाई पनि यस्तो अभियानतर्फ ध्यान दिन समन्वय गर्ने जिल्ला समन्वय समिति पर्वतका प्रमूख मनोहर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्