प्रहरी कमजोर बनाएर अपराध नियन्त्रण हुन्छ ?

police
पीडितका बुवा आमाले “आइजीपी साव, आशा तपाईंबाट मात्रै बाँकी छ” अनि जसले जे भने पनि वर्तमान प्रहरी प्रमूख सर्वेन्द्र खनालप्रतिको विश्वास कमजोर भएको छैन । आशा डगमगाएको छैन।
लाेकपाटी न्यूज
0 Shares

राधाकृष्ण देउजा

नेपाल प्रहरी नेपाली जनताको जिउधनको रक्षार्थ दिन रात, बिदा र शनिबार केही नभनीकन खटिने देशप्रेमीहरुको संस्था हो । गर्नुपर्ने काम र जोखिमको तुलनामा अत्यन्त न्यून तलव सुविधामा काम गर्ने प्रहरी कर्मचारीहरु वास्तवमै सम्मान गर्न लायक छन् । जनताको शान्ति सुरक्षामा दत्तचित्त भएर खटिने आम परिचय बोकेको नेपाल प्रहरीमा केही थान भ्रष्टहरु छन् । केही थान नालायकहरु छन्, अनि केही थान निकृष्टहरु छन् । तर, समग्र प्रहरी संगठन गौरव गर्न लायक छ ।

समाजमा रहेका अपराधी प्रवृत्तिका पात्रहरु अनि अपराधिक माध्यमबाट भएपनि सुख, सन्तुष्टि र सफलता हासिल गर्नुपर्छ भन्ने चिन्तन कायम भएसम्म अपराधिक घटनाहरु भई नै रहन्छन् । समग्र अपराध रोकिन समाजमा आमूल परिवर्तन आउनुपर्छ, समाजका प्रत्येक सदस्यहरुले अपराध गर्दिनँ, गर्न दिन्नँ, अनि गर्नेलाई बचाउने वा प्रोत्साहन गर्न दिन्न भन्ने प्रण गर्नु अनिवार्य हुन्छ । तर, अहिले त्यस्तो अवस्था छ त ? बिल्कुल छैन ।

यहाँ त बाबुले छोरीको बलात्कार गरेको सुनिन्छ, छोराले बाउलाई मारेको सुनिन्छ, अनि साथीले अर्को साथीलाई आक्रमण गरेको, गराएको सुनिन्छ । अनि सुनिन्छ, ‘जनताको सुख र सम्वृद्धिका निम्ति लाग्नुपर्ने माननीयहरु अपराधी छुटाउन प्रहरी कार्यालय पुगेको । यस्तो अवस्थामा अपराध निर्मूलीकरण सीमित स्रोत साधन र न्यून सुविधाको भरमा काम गरिरहेको नेपाल प्रहरीले मात्रै होइन, भगवान नै धर्तीमा आए पनि सक्दैनन् ।

तर, अपराध निर्मूल गर्न नसक्ने सत्यको बीचमा पनि प्रहरीले अपराध नियन्त्रण गर्ने अनि अपराधीलाई कानूनको कठघरामा ल्याउने आफ्नो काम निरन्तर गरिरहन्छ । नेपाल प्रहरीले त्यही गर्दै आएको छ, गरिरहेको छ । कतिपय घटनामा २४ घण्टामा अपराधी पक्रन सफल प्रहरीलाई कतिपय घटनामा अपराधीसम्म पुग्न केही लामो समय लागेको हुनसक्छ । त्यो स्वाभाविक पनि छ । किनकि, कतिपय अनुसन्धानले तुरुन्त सुराक पाउने र कतिपयले सुराक पाउन ढिलो हुने नियमित र स्वाभाविक हो । तर, अपराधको कारण र संलग्नहरुको पहिचान ढिलो भयो भन्दैमा प्रहरीले आफ्नो काम छोडने गरेको छ र ? छैन ।

त्यसैले त कोही अपराधी १५ वर्षपछि पक्राउ परेका छन् त कोही १३ वर्षपछि । अहिले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीहरुको पहिचान गर्न र उनीहरुलाई पक्राउ गर्न केही ढिलो भएको विषयलाई लिएर ठूलो कोकोहोलो मच्चाइएको छ । हो, जरुर यो घटनाको समयमा तत्स्थानमा खटिएका प्रहरीहरुको नालायकी अनि शंकास्पद मनसायले घटनाको गुत्थी सुल्झिन समय लागेको देखियो ।

तर, त्यस्ता प्रवृत्ति र पात्रहरुलाई प्रहरी संगठनले बचाउने काम गरेको छैन, बरु तत्काल आवश्यक कदम चाल्दै कारवाही अगाडि बढाइएको छ । अझै प्रहरी प्रमूखले त भनिसके “घटनामा संलग्नता वा सहयोग गरेको पाइएमा जेल सजाय गर्नेछु” यसले के देखाउँछ भने प्रहरीमा नालायक र भ्रष्टहरुका निम्ति स्थान छैन ।

भ्रष्टहरुलाई प्रहरीमा स्थान छैन भन्ने कुराको प्रमाण खोज्न नेपाल प्रहरीबाट पाउनु पर्ने सेवा पाउनका निम्ति कसैले पैसा खुवाउनु परेको गुनासो नआएको तथ्य मात्रै नभएर कहीं कतै त्यस्तो कार्यमा संलग्न भएको तथ्य बाहिर आउनासाथ तत्काल कारवाही गरिएका तथ्यहरु पनि काफी छन् । समग्रमा भन्नुपर्दा अहिले प्रहरी संगठनमा खराव गर्यो भने संकट आइलाग्छ भन्ने डर व्याप्त छ र त्यो प्रहरीहरुलाई त्यो डर कुनै राजनीतिक नेताबाट वा अरु कोहीबाट नभएर आफ्नै नेतृत्वबाट छ । किनकि, उनीहरुले बुझेका छन् कि भ्रष्टचार र नालायकी सहन हुने छैन । सही गरुन्जेल संरक्षित हुने विश्वास अनि गलत गर्दा दण्डित भइने डर नै नेपाल प्रहरीको वर्तमान नेतृत्वको सफलता हो ।

नेपाल प्रहरीको नेतृत्वप्रतिको त्यो विश्वास अन्तरसंगठनमा मात्रै नभएर वाह्य समाजमा पनि उत्तिकै देखिन्छ । त्यसैले त यत्रो आक्रोश र उत्तेजनाको बीचमा पनि उनी निर्मला पन्तको परिवारलाई भेटन सहजता साथ पुगेको मात्रै पाइएन, बरु पीडितका बुवा आमाले “आइजीपी साव, आशा तपाईंबाट मात्रै बाँकी छ” अनि जसले जे भने पनि वर्तमान प्रहरी प्रमूख सर्वेन्द्र खनालप्रतिको विश्वास कमजोर भएको छैन । आशा डगमगाएको छैन।

अहिलेसम्मका निम्ति सत्य यही नै हो । तर, सत्यको नजरअन्दाज गर्न थालिएको छ । प्रहरी प्रमूख भनेको सरकारको एउटा कारिन्दा मात्रै हो, जसले ऐन, नियम र कानूनको दायरामा रहेर आफ्नो भूमिका निर्वाह गरिरहेको तथ्य भुल्दै प्रहरी प्रमुखलाई बर्खास्त गरियोस् भन्दै प्रहरीको हरेक कामको जिम्मेवारी बोक्नुपर्ने गृहमन्त्रीलाई ज्ञापनपत्र दिएर घुमाउरो ढङ्गले गृहमन्त्रीकै हुर्मत लिन खोजेको पनि देखियो ।

सबै खालका सिन्डिकेट, अपराध कर्म र नकारात्मकतालाई अन्त्य गर्ने दृढता राख्दै आएका गृहमन्त्री रामबाहादुर थापाका प्रमूख सारथी बर्खास्त गरियोस् भन्ने माग राखेर के उहाँका आफ्नै कार्यकर्ताहरु उहाँलाई असफल बनाउन खोज्दै छन् ? यो गम्भीर सवाल हो, मन्त्रीज्यू उत्तर खोज्नु होला ।

साभार : जनता टाइम्स

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्