जुर्मुराए महानिरीक्षक, यस्तो छ खनालको योजना

Sarbendra khanal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ असोज । आइतबार प्रहरी महानिरिक्षक (आइजी) सर्वेन्द्र खनालले एउटा कार्यक्रममा ‘संगठनका दुई चार जनाका कारण प्रहरीको शिर निहुरिने वातावरण नहुने र त्यस्ता किराहरू फ्याँकेर देखाउने’ बताए । त्यसको पूर्वसन्ध्यामा काठमाडौं प्रहरी अन्तर्गतको बौद्ध प्रभागका प्रमुख पक्राउ गरिसकिएको थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेका बौद्ध प्रहरी प्रभागका डिएसपी श्याम राई कारबाहीको दायरामा तानिएका छन् । राईमाथि प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसरले पनि निगरानी राखेको थियो ।

एउटा प्रहरी विटको उद्घाटनका लागि गृहमन्त्री रामबहादुर थापालाई नै लगेको धमास दिँदै परिसरको एउटा बैठकमा आफूले राम्रो काम गरेको मपाई सुनाउँदा एसपी अशोक सिंहले राईलाई भनेका थिए, ‘मैले त्यस ठाउँमा अनुगमन गरेपछि मात्र थाहा हुन्छ । अहिले सुनाएका भरमा केही हुनेवाला छैन ।’ परिसरले डिएसपी राईले थाहा नपाई नै उनको इलाकाभित्र संरक्षणमा चलेको जुवा अड्डामा अघिल्लो दिन छापा मार्दा दुई जुवाडे भाग्दा मृत्यु भएको थियो । भोलिपल्ट स्वयं राई नै घुससहित फेला परेका थिए ।

राई मात्र होइन, शक्ति केन्द्रको आडमा राम्रो ठाउँमा पोस्टिङको दबाब राखी रकम कुम्ल्याउन खोज्ने प्रहरी अधिकारी अब आइजी खनालको निगरानीमा आउन थालेका छन् । निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा नागरिक समाज, प्रतिपक्षी दल हुँदै सरकारका भ्रातृ संगठन पनि प्रहरीविरुद्ध सक्रिय हुन थालेपछि खनाल जुर्मुराएका छन् । उनले मातहतका निकायलाई प्रहरी संगठनको बद्नाम गर्ने उच्च प्रहरी कर्मचारीदेखि तल्लो तहसम्मको रेकर्ड तयार पार्न लगाएका छन् ।

‘जसले संगठनको नियमविपरित काम गरिरहेको छ, त्यसलाई कारबाहीका लागि रेकर्ड तयार हुँदैछ । आइजीपीले भन्नुभएका किराहरू प्रहरीको बर्दीमा धमिरा लगाउनेहरू हुन्, केही समयभित्र कारबाही हुँदै गएपछि सार्वजनिक हुनेछ’, उच्च स्रोतले भन्यो ।

आइजी खनालले सुन तस्करी काण्डमा मुछिएका प्रहरी अधिकारीलाई अर्को अनुसन्धानको रेकीमा राख्ने भएका छन् । त्यस्तै निर्मला पन्त बलात्कार र हत्यामा संलग्नता देखिए एसपी डिल्लीराज विष्ट, डिएसपी अंगुर जिसी लगायतलाई पनि गल्तीको प्रमाण भेटिए कारबाहीको तयारी गरेका हुन् ।

‘कारबाहीका लागि आन्तरिक छानबिनमा पनि प्रमाण पुरा हुनुपर्छ, त्यसरी संलग्नता पुष्टि भएको खण्डमा कोही पनि उम्किन पाउने छैनन्’, प्रहरी स्रोतले भन्यो, ‘अभियोग अन्तिम होइन, त्यसको प्रमाण पनि चाहिन्छ । अनुसन्धानका विभिन्न पाटाका आधारमा नै कारबाहीको प्रक्रिया अघि बढ्नेछ ।’

संगठन नै संकटमा पर्ने भएपछि खनालले त्यस्ता ‘किरा’हरू फ्याँक्ने घोषणा गरेका हुन् । संगठन सुधारका निम्ति उनले घुसिया, भ्रष्ट, अपराधमा संलग्न रहेका प्रहरी अधिकारीलाई कारबाहीको रणनीति अख्तियार गरेका छन् । ‘निलम्बन मात्र होइन, बर्खास्त नै गरिने तयारी भइरहेको छ’, स्रोतले भन्यो ।

साभार : दैनिक नेपाल

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्