चौतारा नगरपालिकाको नेतृत्व विकास कार्यशाला

chautara bina magar
लाेकपाटी न्यूज
0 Shares

चौतारा, ६ फागुन । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले नेतृत्व तथा संस्थागत विकास सम्बन्धि तीन दिने कार्यशाला सञ्चालन गरेको छ । नगरपालिकाको आयोजनामा सञ्चालित तालीममा महिला जनप्रतिनिधि र सहकारीका प्रमूखहरुको सहभागिता रहेको छ ।

तालीमको आइतबार खानेपानी मन्त्री बिना मगरले उद्घाटन गरेकी छिन् । तालीमको उद्घाटन गर्दै मन्त्री मगरले संवैधानिक र कानूनी अधिकार स्थापित भए पनि महिला अधिकारका क्षेत्रमा सांस्कृतिक रुपान्तरण हुन नसकेको बताइन् । उनले संविधान बदलिए पनि संस्कार बदलिन नसकेको बताइन् ।

तालीमको उद्घाटन गर्दै मन्त्री मगरले भनिन्, “हामीले संविधान बदल्यौं । तर, संस्कार बदल्न बाँकी नै छ । संविधानमा लेखेर मात्र संस्कार बदल्न सकिँदैन, त्यसका लागि निरन्तर सङ्घर्ष जरुरी छ । हाम्रो समाज अहिले पनि सामन्तवादी चिन्तनको वरिपरि छ ।”

तालीममा मन्त्री मगरले पारिवारिक जिम्मेवारीमा पनि कामको बाँडफाँड हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, “हामीले राजनीतिक, सामाजिक दायित्वसँगै पारिवारिक दायित्व पनि निर्वाह गर्नुपर्ने हुन्छ । पारिवारिक मामिलामा अहिले पनि कामको बाँडफाँड हुन सकेको छैन । घरायसी कामको सम्पूर्ण जिम्मेवारी महिलाले नै बहन गर्दा राजनीतिक, सामाजिक काम ओझेलमा पर्नु स्वाभाविक हो । मनोबल सबैबाट ठूलो शक्ति हो, यसबाट नै सम्पूर्ण चुनौति छिचोल्न सकिन्छ ।”

तालीममा नगर प्रमूख अमानसिंह तामाङले महिलाहरुको क्षमता विकासमा तालीम उपयोगी हुने विश्वास व्यक्त गरे । तालीमको उद्घाटन सत्रमा शुभकामना दिने वक्ताहरुले परम्परागत भन्दा सिर्जनात्मक कामलाई प्राथमिकतामा राख्न नगरपालिकालाई आग्रह गरे ।

तीन दिनसम्म चल्ने तालीममा नगरपालिकाभित्र निर्वाचित महिला जनप्रतिनिधि र सहकारी संस्थाहरुका पदाधिकारीहरु सहभागी छन् । सहभागिताको तहबाट अर्थपूर्ण प्रतिनिधित्वको तहमा नेतृत्व विकास गराउन तालीमको आयोजना गरिएको नगर उपप्रमूख जानुका पराजुलीले बताइन् ।

तालीममा सहकारीका नीतिगत व्यवस्था, सहकारी सञ्चालन र नेतृत्व विकास, स्थानीय तहमा सूचनाको हकको कार्यान्वयन र महिला अधिकार, संविधान र कानूनमा महिला अधिकारको व्यवस्था, नेतृत्व, सुशासन र स्थानीय विकास, स्थानीय जनप्रतिनिधिको दायित्व लगायतका विषयमा प्रशिक्षकहरुले तालीम सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्