कर्मचारी भर्ना प्रक्रिया थप व्यवस्थित बनाउछौं : शैलेन्द्र खनाल

shailendra khanal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २ बैशाख। सशस्त्र प्रहरी बल, नेपालले स्रोत, साधन र जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको जनाएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आफ्नो एक वर्षे कार्यकालको कामको विवरण सार्वजनिक गर्दै स्रोत, साधन र जनशक्तिको अभावमा माग अनुसारको नयाँ युनिट स्थापना गर्न नसकिएको जानकारी गराएका छन्।

सोमबार काठमाडौंको हलचोकस्थित सशष्त्र प्रहरी बल, नेपालको मुख्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको कार्य प्रगति विवरणमा सशस्त्र प्रहरी बलको नयाँ युनिट स्थापनाका लागि १ सय ६९ वटा स्थानमा माग भएपनि साधन, स्रोत र जनशक्तिको अभावमा स्थापना गर्न नसकिएको उल्लेख गरिएको छ।

सशष्त्र प्रहरी महानिरीक्षक खनालले ठूला जलविद्युत आयोजनालगायतका राष्ट्रिय गौरवका आयोजनाहरुमा सशस्त्र प्रहरी बलको माग भईरहेको तर जनशक्तिको अभावमा सो माग पूरा गर्ने अवस्था नरहेकोे पनि स्पष्ट पारे। सशष्त्र प्रहरी बल, नेपालले कर्मचारीको अभाव पूर्तिका लागि ३ हजार ४ सय १ जना कर्मचारी भर्ना छनौट प्रक्रिया पनि सुरु गरिएको जानकारी दिएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले कर्मचारीहरुको अभाव पूर्ति गर्दै लैजाने योजना अन्तरगत विभिन्न पदका लागि कर्मचारी भर्ना प्रक्रिया सुरु गरिएको पनि बताए। उनले कर्मचारी भर्ना प्रक्रियालाई थप व्यवस्थित बनाउने काम पनि आफ्नो एक वर्षे कार्यकालमा भएको दावी गरे।

सशस्त्र प्रहरी बलको सूचनामा सबैको पहुँच पुर्‍याउने उद्देश्यका साथ नयाँ मोबाइल एप्स पनि सोमबारबाटै संचालनमा ल्याइएको छ । मातहतका कर्मचारी र सशस्त्र प्रहरी बलबारे सर्वसाधारणलाई जानकारी लिन सहजहोस् भन्ने उद्देश्यका साथ सो एप्स संचालनमा ल्याइएको पनि सशष्त्र प्रहरी महानिरीक्षक खनालले बताए।

महानिरीक्षक खनालले चालू आर्थिक वर्ष भित्र सो एप्स सशष्त्र प्रहरी बलको सबै युनिटमा संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे। सशष्त्र प्रहरी महानिरीक्षक खनालले सशष्त्र प्रहरी बल, नेपालको केन्द्रिय कार्यालय र देशभरका सबै युनिटहरुमा इन्टरनेट सेवा विस्तार गर्ने लक्ष्य लिइएको पनि बताए।

उनले सशस्त्र प्रहरी बललाई थप मजदुत बनाउन आवश्यक प्रविधि भित्र्याउन पहल गर्ने प्रतिवद्धता जनाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्