के–के हुन् असल शिक्षकका प्रमूख विशेषता ?

female teacher
लाेकपाटी न्यूज
3 Shares

शिक्षक बन्न जति सजिलो छ, असल शिक्षक बन्न त्यति नै कठिन छ। एउटा शिक्षक शैक्षिक योग्यताले मात्रै पनि बन्न सक्छ। तर, असल शिक्षक बन्न धेरै गुण आवश्यक हुन्छ। हामीले यहाँ असल शिक्षकका केही गुणहरु उल्लेख गरेका छौं।

१) शिक्षकहरू नै समाजका बौद्धिक व्यक्तित्व हुन्। गुरुकुल शिक्षा पद्धतिको संस्कारबाट प्रेरित हाम्रो पूर्वीय वाङ्मयमा शिक्षकको महत्व झनै बढी देखिन्छ। शिक्षकलाई आदर्श र प्रेरणाको स्रोतका रूपमा लिइन्छ। तसर्थ, शिक्षक बन्दा उच्च श्रेणीका अब्बल मानिएका व्यक्तिलाई छनोट गर्ने प्रक्रियालाई अवलम्बन गर्नुपर्छ। शिक्षक जहिले पनि पठनशील भने हुनुपर्छ।

२) शिक्षकहरूको पठन संस्कृतिका सन्दर्भमा खासै भरपर्दो वैज्ञानिक सर्वेक्षण भएको भेट्टाइएको छैन। तर, पनि सामान्य बुझाईमा पठनशील शिक्षकको सङ्ख्या न्यून छ भन्ने आँकलन गर्न सकिन्छ। डिजिटल प्रविधिले ओगटेको वर्तमान बजारमा पुस्तकालयको प्रयोग कम हुन गए पनि विद्यालयमा पुस्तकालयको कम महत्व भने मान्न सकिँदैन। विद्यालयको पुस्तकालयबाट शिक्षक, विद्यार्थी दुवैले लाभ उठाउन सक्छन्। तर, विगतमा जस्तो पुस्तकालय खोल्ने लहर कमजोर बन्दै गएकोले पनि पठनीय संस्कृतिमा ह्रास आएको छ। तर, विना पठनीय संस्कृति शैक्षिक गुणस्तरको कल्पना गर्न सकिँदैन। साथै शिक्षक वर्गमा हौसला र प्रोत्साहनको पनि त्यत्तिकै खाँचो पर्छ।

३) एउटा कुण्ठित र उदासिन शिक्षकबाट अपेक्षित सुधारको आशा गर्न सकिँदैन। राष्ट्र र समाजको समृद्धिका लागि पनि गुणस्तरीय शिक्षा चाहिन्छ। यसर्थ, राष्ट्रिय शिक्षा नीति निर्माण गर्दा मुलुकको विविधता तथा समयको आवश्यकतालाई ख्याल गरिनुपर्छ। वर्तमान समय र प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गर्नसक्ने शिक्षा नीति तर्जुमा गर्नु आजको राष्ट्रिय दायित्व हो। विद्यमान शिक्षा ऐन नियममा टेकी स्थायी प्रकृतिको राष्ट्रिय शिक्षा नीति आयोग बनाउने र यसै आयोगद्वारा प्रभावकारी परिचालन गरी शिक्षा नीति, निर्माण, कार्यान्वयन गर्नमा जोड दिने भने पनि हालसम्म खासै केही हुन सकेको छैन। यस आयोगले संविधानअनुरूप राष्ट्रिय, प्रान्तिय र स्थानीय तह अनुरूपको समयसापेक्ष ढङ्गको शिक्षा नीति निर्माण गरी लक्ष्य निर्धारण गरिनुपर्छ।

४) नेपालको संविधान २०७२ ले विद्यालय शिक्षालाई स्थानीय सरकारको दायित्वमा राखिएको छ। संविधान लागू भएको यत्तिका समय बितिसक्दा पनि शिक्षा केन्द्रीय निकायकै नियन्त्रणमा सञ्चालन भएको छ। स्थानीय चुनाव सम्पन्न भइसकेपछि पनि निर्वाचित स्थानीय प्रतिनिधिले संविधानले तोकेमुताबिकको अधिकार उपभोग गर्न नपाउँदा अरू अन्योलको स्थिति उत्पन्न हुन सक्छ। यो स्थिति सिर्जना हुनुमा वर्तमान अवस्था मात्र जिम्मेवार नभएर विगत देखिका कमीकमजोरी जटिलताबाट पेचिलु बन्न पुगेको छ।

५) २०४६ सालको राजनीतिक परिवर्तनसँगै नयाँ शिक्षा नीतिको जरुरी थियो। तर, राजनीतिसँगै शिक्षा नीति परिवर्तन हुन सकेन। फलस्वरूप सामुदायिक विद्यालय नाजुक हँुदै जान थाले। २०६३ सालको परिवर्तनपछि पनि शिक्षा क्षेत्रप्रति बेवास्ता नै गरियो। २०७२ साल असोजमा गणतन्त्रात्मक नेपालको संविधान आयो। संविधानअनुसारका ऐन, नियम मुलुकले पाउन सकेन। शिक्षा ऐन संशोधन विधेयकमा सभासदले लामो समयसम्म खासै चासो राखेनन्। बल्ल २०७३ साल मध्येतिर आएर ऐन संशोधन भयो, यस ऐनअनुसार प्रारम्भिक बाल कक्षादेखि आठसम्म आधारभूत र कक्षा नौदेखि १२ सम्मलाई माध्यामिक तह मानेर शिक्षाको संरचनामा फेरबदल ल्याएको छ।

अर्को पक्ष कक्षा नौदेखि प्राविधिक विषय अध्ययन गर्न पाउन व्यवस्था गरिएअनुरूप १२ कक्षा पछि पनि एक वर्ष व्यावहारिक अभ्यास गराइने प्रावधान राखेको छ। यस ऐनले उच्च माध्यामिक शिक्षापरिषद् खारेज गरी राष्ट्रिय परीक्षा बोर्ड गठन गरेको छ। हुन त नयाँ संविधानले माध्यामिक तहसम्मको शिक्षा स्थानीय तहको सरकारलाई जिम्मा लगाउने उल्लेख गरिएको छ। यस अर्थमा राष्ट्रिय परीक्षा बोर्डको पनि औचित्य देखिँदैन। आज देशले सङ्घीय गणतन्त्रात्मक राज्य व्यवस्था स्वीकारी संविधान लागू भइसकेको सन्दर्भमा विगत केही यता निर्माण भएका ऐन, कानुन तत्काल फेर्नुपर्ने हुन्छ। यो अवस्थामा हाम्रो शिक्षा नियम पनि फेरबदल गर्नुपर्ने देखिन्छ।

६) वर्तमान संविधान २०७२ ले आधारभूत तहको शिक्षा अनिवार्य र माध्यामिक तहसम्मको शिक्षा निःशुल्क बनाउने भने पनि सरकारले यस विषयमा कार्यान्वयनतर्फ लैजाने खासै पहल गरेको देखिँदैन। सरकारी काम कारबाहीको ढिला सुस्ती, अनुगमन र नियमन नै कमजोर र फितलो भइरहेको बेला प्रभावकारी कार्यान्वयनको के अपेक्षा राख्ने ? सरकारी विद्यालयको लगानीअनुरूपको प्रतिफल छैन, प्रविधितर्फ आत्मसात् गर्न सकेको देखिँदैन। पाठ्यक्रम विद्यालयमा हेरिँदैन, पाठ्यपुस्तक विद्यार्थीले पाउन सक्तैनन्, कतिपय शिक्षक दलका झोले बन्छन्। शिक्षकले राजनीतिमा लाग्न नमिल्ने नियम बनाइएको छ। त्यो व्यवहारमा लागू हुन सक्तैन। सबै शिक्षकलाई पुनर्ताजगी तालिमको व्यवस्था हुन सकेको छैन। समग्रमा विद्यालयमा राम्रो गर्ने शिक्षकलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डको व्यवस्था छैन। राजनीतिक नेतालाई राम्रो शिक्षक होइन, हाम्रो शिक्षक चाहिएको छ।

७) विद्यालयमा राम्रा शिक्षक भए भने तिनबाट अभिभावकको भूमिका पनि निर्वाह हुन सक्छ। अहिले कतिपय ठाउँमा शिक्षक र अभिभावक दुवै एकअर्कालाई दोषी देखाउन खोजी आफ्नो कमजोरी लुकाउन खोज्छन्। सबैका बीच आपसी अन्तक्र्रिया छलफल र विमर्श आदिका माध्यमबाट सही कुरा पत्ता लगाई मिलिजुली समाधानको बाटो पहिल्याउनुमा नै सबैको भलो हुने कुरामा ध्यान जानु जरुरी छ। विद्यार्थीले पढाइमा ध्यान दिनका लागि पढाइ रोचक र कक्षा कोठाको वातावरण रमाइलो बनाइनु असल शिक्षकको गुण हो। शिक्षक आफ्नो विषयमा दक्ष र सक्षम बन्न सक्नुपर्छ। शिक्षकले आफूलाई विद्यार्थीका अगाडि हाउगुजी बनाउनु हुँदैन।

८) शिक्षकले राम्रोसँग नसिकाई विद्यार्थीले सिक्न सक्तैनन्। विद्यार्थीमा पठनपाठन गरिने विषयवस्तु सिक्ने उत्सुकता नहुनुमा दोषी शिक्षक ठहर्छ। शिक्षकको मनोसामाजिक रुचिअनुसार सिकाउने नयाँ–नयाँ प्रविधि र विधि खोज्ने उत्साह र इच्छा रुचि चाहिन्छ। केटाकेटीमा नयाँ सोच र चाहनाको खोजी भएको अवस्थामा शिक्षक भने उही पुरानो परम्परागत प्रविधि र विधिमै अलमल्याउन खोज्ने भए भने केटाकेटीमा त्यस्तो सिकाइप्रति उत्सुकता हुँदैन। कतिपय नजान्ने विद्यार्थी जान्न कोसिस गर्दैनन्। अध्ययनमा ध्यान दिएर पनि नजानेका हुन कि जान्न नखोजेको हो वा शिक्षकले पढाउन नजानेर हो। आखिरमा कक्षाकोठामा शिक्षकभन्दा विद्यार्थी क्रियाशील हुनु जरुरी छ। विद्यार्थीका मनका कुरा शिक्षकले सुन्नुपर्छ। उनीहरूको समस्या के हो ? राम्रोसँग नबुझी समाधानको खोजी हुन सक्तैन।

९) विद्यार्थीका स–साना दोष केलाएर गलत साबित गराउने प्रकृतिमा सुधार आउनु जरुरी छ। अबका विद्यार्थीमा कमजोर पक्ष कोट्याएर होइन सबल पक्ष देखाएर कुरा गर्नुपर्छ। तिमी ज्ञानी छौँ, बुद्धिमान छौँ, तिमीलाई पढ्नुछ भनेर हौसाएर पढाउनुपर्छ। शिक्षकले आफूलाई साथीका रूपमा सहजकर्ताका रूपमा कक्षा कोठामा प्रस्तुत हुन सक्नुपर्छ। कक्षा कोठाभित्र समान सिकाइ क्षमताका विद्यार्थी हुँदैनन्। त्यहाँ सुनेर सिक्ने, पढेर सिक्ने हेरेर सिक्ने, छोएर, गरेर सिक्ने आदि क्षमताका विद्यार्थी हुन्छन्। जुन विद्यार्थी जुन विधिद्वारा सिक्छन्, सोही विधिको प्रयोग गरेर रमाइलो वातावरणमा सिकाउने सक्ने शिक्षक नै सफल शिक्षक हो।