इन्टरनेट कुलतबाट आँखा कसरी जोगाउने?

computer eye
लाेकपाटी न्यूज

प्रविधिको यस युगमा कामका लागि होस् या मनोरञ्जनका लागि, कम्तिमा पनि २–३ घण्टाभन्दा बढी कम्प्युटर अगाडि बस्नुपर्ने बाध्यता हामीलाई छ। तर, यही बाध्यता हाम्रो आँखा र शरीरका लागि हानिकारक साबित भैरहेको छ।

लगातार कम्प्युटर र मोबाइल चलाउँदा ढाड र गर्धनमा मात्रै नभई आँखामा पनि समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन्। प्रविधिको यस युगमा विकसित विभिन्न खाले उपकरणको प्रयोगले हाम्रो आँखामा असर गरिरहेको हुन्छ। सन् २०१० सम्ममा विश्वभर अध्ययन, जागिर तथा व्यवसायमा ७५ प्रतिशत कार्य कम्प्युटरबाट भएको अनुमान गरिएको छ।

जुनसुकै व्यक्ति प्रतिदिन औसतमा २ घन्टा भन्दा धेरै समय कम्प्युटरमा व्यतित गर्दछ भने उसको ढाड, गर्धन र आखाँमा समस्या हुने गरेको विभिन्न अनुसन्धान तथा सर्वेक्षणले पनि देखाएको छ। डा. इरिना कंसाकार तुलाधरका अनुसार पछिल्लो समय खासगरी बालबालिकाहरूमा चस्मा लगाउनुपर्ने समस्या बढेको छ। त्यस्तै किशोरावस्थादेखि माथि उमेरका बिरामीमा पनि आँखामा सुख्खापन धेरै हुने समस्या रहेको छ।

‘खासगरी गेम खेल्ने बच्चाहरूमा टाढा नदेखिने ‘मायोपिया’ हुने गरेको देखिन्छ,’ डा तुलाधरले भनिन्। ‘अनि किशोरावस्थादेखिका अधिकांश बिरामीहरूमा आँखा सुख्खा हुने पाइएको छ।’

आखिर के कारणले मानिसहरुमा यस्तो समस्या आइरहेको छ त भन्ने प्रश्नमा उनले भनिन्, ‘कुनै पनि ग्याजेटमा हेर्दा लामो समयसम्म एकटक हेरिरहने र सामान्यत: हाम्रो आँखाको परेला जति पटक झिम्किनुपर्ने हो त्यति नझिम्किँदा त्यसले आँखाका मांसपेसी थाक्ने र सु्ख्खापन देखापर्छ।’

त्यसैले उनी सकेसम्म स्क्रीनमा कम हेर्न सुझाउँछिन्। बालबालिकालाई मोबाइल वा कम्प्युटर प्रयोग गर्न कम दिने र यदि समस्या भए समयमै उपचार गराउनुपर्ने उनी बताउँछिन्।

‘उनीहरूलाई टाढा नदेख्ने समस्या भइसकेको हुन्छ र चस्मा नलगाई स्क्रीन हेर्दा आँखालाई थप दबाव पर्छ त्यसैले उपचार समयमै गराउनुपर्छ,’ उनले भनिन्। दिनमा दुई घण्टाभन्दा बढी कम्प्युटरमा काम गर्नेहरूलाई ‘कम्प्युटर भिजन सिन्ड्रोम’ हुने गरेको चिकित्सकहरू बताउँछन्। लगातार स्क्रीन हेर्ने मानिसहरूमा आँखा सुख्खा हुने, पोल्ने, बिझाउने र हेर्नै असहज हुने गर्छ।

आँखा कसरी जोगाउने?

  • स्क्रीन धेरै नहेर्ने
  • हेर्नै परे स्क्रीनको उज्यालो बाहिरी वातावरणको उज्यालो भन्दा धेरै नबढाउने, ‘ब्लूलाइट’ कम गर्ने
  • २०/२०/२० भनिने आँखाको व्यायाम गर्ने (प्रत्येक २० मिनेटमा २० फीट टाढा २० सेकेन्डका लागि हेर्ने)
  • काम गर्दा आँखाको परेला पर्याप्त मात्रामा झिमझिम गर्ने
  • आँखाबाट माथि हुने गरी स्क्रीन नराख्ने
  • आँखा सुख्खा हुने वा बिझाउने भयो भने ‘एन्टी-रिफ्लेक्टिभ कोट’ भएको चस्मा लगाउने र सुख्खा हुन नदिने थोपाहरू हाल्ने
  • चस्मा लगाउने व्यक्तिले नियमित रूपमा चस्माको पावर ठिक छ वा छैन जाँच गर्ने
  • आँखालाई चाहिने आराम दिनुपर्छ भनेर ख्याल गर्ने
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्