बालबालिकामा बढ्दैछ दमको समस्या

लोकपाटी न्यूज

 पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालसहित विश्वभर वायुप्रदुषण बढ्दै गएको छ। वायुप्रदुषण र जलवायु परिवर्तनका कारण मौसमसमेत राम्रो हुन सकेको छैन। धुवाँ, धुलो, वायुप्रदुषण, वंशाणुगत गुण, घरमा धूम्रपान, मोटोपना, कम तौल जन्मिनु आदि कारणले बालबालिकामा दमको समस्या अत्यधिक बढेको पाइन्छ।

ग्राण्डी अस्पतालमा आउने १०० जना बिरामीमध्ये ५ देखि १० जना बिरामी दमका हुने गरेको छ। बालबालिकामा मौसम परिवर्तन, चिसोका कारण, रुघाखोकी, भाइरल ज्वरो हुँदा, श्वासप्रश्वास नली साँघुरिँदा दमको समस्या हुने गरेको छ। श्वासप्रश्वास नली साँघुरिँदा खोकी बढी मात्रामा लाग्नेसमेत गर्दछ। रुघाखोकी बारम्बार लाग्ने, सुत्ने र उठ्ने बेलामा लाग्ने, दौडिँदा, हाँस्दा, खेल्दा बोल्दा पनि बढी खोकी लाग्ने, एन्टिबायोटिक खादा एक दुई हप्ता ठिक हुने र बल्झिने, घ्यारघ्यार आवाज आउने यस्तो भएमा दम भएको हुनसक्छ। यस्तो भएमा तत्काल विशेषज्ञ चिकित्सककोमा लैजानुपर्छ।

दमलाई औषधीले ठिक गर्ने होइन, ठिक समयमा दम भएको पत्ता लागेमा दमको उपचार गर्न सकिन्छ। अन्यथा, दम दीर्घरोग भएर जान सक्छ। दमबाट हुने समस्यालाई कम गर्न इन्हेलरको प्रयोग गर्न सकिन्छ। इन्हेलर विभिन्न खालका हुन्छन्। जसलाई डाक्टरको सल्लाह बमोजिम प्रयोग गर्नु पर्ने हुन्छ। बच्चाहरूमा मुख्यतः दम एलर्जीबाट हुनेहुँदा ठिकसँग औषधी लिएमा पछि गएर आफै हराउन सक्छ र लामो समय इन्हेलर लिई रहनुपर्ने आवश्यकता रहँदैन।

दमका बिरामीबाहेक अस्पताल आउने अन्य बिरामीमा रुघाखोकी, निमोनिया, टन्सिलाइटिस र ज्वरोका बिरामी बढी आउने गरेका छन्। रुघाखोकीका बिरामी अत्यधिक रुपमा बढेको छ। बिरामी बच्चाहरू स्कुलमा पठाउँदा अन्य बच्चा समेत बिरामी हुने गरेको पाइन्छ। मौसम परिवर्तन र खानपानमा विशेष ध्यान नदिँदा श्वासप्रश्वासका बिरामी अत्यधिक बढेका छन्।

  • बाल, एलर्जी तथा दमरोग विशेषज्ञ डा. सञ्जयराज थापा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन्
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्