कसरी ढल्यो रुसको समाजवाद ?

joseph_stalin
समाजवादले राज्यसत्ता त हातमा लियो। तर त्यसले व्युरोक्रेसीहरुलाई निकै बलियो बनायो। पार्टीलाई बलियो बनायो। तर, जनतालाई शक्तिशाली बनाएन। अनि जनताले भित्रभित्रै शक्तिहिन भएको महसुश गर्न थाले। यो नै समाजवाद ढल्नुको पहिलो कमजोरी थियो।
लाेकपाटी न्यूज
0 Shares

विश्वमा यतिबेला पनि पुँजीवाद निकै बलियो छ। बलियो बने पनि पुँजीवादको प्रमुख शत्रु समाजवाद नै भएको छ। आज पनि पुँजीवादको दुश्मन छ भने त्यो समाजवाद छ। पुँजीवादीहरु कोहीसँग डराएका छन् भने त्यो समाजवादसँग डराएका छन्। अहिले पनि समाजवाद पुँजीवादीहरुका लागि ठूलो खतरा बनेर उभिएको छ। समाजवाद अहिले हारेको अवस्थामा छ। समाजवाद पराजयको स्थितिमा रहेको भएपनि पुँजीवाद समाजवादबाट त्राहीमाम छ।

जतिखेर विश्वमा समाजवाद आएको थिएन, त्यो बेला महिलाहरुलाई भोट दिने अधिकार थिएन। मजदुरहरुको काम गर्ने समय निकै लामो थियो। सामाजिक सुरक्षा जनताका लागि पहुँचमा थिएन। त्यो बेला न स्वास्थ्यको अधिकार थियो, न त रोजगारीको थियो। केही पनि थिएन। समाजवाद आइसकेपछि पुँजीवादीहरुले समाजवादबाट कयौं कुराहरु लिन बाध्य भए। जस्तो कि रोजगारीको हक दिने कुरा। स्वास्थ्यको हक दिने कुरा। शिक्षामा हक दिने कुरा। महिलालाई भोटिङ राइट दिने कुरा।

स्वीजरल्याण्डमा त सन् १९७१ मा मात्र महिलाहरुलाई भोटिङ राइट दिइएको थियो। समाजवाद आएको धेरै वर्षपछि विश्वमा समाजवादको खतरा आफुहरुलाई महसुश भइसकेपछि पुँजीवादीहरुले सामाजिक अधिकार दिन थालेका हुन्। बेलायतले त समाजवाद आएको धेरै वर्षपछि मात्र यी अधिकारहरु दिएको हो। जो कुरा उनीहरु (बेलायती पुँजीवादीहरु) ले आफ्नो डकुमेन्टमा उल्लेख गरेका छन्। पुँजीवादी देशहरुले जनतालाई स्वास्थ्यसम्वन्धी हक दिनुपर्ने, रोजगारीसम्वन्धी हक दिनुपर्ने, शिक्षामा हक दिनुपर्ने बाध्यता समाजवादले पैदा गरिदियो।

जब सोभियत संघमा समाजवाद ढल्यो, सामाजिक अधिकारका कयौं हकहरु छिनियो। त्यसको पहिलो प्रभाव बेलायतमा देखियो। जहाँ सामाजिक अधिकारका मुल्य–मान्यताहरुलाई छिन्ने काम गरियो। तर, सत्य के हो भने पुँजीवादीहरुले समाजवादका नीतिहरुलाई आफ्नो देशमा लागु गर्नै पर्ने अवस्था सिर्जना भयो। खासगरी परिवर्तनका लागि समाजवादले पुँजीवादीहरुलाई समेत धकेल्न बाध्य बनायो।

समाजवादले संसारभरका गरिखाने वर्गलाई तिमीहरु संगठिन होऊ। तिमीहरुको राज्य आउँछ। तिमीहरु संघर्ष गर्न तयार होऊ। तिमीहरुको राज्य आउँछ भनेर गरिखाने वर्गलाई पहिलोपटक संगठित गर्यो। इतिहासमा के हुने गरेको छ भने कहिलेकाही युद्ध जितिन्छ, कहिले हारिन्छ। पुँजीवादी देशहरुमा पनि त्यस्तो हुने गरेको छ। यस्तो बेला आउँछ, जुन बेला समाजवाद आउँछ।

अहिले पनि समाजवादको युग, समाजवादको सान्दर्भिकता घटेको छैन भन्ने कुरा अक्टोबर समाजवादी क्रान्तिले देखाएको छ। समाजवाद ढल्नेबित्तिकै सोभियत संघमा कति ठूलो फरक आयो भने जहाँ कि समाजवाद हुँदा रुसमा महिलाहरु सबैभन्दा बढी पार्लियामेन्टमा थिए। सत्ताका विभिन्न अंगमा महिलाहरुको निकै प्रभावशाली सहभागिता थियो।

जतिबेला रुसमा समाजवाद ढल्यो त्यसको प्रभाव रुसमै देखा पर्यो। जहाँ अहिले असाध्यै न्युन रुपमा महिलाहरु संसदमा रहेको अवस्था छ। महिलाहरुलाई त्यतिसाह्रो फरक पार्दो रहेछ समाजवादले। उत्पादनमा सबै हिसाबले अमेरिकालाई टक्कर दिन सक्ने रुस थियो त्यो बेला, जतिबेला समाजवाद थियो। समाजवाद ढल्ने बित्तिकै अमेरिकालाई टक्कर दिेने देश अहिले चीन भएको छ, रुस होइन।

वास्तवमा समाजवाद ढल्नुले कति फरक पार्दोरहेछ भन्ने कुराको यो सामान्य उदाहरण हो। यसले पनि के देखाउछ भने समाजवादको महत्व निकै माथि रहेको देखाउँछ। अहिले पनि समाजवादको महत्व घटेको छैन । पुँजीवादीहरुले केही हल्ला मच्चाएका छन्। अहिले पनि पुँजीवादीहरु कोहीसँग डराउछन् भने समाजवादसँग डराउँछन्। अहिले पनि उनीहरुको कोही शत्रु छ भने त्यो समाजवादीहरु नै भएका छन्।

समाजवादका कमजोरीहरु

रुसमा १०१ वर्षअघि समाजवादी क्रान्ति भएको समयपछि आज आउँदा समाजवादी व्यवस्था लागू गर्दा भएका केही कमजोरी र गल्तीहरुप्रति कम्युनिस्टहरुले पनि केही पाठहरु सिक्नु पर्ने भएको छ। समाजवाद ढल्नुमा मुख्य चार पाँच वटा कमजोरीहरु रहेको देखा पर्छ।

पहिलो कमजोरी थियो, समाजवादले राज्यसत्ता त हातमा लियो। तर त्यसले व्युरोक्रेसीहरुलाई निकै बलियो बनायो। पार्टीलाई बलियो बनायो। तर, जनतालाई शक्तिशाली बनाएन। अनि जनताले भित्रभित्रै शक्तिहिन भएको महसुश गर्न थाले। यो नै समाजवाद ढल्नुको पहिलो कमजोरी थियो।

दोस्रो कमजोरी थियो, सोभियत रुसमा कम्युस्टिहरुले ठूलो राजनीतिक क्रान्ति त गरे। तर, आफूहरुलाई रुपान्तरण गर्ने सांस्कृतिक क्रान्ति गरेनन्। राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरण धेरै हदसम्म गरे। तर सांस्कृतिक क्रान्तिमा जोड दिएनन्। बदलिएको राजनीतिक व्यवस्था र नबदलिएको बानी व्यहोरा र संस्कृतिबीच अन्तरविरोध पैदा हुन पुग्यो। बानी–व्यहोरा भनेको लामो समयसम्म रहने रहेछ। व्यवस्था नयाँ छ। तर, बानी व्यहोरा पूरानो छ। जसले अन्तरविरोध पैदा भयो। रुसको सोभियत समाजवादी देशमा यो दोस्रो कमजोरी रहन पुग्यो। यसले पनि समाजवादलाई कमजोर बनाउन पुग्यो।

तेस्रो कारण, सेनालाई बलियो र झन् शक्तिशाली बनाइयो। लेनिनको कुरा के थियो भने सेनामा सबै जनतालाई सैन्यकरण गर्ने र सेनाको आकारलाई सानो बनाए जाने भन्ने थियो। तर, लेनिनको निधनपछि उल्टो बाटो समाइयो। जनतालाई सैन्यकरण गरिएन, सेनालाई झन् शक्तिशाली र बलियो बनाइयो। त्यो गलत बाटो थियो। जसले गर्दा समाजवाद ढल्न पुग्यो।

चौथो कारण, पुँजीवादीहरुले त समाजवादीहरुलाई एक्लो पार्न घेर्दा रहेछन्। जो उनीहरुको धर्म नै भइहाल्यो। पुँजीवादीहरुले अत्याधुनिक ज्ञान–विज्ञानको क्षेत्रबाट सिद्धान्तको विकास गर्दा रहेछन्। तर, हामी कम्युनिस्टहरुको ज्ञान–विज्ञान एकातिर, समाजवादको सिद्धान्त अर्कोतिर भयो। ज्ञान–विज्ञानको क्षेत्रबाट समाजवादको विकास गर्न सकेनौं। लेनिनको जीवनकालसम्म समाजवादको सिद्धान्तको विकास भएको देखिन्छ। स्टालिनको पालामा आउँदा त्यो रोकिएको देखिन्छ। यो पनि ठूलो गल्ती थियो।

पाँचौं गल्ती भनेको स्टालिनको पालामा अलि बढी तानाशाहीजस्तो शासन देखा पर्यो। त्यो बेला पार्टीको एउटा सानो कोटरी शक्तिशाली भयो। बाँकी अरु सबै शक्तिहिन भए। यी कारणहरु थिए, जसले रुसमा समाजवादी सत्ता ढल्न पुगेको हो। आजका हामी कम्युनिस्टहरुले यी कमजोरीलाई सच्चाएर समाजवादका उपलव्धि र सीमाबारे गम्भीर रुपमा बहस गर्नुभएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्