अस्पताललाई उपचार गरेको पैसा तिर्न नसक्दा बालिकाको बिचल्ली

baby pic
लोकपाटी न्यूज
0 Shares

भरतपुर, २१ जेठ। चितवनको कालिका नगरपालिका वडा नम्बर १०, सिद्धिकी १८ महिने सदीक्षा चेपाङ चितवन मेडिकल कलेज (सिएमसी)को शैय्यामा छटपटाइरहेकी छिन्। सामान्य ज्वरो आएको उनलाई एक्कासि बेहोस भएपछि बुवा वर्षा चेपाङले भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज पुर्‍याए।

तर, ती दुईवटा अस्पतालमा उपचार हुने अवस्था नदेखिएपछि सिएमसी ल्याए। उपचारको आशमा एक महिनादेखि अस्पतालमा राखे पनि बिरामीको स्वास्थ्य अवस्था सुध्रिएन। तर, बिपन्न परिवारमा जन्मिएकी सदीक्षाको उपचारको नाममा रकम चढ्न छोडेको छैन।अस्पतालमा हालसम्म २० हजार रूपैयाँ मात्रै बुझाएका छन् बुवा वर्षाले।

बाँकी सबै अस्पतालको बिलमा मात्रै हिसाब चढेको छ। बालिकाका बुवा वर्षाका अनुसार अस्पतालले अहिलेसम्मको शुल्कमात्रै एक लाख ५३ हजार ८६० रूपैयाँ देखाएको छ। अस्पताल र बाहिरको फार्मेसीमा औषधि किनेको बिलमात्रै करिब ८० हजार पुगेको उनले बताए। तर, सामान्य ज्याला मजदूरी पनि लकडाउनका कारण रोकिएपछि बेरोजगार बनेका उनलाई छोरीको उपचार त भएन भएन, हालसम्मको खर्च कसरी जोहो गर्ने भन्ने चिन्ताले सताएको छ।

‘अस्पतालले उपचार हुँदैन, घर लैजा भन्छ, लैजान खोज्दा पैसा नतिरेसम्म लैजान पाइँदैन भन्छ’, वर्षा भन्छन्, ‘उपचार हुने आशामा उधारोमै भए पनि यतिको खर्च गरियो, अहिले न बिरामीको अवस्था सुध्रियो न त पैसा जुटाउन सकियो, म त ठूलो समस्यामा परेँ हजूर।’ घरमा भने श्रीमती सुत्केरी भएको एक हप्तामात्रै भयो। आफू छोरीलाई लिएर अस्पतालमा बसेपछि घरमा श्रीमतीको हालत के होला भन्ने अर्को चिन्ता छ।

‘यता छोरीको चिन्ता, उता श्रीमती सुत्केरी, म त दोहोरो मारमा परेँ’, उनी भन्छन्, ‘अस्पताल र औषधि पसलमा भएको उधारो रकम बुझाउन पाए जे भए पनि घरै लैजान हुन्थ्यो ।’ समस्यामा परेपछि आफूले भन्न मिल्ने सबै ठाउँमा भने पनि केही उपाय नलागेको उनको भनाइ छ। अहिले उनी कसैले सहयोग गरेर अस्पतालबाट छोरी बाहिर ल्याउन पाए हुन्थ्यो भन्ने आशामा बसिरहेका छन्।