टरिगाउँमा बन्ने भयो हवाई इन्धन डिपो

Ayan_Nigam
लोकपाटी न्यूज
0 Shares

दाङ। तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा हवाई इन्धन डिपो बन्ने भएको छ। तत्काल उक्त विमानस्थलमा अस्थायी इन्धन डिपो बनाउन लागिएको नेपाल आयल निगमले जनाएको छ। अहिले ६० हजार लिटर क्षमताको डिपो बनाइने निगमका प्रबन्धक इन्दु शर्माले जानकारी दिए।

उक्त डिपोको अण्डर ग्राउण्डमा दुई वटा ट्यांक, दुई वटा बाउजर र दुई वटा ट्यांकर राख्न मिल्ने उनले बताए। डिपो सञ्चालनका लागि नेपाल आयल निगमले गत कार्तिकमा नै टेण्डर आह्वान गरिसकेको थियो। डिपो सञ्चालनका लागि जग्गा उपलब्ध भए लगत्तै निर्माण प्रक्रिया सुरु गरिने शर्माले बताए।

इन्धन डिपो राख्नका लागि टेण्डर भइसकेको छ,’ उनले भने, ‘अब हामीलाई जग्गा उपलब्ध गराउनुपर्‍यो। जग्गा यकिन भए निर्माणको प्रक्रिया तत्काल सुरु गर्छौँ।’ जमिन यकिन गर्न आयल निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीले बुधवार सम्भावित क्षेत्रको स्थलगत अनुगमन समेत गरेको छ। निगमका प्रबन्धक शर्माका अनुसार डिपो सञ्चालनका लागि सात कट्ठा जमिन आवश्यक पर्ने छ।

जग्गाका लागि तेलसीपेर उपमहानगरपालिकालाई नागरिक उड्डयन प्राधिकरणले पत्र समेत लेखेको छ। प्राधिकरणले जग्गा सिफारिस गर्न उपमहानगरपालिकालाई अनुरोध समेत गरेको छ। जग्गा सिफारिस भएको एक हप्तामा निगमको प्राविधिक टोली अनुगमनका लागि आउने शर्माले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्