केन्द्रीय समिति अघि कोइराला-पौडेल पक्षको बैठक बस्दै

ramchanda koerala
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्नुअघि कोइराला-पौडेल समूहको छुट्टै बैठक बुधबार बस्दैँछ। केही समयमा पार्टी केन्द्रीय कार्यालय सानेपामा कोइराला-पौडेल समूहको छुट्टै बैठक बस्न लागेको हो।

कोइराला-पौडेल समूह निकट एक केन्द्रीय सदस्यका अनुसार दिउँसो २ बजे केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि आवश्यक छलफल गर्न भन्दै बैठक बस्न लागेको छ।महाधिवेशनको मिति नजिकिदासम्म महाधिवेशन नभएपछि आजको केन्द्रीय समितिले मिति तोक्ने बताईएको छ।

१४ औं महाधिवेशनको नयाँ मिति तय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा अनिश्चित बनेको महाधिवेशन र समसामयिक राजनीतिक परिवेशबारे छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेसको महाधिवेशन यहि फागुनमा हुने भनिए पनि कोरोना भाइरसको महामारीका कारण हुन सकेन। क्रियाशील सदस्यताको विषयमा रहेको विवाद अझै टुंगिन नसक्दा कांग्रेसमा महाधिवेशनको तयारी नै हुन सकेको छैन। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आउँदो जेठमा महाधिवेशन गर्नु पर्ने बताउँदै आएको छ।

तर सभापति देउवाले भने भदौमा महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। कांग्रेसको विधान अनुसार देउवाको चार वर्षे कार्यकाल गएको फागुनमै सकिएको हो। तर कांग्रेस विधान अनुसार एक वर्ष कार्यकाल थप गर्न पाउने अधिकारको प्रयोग गरेर देउवाले थप गरेको अवधि पनि यहि फागुन १९ मा सकिँदै छ।

यस्तै बैठकमा कांग्रेसले यसअघि गरेको देशव्यापी विरोध प्रदर्शन र बैतडीमा हिजो आफ्ना कार्यकर्तामाथि भएको आक्रमणलगायतका विषयमा पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्