विभुषणमा किन राखियाे पुरानै नक्सा? यस्तो छ गृहको स्पष्टिकरण

लोकपाटी न्यूज
0 Shares

काठमाडाैं। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको भन्दै विभिन्न व्यक्तिहरूलाई विभूषण प्रदान गरिन्। विभूषणमा नेपालको पुरानै नक्सा परेपछि सामाजिक सञ्जालमा सरकारको आलोचना सुरु भयो।

विभूषणमा लिम्पियाधुरा र लिपुलेकका भूभाग हटेको नेपालको नक्सा राखिएपछि सरकारले देखाउनका लागि मात्र संविधान संशोधन गरेको तर भारतलाई रिझाउनकै लागि नेपालका विभूषणमा ती भूभाग जानाजान छुटाइएको भन्दै चर्को आलोचना भएपछि गृह मन्त्रालयले स्पष्टीकरण नै दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको स्पष्टीकरण विज्ञप्तिमा विभूषण वितरणकाे प्रस्तावित समयमा रहेको नेपालको आधिकारिक नक्सा नै विभूषणहरूमा अंकित रहेको दाबी गरिएको छ। संविधान दिवसको अवसरमा २०७६ सालको असोज तीन गते घोषणा भएको विभूषण २०७७ सालको वैशाख एक गते वितरण गर्ने योजना अनुसार छापिएको र विभूषण छाप्दाको बेला नयाँ नक्सा जारी गर्ने निर्णय भइनसकेको गृहले प्रष्ट पारेकाे छ।

‘कोभिड-१९ को कारणबाट वैशाख १ गते वितरण हुन सम्भव नभएकोले हाल सुशोभन गरिएको हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएपछि घोषणा भएको विभूषणमा सोही बमोजिमको नयाँ नक्सा अंकित भएको र यसको सुशोभन आगामी २०७८ वैशाख १ मा गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्