भारतीय पूर्वराजदूत भन्छन्, ‘ओलीको कदमले नेपालको अस्तित्व समाप्त हुन सक्छ’

ranjit_rai
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपालका लागि भारतीय पूर्वराजदूत रन्जित रेले भारत नेपालमा संवैधानिक तथा लोकतान्त्रिक शासनको पक्षमा उभिनुपर्ने बताएका छन्। पछिल्लो समय भारतले नेपालमा निरंकुश शासनलाई समर्थन गरिरहेको भन्ने आमधारणा बन्दै गएको जनाउँदै उनले भारतले त्यसलाई हटाउन सक्नुपर्नेमा जोड दिएका छन्।

आइतबार भारतीय अखबार हिन्दुस्तान टाइम्समा प्रकाशित लेख ‘इन काठमाण्डु, अ थ्रेट टु डेमोक्रेसी’ मा पूर्वराजदूत रेले भारतले सधैं नेपालको प्रगतिशील परिवर्तन र बहुदलीय प्रजातन्त्रका पक्षमा समर्थन गरेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘भारतले निरंकुश शासनलाई समर्थन गरिरहेको छ भन्ने धारणालाई हटाउनुपर्छ र नेपालमा संवैधानिक तथा लोकतान्त्रिक शासनका पक्षमा दृढताका साथ उभिनुपर्छ।’

संविधान लेखनका बेला मधेसी समुदायको मागको विरोध गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै जसपाको महन्थ ठाकुर र राजेन्द्र महतोले किन समर्थन गरिरहेका छन् भनेर नेपाली नागरिकले अचम्म मानिरहेको पनि रेले लेखमा उल्लेख गरेका छन्। रेले अगाढि लेखेका छन्, ‘नेपालमा राजनीतिक स्थायित्व भारतको चाहना हो। अस्थिरताले नेपालमा बाह्य प्रभाव बढ्नेछ।’

साथै उनले भारतले सार्वजनिक रुपमै नेपालमा संवैधानिक शासनका पक्षमा आफ्नो धारणा राख्नुपर्ने बताएका छन्। त्यस्तै उनले भारतले नेपालमा कोरोना भाइरसविरुद्धको खोपको आपूर्ति गर्नुपर्नेमा पनि जोड दिएका छन्। भारतले प्रधानमन्त्री ओलीदेखि विपक्षीमा रहेका सबै दलसँग सम्बन्ध बनाउनुपर्ने पनि उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्