निशानको विद्युतीय कार ‘निशान लिफ’ सार्वजनिक, कति पर्छ मूल्य ?

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। निशान कम्पनीले पायोनियर मोटो कर्प प्रालिमार्फत सुरक्षित र दिगो भविष्यको प्रत्याभूतिसहित नेपाली बजारमा विद्युतीय सवारी साधन लिफ ईभी उपलब्ध गराएको छ। जेरो एमिसन विशेषता भएको निशान लिफ विद्युतीय सवारी साधन निशानको नयाँ उत्पादन हो। जापानबाट आयात हुने यो पहिलो विद्युतीय सवारी साधन हो। निर्माता कम्पनीको उद्देश्य समाजमा सवारी साधनमा परिवर्तन ल्याउनुका साथै शक्तिशाली र सजिलो सवारी साधन उपभोक्ता समक्ष पुर्‍याउनु रहेको कम्पनीले बताएको छ। यसको मूल्य ५९ लाख ९९ हजार तोकिएको छ।

निशान मोटर इन्डियाका अध्यक्ष सिनान ओजकोकका अनुसार विद्युतीय सवारी साधनको सेगमेन्टको लागि नयाँ अध्याय अंकित गर्दै निशानले नेपालमा दोस्रो जेनेरेसनको निशान लिफ सार्वजनिक गरेको हो। ‘निशान को (निशान इन्टेलीजेन्ट मोबीलीटी) अन्तर्गत हाम्रा ग्राहकहरुले स्मार्ट, आरामदायी, वातावरण मैत्री र सुरक्षित अनुभवको लाभ लिन सक्नुहुनेछ,’ उनले भने, ‘दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धतालाई कायम गर्दै हाम्रा ग्राहकप्रतिको आत्मविश्वास र उत्साहजनक जीवनलाई पनि निरन्तरता दिनेछौं।’

लिफ इलेक्ट्रिक भेहिकलको विशेषताबारे चर्चा गर्दै पायोनियर मोटो कर्प प्रालिका प्रबन्ध निर्देशक सन्दिप कुमार शारदा भन्छन्, ‘अब विश्वको र हाम्रो भविष्य नै इलेक्ट्रिक भेहिकल हो। शून्य प्रदूषण सहितको उपयुक्त प्रविधिमा आधारित यो सवारी चालकदेखि यात्रुलाई समेत सुविधा सम्पन्न र आरामदायी छ।’ निशान लिफ ईभीले आफ्ना ग्राहकहरुलाई सुरक्षित, स्मार्ट र सुविधा सम्पन्न यात्रा गर्न थप सहजीकरण गर्ने उनको भनाइ छ।

यसको इन्टेलिजेन्ट पावर अन्तर्गत यसमा ४० किलोवाट आवरको ब्याट्री जडान गरिएको छ र एकपल्ट चार्ज गर्दा ३ सय ११ किलोमिटरसम्म चलाउन सकिन्छ । यसको अधिकतम गुड्ने क्षमता प्रतिघन्टा १४० किलोमिटर छ। ग्राहकहरुले यसलाई सजिलैसँग चार्ज गर्न सक्नेछन्। घरमा नै डेडिकेटेड वाल आउटलेटबाट १५ देखि १८ घण्टामा र निसानको चार्जिङ स्टेशनबाट ४० देखि ६० मिनेटमा फूल चार्ज गर्न सकिने बताइएको छ। इन्टेलिजेन्ट ड्राइभिङ अन्तर्गत निशान लिफको इ–पेडललाई चालकहरुले एकदमै रुचाएका छन्। यसले स्टार्ट गर्न, गति बढाउन र सजिलैसँग रोक्न सघाउँछ । यसमा ब्रेकले स्वचालित रुपमा काम गर्ने हुनाले ड्राइभ गर्न सजिलो मानिन्छ।

निशान लिफ ११ वटा विभिन्न कलर अप्सनमा उपलब्ध हुनेछ जसमा ६ वटा सिंगल–टोन कलर रहेको छ भने ५ वटा डुअल–टोन कलर रहेको छ। निशान लिफ ईभीबाट एउटा गाडीबाट अर्को गाडीमा चार्ज गर्न सकिन्छ भने पावर होममासमेत पठाउन सकिन्छ। निशान लिफको ब्याट्रीमा कम्पनीले ८ वर्ष अथवा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्