एंगेल्सको ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति’ पुस्तकभित्र के छ ?

Angels Book
लोकपाटी न्यूज
1 Shares

जमिला/मार्क्सवाद र मार्क्सवादी साहित्य अध्ययन र मनन यो युगमा अझ बढी आवश्यक अनुभव हुँदैछ। शोषण, अन्याय र दमनको साम्राज्यसँग जित्ने उपाय र मार्गचित्र मार्क्सवादले नै मात्र दिन सक्ने विश्वास अझ बलियो हुँदैछ। मार्क्सवादी साहित्य अध्ययनको सूचीमा फ्रेडरिक एंगेल्सको एउटा अमर कृति ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति’ पनि पर्दछ। मार्क्सवादको एउटा पृष्ठभूमि मानिने यस पुस्तकले मार्क्सवादको वैज्ञानिकता, व्यवहारिकता खुलाउँछ।

मानव समाजको प्रादुर्भावसँगै सुरु हुने मानिसको सामाजिक, आर्थिक र उत्पादन सम्बन्धलाई पुस्तकमा असाध्यै मिहिन ढङ्गले केलाइएको छ। मानव समाजको विकासक्रमको इतिहासदेखि यो शताब्दीसम्म समाजलाई भौतिकवादी अझ भनौँ द्वन्द्वात्मक भौतिकवादी आँखाले विश्लेषण गरिएको छ। शोषण के हो ? मानवसमाज सँगसँगै शोषणका रूपहरू कसरी बदलिए ? परिवारको उत्पत्ति कहाँ कसरी भयो ? निजी स्वामित्वले शोषणलाई किन बढाउँछ ? राज्यसत्ता किन निर्मम हुन्छ ? भन्ने यावत प्रश्नहरूको गहिरो विश्लेषणात्मक तथ्यमा आधारित र ऐतिहासिक पृष्ठभूमिमा आधारित जवाफ पुस्तकमा भेटिन्छ। पुस्तकले इतिहासको भौतिकवादी धारणा प्रस्तुत गर्छ।

यो पुस्तक एंगेल्सले सन् १८८४ मईको अन्त्यमा तयार पार्नुभयो। मार्क्सका पाण्डुलिपीहरूको अध्ययन गर्ने क्रममा एंगेल्सले अमेरिकी वैज्ञानिक लुइस हेनरी मोर्गनको ‘प्राचीन समाज’ पुस्तकसम्बन्धी विस्तृत टिप्पणीहरूको सङ्कलन फेला पार्नुभयो। ती टिप्पणीहरू माक्र्सले सन् १८८०–१८८१ मा तयार पार्नुभएको जानकारी पुस्तकमा छ। मोर्गनले आफ्नो पुस्तकमा प्रस्तुत गरेको निष्कर्ष र माक्र्सका टिप्पणीहरूलाई एकै ठाउँमा राखी थप अध्ययन र विश्लेषणको आवश्यकताबोध गरी यो कृति तयार पार्नुभयो।

मार्क्सले प्रकाशन गर्न चाहनुभएको तर सम्भव नभएको यस कृतिलाई एंगेल्स मार्क्सको ‘अन्तिम अभिलाषाको पूर्ति’ भन्नुहुन्छ। पुस्तक लेख्ने क्रममा एंगेल्स युनान र रोम, प्राचीन आयरल्यान्ड र प्राचीन जर्मनीबारे आफूले गरेको अनुसन्धानमा जुट्नुभएको प्रसङ्गले पुुस्तकको वस्तुनिष्ठता र वैज्ञानिकता झल्काउँछ।

यस कृति पहिलोपटक सन् १८८४ मा जर्मन भाषामा, सन् १८८५ मा इटालियाली, सन् १८८६ मा रुमेनियाली, सन् १८८८ मा डेनिस र सन् १९०२ मा मात्र अङ्ग्रेजी भाषामा प्रकाशन गरियो। संस्कृतिका प्रागैतिहासिक चरणहरू शीर्षकमा जङ्गली युग, बर्बर युग र सभ्य युगका मानव जातिले गरेको विकासको चित्र प्रस्तुत छ। जङ्गली युगमा मुख्यतयाः प्रकृतिमा पाइने वस्तुहरू जस्ताको तस्तै प्रयोग हुन्थे। बर्बर युगमा आइपुग्दा पशुपालन र खेतीपातीको थालनी अवधि सुरु भयो। त्यो कालमा मानव क्रियाशिलताको उपलब्धिका रूपमा उत्पादनको वृद्धि गर्ने नयाँ तरिकाहरू सिकाइयो र अभ्यासमा ल्याइयो।

सभ्य युगमा पुग्दा प्राकृतिक वस्तुहरूको अरू बढी प्रशोधन गर्ने कलामा दक्षता प्राप्तिको अवधि सुरु भयो। सभ्ययुग वास्तवमै उद्योग तथा कलाको विकासको अवधि बन्यो भन्ने ऐतिहासिक अध्ययन र यथार्थ विश्लेषण पुस्तकमा छ। जङ्गली युगदेखि सभ्य युगसम्म आइपुग्दा परिवारको जन्म, विकासबारे एंगेल्सले ऐतिहासिक पृष्ठभूमिका आधारमा अत्यन्त गहन अनुसन्धानपछि केस्रा–केस्रा केलाउनुभएको छ।

पुस्तकमा मानिसको जाति, यौन–जीवन, विवाहबारे युग सापेक्ष विचार र विश्लेषण प्रस्तुत छ। हाडनाताको सम्बन्धमा आधारित परिवार, पुना लुआ परिवार, युगल परिवार, एकनिष्ठ परिवारबारे विस्तृत र गहिरो अध्ययन पस्कँदै पुस्तकले युग परिवर्तनका चरणहरू अवगत गराउँछ। आदिम समाज हँुदै मातृसत्तात्मक समाजबाट पितृसत्तात्मक समाजमा पदार्पण पछाडि युगल विवाहदेखि एकनिष्ठ विवाहसम्मको उत्पादन सम्बन्ध र श्रमविभाजनले भूमिका खेलेको देखिन्छ। जङ्गली युगमा समूह विवाह, बर्बर युगमा युगल र सभ्य युगमा एकनिष्ठ विवाह प्रचलित भयो।

एंगेल्सले बुर्जुवा परिवारको कडा आलोचना गर्नुभयो। निजी स्वामित्वको प्रभुत्व कायम रहेको अवस्थामा हुने नारीहरूको असमान स्थितिका आर्थिक कारण प्रस्ट्याउनुभयो। नारी पनि किनबेचको सामग्री जस्तै बनाइने समाज चिनाउनुभयो। विवाह सम्बन्धको यो रूप पुँजीवादी उत्पादन सम्बन्धका लागि सबैभन्दा अनुकूल प्रणाली हो। सबै कुरालाई वस्तुमा परिणत गरेर, सम्पत्ति र नाफा नोक्सानसँग दाँजेर पुँजीवादी उत्पादन सम्बन्धले परापूर्वकालदेखि संरक्षित रहँदै आएका सबै प्राचीन सम्बन्धलाई नष्ट गरिदियो।

परम्परागत रीति–रिवाज तथा ऐतिहासिक अधिकारको स्थानमा क्रयविक्रय र स्वतन्त्र सम्झौताको स्थापना गरिदियो। पुस्तकमा लेखिएको छ – “पुँजीवादी धारणाअनुसार विवाह एक सम्झौता हो र अझ त्यसमाथि सबभन्दा महत्वपूर्ण कानुनी लेनदेन पनि हो” यस धारणाले महिला पहिलेभन्दा बढी शोषणमा परेको तथ्य प्रस्तुत गर्छ।

पुँजीवादी उत्पादन प्रणालीको उन्मूलन भएपछि मात्र महिलाले वास्तविक स्वतन्त्रता प्राप्त गर्नसक्ने एंगेल्स प्रस्ट पार्नुहुन्छ। उहाँ जोड दिनुहुन्छ– “समाजवादी समाजमा मात्रै जहाँ सामाजिक उत्पादनमा महिलाको सहभागिता रहन्छ, सामाजिक जीवनमा समस्त क्षेत्रमा महिला र पुरुषका बीचमा पूर्ण समानता हुन्छ, महिला घरधन्दाको बोझबाट मुक्त हुन्छन् र त्यो बोझ बढ्दो मात्रामा समाजले बोक्दै जान्छ, पुरुष र महिलाको पूर्ण समानता, एक अर्काप्रति आदरको भावना र सच्चा प्रेममा आधारित परिवारको नयाँ उत्कृष्ट रूपको प्रादुर्भाव हुन्छ।”

पुस्तकमा गोत्र प्रथाको नालीबेली उजागर गरिएको छ। इरोक्बा गोत्र, युनानी गोत्रमा प्राचीन गोत्रीय सङ्गठनको उत्थान, विकास र पतनसँगै राज्यको उत्पत्ति भएको हो। यस कृतिका अधिकांश खण्डमा स्वामित्वको उत्पत्ति र विभिन्न रूपहरूको विकासको विश्लेषण गरिएको छ। एंगेल्सले निजी स्वामित्वमा आधारित व्यवस्था नित्य होइन भनी तथ्यसङ्गत विश्लेषण गर्नुभएको छ। आदिम इतिहासको एक लामो अवधिसम्म उत्पादनका साधनहरूमाथि सामूहिक स्वामित्व रहेको थियो भन्ने कुरा अकाट्यरूपमा प्रमाणित गर्नुभयो।

उत्पादन शक्तिहरूको विकास एवम् श्रम उत्पादनशीलतामा वृद्धि भएसँगै अरूको श्रमको फल अर्थात् आम्दानी हत्याउने सम्भावना पैदा हुन्छ फलस्वरूप निजी स्वामित्व र मानवद्वारा मानवको शोषणको प्रादुर्भाव हुन्छ। त्यसैगरी समाज परस्पर विरोधीवर्गहरूमा विभाजित हुने तथ्यलाई एंगेल्सले मिहिन विवेचना गर्नुभएको छ।

राज्यको उत्पत्ति र सारतत्व नै एंगेल्सको कृतिको प्रमुख विषय या मेरुदण्ड हो भनिएको छ। एथेन्स राज्यको उत्पत्ति, रोममा गोत्र तथा राज्यको उत्पत्ति, केल्ट तथा जर्मन गोत्रको विकासले राज्यसत्ताको अभ्यूदयका लागि अनुकूल स्थिति खडा गरेको इतिहास पुस्तकमा उजागर भएको छ। गोत्र प्रणाली ध्वस्त भएपछि त्यसको स्थान राज्यले लिएको बुझिन्छ। जर्मनहरूमा राज्यको उत्पत्तिले रोमन साम्राज्यमा जर्मन आक्रमणकारीहरूले प्रवेश गरेको बुझ्न सकिन्छ। जर्मन उदयसँगै प्राचीन युनानी तथा रोमन सभ्यताको शैशवकाल खत्तम हुन्छ, रोमन राज्य एक विराट एवम् जटिल यन्त्रको रूपमा परिणत भएको इतिहास छ।

कर, राजकीय सेवाहरू र विभिन्न शुल्कहरूले आम जनसमुदायलाई आधिकारिक गरिबीमा पारिदियो। शोषणको एउटा प्रणाली स्थापित भयो। प्राचीनकालमा दासप्रथा कायम थियो। हरेक युगमा शोषणको रूप सामाजिक श्रम विभाजन र उत्पादन सम्बन्धसँग जोडिएको हुन्छ। पुस्तकमा लेखिएको छ – “श्रमको सामाजिक विभाजनबाट नै दुई वर्गहरू अर्थात् शोषक र शोषितहरूमा समाजको विभाजन सुरु भयो।” कृषि, उद्योगलगायत अन्य श्रममा पनि यही प्रक्रिया लागु हुन्छ।

पुस्तकमा लेखिएको छ – “सेनानायक, परिषद्, जनसभाहरू, गोत्रीय समाजका त्यस्ता निकायहरूको रूपमा देखापर्छन्, जसबाट सैनिक जनवादको विकास हुन्छ।” साथै, पुस्तकमा बुर्जुवा प्रजातान्त्रिक गणराज्यको चर्चा छ जसले सदा पुँजीवादको पक्षपोषण गर्‍यो। बर्बर युगमा लुटको धन बढी सरल र सम्मानजनक लाग्ने हुन्छ। श्रम विभाजनमा एक नौलो पाइला अर्थात् व्यापार, विनिमयले सभ्य युगको श्रीगणेश गर्छ भनिएको छ।

राज्यको जन्म प्रत्यक्ष रूपमा वर्गीय अन्तरविरोधहरूबाट हुन्छ अर्थात् राज्य सामाजिक विकासको निश्चित चरणको उपज हो। राज्य साम्झौताविहीन प्रतिपक्षताहरूमा विभाजित भएको हुन्छ जसबाट मुक्त हुन राज्य असमर्थ हुन्छ। पुस्तकमा लेखिएको छ – “यस्ता प्रतिपक्षताहरू, परस्परविरोधी आर्थिक स्वार्थ भएका वर्गहरूले एक निरर्थक सङ्घर्षमा एक अर्कालाई ननिलून् भन्नका लागि एउटा शक्तिको आवश्यकताबोध भयो। जो समाजभन्दा माथि अवस्थित देखिन्छ, त्यस्तो शक्ति, जसले त्यस अन्तरद्वन्द्वलाई मत्थर पारोस् र त्यसलाई ‘सुव्यवस्था’ को परिधिभित्र नियन्त्रित राखोस्। अनि समाजबाटै उत्पन्न भएको तर समाजभन्दा माथि रहेको र त्यसबाट आफूलाई झन्–झन् अलग्याउँदै लगिरहेको यो शक्ति नै राज्य हो।”

यसरी प्राचीन युनान, प्राचीन रोम तथा जर्मनीमा राज्यको उत्पत्तिको उदाहरणमा एंगेल्सले स्पष्ट तथा तर्कयुक्त ढङ्गले देखाउनुभएको छ कि उत्पत्तिकालदेखि नै राज्य सदा ती वर्गहरूको आधिपत्य कायम राख्ने हतियार बन्दै आएको छ, जसले उत्पादनका साधनहरूमाथि आफ्नो प्रभुत्व कायम राखेका हुन्छन्। तर, सत्य के हो भने राज्य अनादिकालदेखि नै अस्तित्वमा थिएन आदिम समाज त्यसको उदाहरण हो। यसरी राज्यसत्ताविहीन साम्यवादी समाज, सर्वहारा अधिनायकवादी समाजको शब्ददृश्य पनि यसै कृतिमा छ। सर्वहारा क्रान्तिको अनिवार्यता र साम्यवादी समाजको निर्माण कृतिको निहित मर्म हो।

यसरी आदिम समाजदेखि सभ्य युगसम्म मानवजातिको विकास, परिवार, निजी सम्पत्ति र राज्यको विकास एवम् मानिसमाथिको शोषणका रूपहरूको विश्लेषणले समाजलाई वर्गविहीन, राज्यसत्ताविहीन समाजको स्थापना गर्ने बलियो आधार अनि विचार यस कृतिले प्रदान गर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्