दर्शन विश्वकोश : के हो सांस्कृतिक क्रान्ति ?

communist_worker
लोकपाटी न्यूज
0 Shares

सांस्कृतिक-ऐतिहासिक विधि : ऐतिहासिक प्रक्रियाको आन्तरिक एकता तथा अखण्डताको आदर्शवादी सिद्धिको एउटा रूप। यसलाई उदारवादी विचार राख्ने जर्मन इतिहासकार के. लाम्प्रेख्त (१८५६-१९१५) ले १९ औं शताब्दीको अन्तमा प्रस्तुत गरेका थिए। उनले बुर्जुवा इतिहास शास्त्रमा प्रचलित वैयक्तिकीकरणको, इतिहासलाई प्रमुख व्यक्तिहरूका जीवनीहरूको वर्णनमा रूपान्तरित गर्ने कार्यको विरोध गरे (एल. रांके तथा उनको धारा)। लाम्प्रेख्तको मतानुसार संस्कृतिको अवधारणाको साहयताबाट सामाजिक जीवनका विभिन्न पक्षहरूको संश्लेषण गर्न सकिन्छ। जनताको रहन-सहनको ढंग, दैनिक जीवन, सामूहिकतामा अभिव्यक्त स्वतःस्फूर्त चेतनाको रूपमा संस्कृतिको व्याख्या गरिन्छ। सांस्कृतिक-ऐतिहासिक विधिले संस्कृतिको अवधारणामा सामाजिक जीवनका पृथक्-पृथक् पक्षहरूलाई विशुद्ध सारसंग्रहवादी ढंगबाट मिलाएर, भौतिक तथा आर्थिक सम्बन्धहरूलाई आत्मिक विकासक्रमको एउटा कारकको रूपमा मात्र स्वीकार गरेर बुर्जुवा इतिहासको संकटलाई आदर्शवादी आधारमा अन्त गर्ने अपरिपक्व प्रयत्न गर्‍यो। तर पनि इतिहासलाई सामाजिक विकासका नियमहरूको विज्ञान मान्ने कुरासम्बन्धी दृष्टिकोणले बुर्जुवा इतिहास शास्त्रका अन्य विधिहरूको तुलनामा सांस्कृतिक-ऐतिहासिक विधिलाई विशिष्ट बनाउँदछ। इतिहासको दर्शनको बारेमा समकालीन पश्चिमी साहित्यमा सांस्कृतिक-ऐतिहासिक विधिलाई खुल्ला रूपमा आत्मागत सिद्धान्तहरूले एकातिर धकेलिदिएका छन्।

सांस्कृतिक क्रान्ति : समाजवाद तथा साम्यवादको निर्माणको प्रक्रियामा समाजको आत्मिक जीवनमा मूलभूत परिवर्तन। समाजवादी क्रान्तिले नै सांस्कृतिक क्रान्तिको लागि सम्पूर्ण आवश्यक पूर्वाधारहरूको निर्माण गर्दछ। सांस्कृतिक क्रान्ति केवल समाजवादी क्रान्तिको प्रक्रियामा मात्र राजनीतिक तथा आर्थिक रुपान्तरणको आधारमा, सबभन्दा बढी जनताद्वारा सत्ताको अधिकरण र सम्पूर्ण भौतिक तथा आत्मिक मूल्यहरूलाई उसको हातमा स्थानान्तरणको फलस्वरूप मात्र सम्भव छ। पूँजीवादबाट समाजवादमा संक्रमणको अवधिमा सांस्कृतिक क्रान्तिका निम्नानुसार मुख्य कार्यभार हुन्छन् : धेरथोर अल्प समयको अवधिमा शिक्षा प्रणालीको पुनर्संरचना, संस्कृतिका सर्वोत्तम उपलब्धिहरू जनसाधारणको लागि सुलभ बनाउनु, यसरी आर्थिक, सामाजिक, राजकीय शासनमा उनीहरूको सहभागिता सुनिश्चित गर्नु, एउटा नयाँ समाजवादी बुद्धिजीवी समुदाय तयार गर्नु तथा एउटा नयाँ, समाजवादी संस्कृतिको निर्माण गर्नु। यी कार्यभारहरू समाजवादको निर्माण गरिरहेका सम्पूर्ण देशहरूको लागि समान छन्, उनीहरूका विशेषताहरू चाहे जेसुकै होउन्। समाजवादी समाजका अवरुथाहरुमा कार्यभार साम्यवादको विजयको लागि आत्मिक पूर्वाधारहरू तथा सही अर्थमा समृद्ध आत्मिक संस्कृतिको निर्माण गर्नु तथा व्यक्तिको चौतर्फी विकासको लागि सम्भावनाहरू तयार गर्नु हो। यो कार्यभारको समाधानमा उत्पादक शक्तिहरूको समृद्धि, प्रविधि तथा उत्पादन संगठनको प्रगति, जनताको क्रियाकलापमा वृद्धि, स्वशासनका जनवादी सिद्धान्तहरूको विकास, दैनिक जीवनको पुनर्गठन धेरै मात्रामा निर्भर हुन्छन्। सामान्यतया सांस्कृतिक क्रान्तिको रूपमा परिचित ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ एउटा जटिल सामाजिक उथल-पुथल थियो, जुन चिनियाँ कम्युनिष्ट पार्टीमा प्रभुत्वको लागि माओ त्से-तुङ्ग र अन्य उच्च पार्टी नेताहरूको बीचमा संघर्षको रूपमा सुरु भयो र जसले सम्पूर्ण चीनलाई आफ्नो ‘निरन्तर क्रान्ति’ को आव्हानद्वारा प्रभावित गर्‍यो। यो सामाजिक उथल-पुथल १९६६ देखि १९७६ सम्म रह्यो र यसले चिनियाँ समाजमाथि गहिरो प्रभाव पार्‍यो।

सांस्कृतिक चक्रहरूको सिद्धान्त : ऐतिहासिक-सांस्कृतिक विकासमा आवर्तनको अवश्यम्भाविता सम्बन्धी एउटा मत, जुन ऐतिहासिक-तुलनात्मक विधिको संकटबाट उत्पन्न भयो। १९ औं शताब्दीको अन्त तथा २० औं शताब्दीको आरम्भमा तुलनात्मक विश्लेषणको कसीको प्रश्न तीक्ष्ण रूपले प्रस्तुत भएको थियो। यो बढीभन्दा बढी स्पष्ट हुँदै गइरहेको थियो कि ऐतिहासिक तुलनाहरू र साम्यानुमानले मूलतः प्रक्रियाहरूको अन्तर्वस्तुलाई होइन, बरु तिनीहरूको प्रवाहको रूपलाई मात्र ध्यान दिन्छन्। सांस्कृतिक चक्रहरूको सिद्धान्तले यी समस्याहरूमाथि नियन्त्रण प्राप्त गर्ने कृत्रिम विधि प्रस्तुत गर्‍यो। यो सिद्धान्तका पक्षधरहरू (स्पेंगलर, टोयनबी) को मत थियो कि ऐतिहासिक सादृश्यहरूको पुष्टिको आवश्यकता हुँदैन, तिनीहरू स्वयंसिद्ध हुन्छन्। ऐतिहासिक-सांस्कृतिक प्रक्रियाहरूको आवर्तन, समकालिकता, चक्रीय स्वरूपलाई सार्विक ऐतिहासिक नियमहरूको अस्तित्वको एक मात्र प्रमाण मानिन्थ्यो। यो सिद्धान्तको सामाजिक झुकाव स्पेंगलरको शिक्षामा प्रकट हुन्छ, जसले यो आग्रह गरेका थिए कि ऐतिहासिक कार्य अतीतको सचेत अनुकरणमा आधारित हुनुपर्दछ। यो धाराको व्यावहारिक परिणाम फासिवादको विचारधारामा प्रकट भयो, जसले स्पेंगलरको इतिहासवादका आधारभूत सिद्धान्तहरूलाई अंगीकार गर्‍यो।

-रमेश सुनुवारको दर्शन विश्वकोशबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्