रामजी बराल : विद्रोह चेतमा उभिएका एक अविचलित योद्धा

Ramji_Baral
लोकपाटी न्यूज
10 Shares

पोखरा। गाउँबाट देखिने खुलेको हिमाल र त्यत्तिकै सुन्दर फेवाताल देखिन्थ्यो। तर, हालको पोखरा २२ डाँडाथोक, लुकुस्वाँराका रामजीप्रसाद बराललाई त्यो सुन्दरतामा भुल्ने फुर्सद कम मिल्थ्यो। बिहान उठ्यो, घाँस पराल गर्‍यो। दिउसो टालेको जाँघे लगाएर महेश्वरी प्राविमा पुग्यो। जीवन अभावमै बित्यो।

शुक्रराज माविबाट एसएलसी दिँदा सम्म पनि उनको खुट्टामा चप्पल हुँदैनथे, जाँघेबाट पाइन्टमा सरेको त एसएलसीपछि नै हो! ‘कतिसम्म भने स्कुलको फिस तिर्न नसकेर मैले एक वर्ष जाँच नै दिन पाइनँ,’ सम्झनाको अतिरेकमा हराएका रामजी फुस्फुसाए, ‘माथ्लो गामबाट अँध्यारोमा कोदो बेसाएर ल्याएको, लुकाएरै ढिँडो र आँटो खाएको हिजो जस्तै लाग्छ।’

अभावकै कारण २०२३ सालमा जन्मेका रामजीले २०४३ सालमा मात्रै एसएलसी भ्याए। अभावले विद्रोह जन्माउँछ। रामजीलाई अभाव र असमानताले नघोच्ने कुरै भएन। उनी युवा हुँदा देशमा पञ्चायत थियो। २०३३ सालको विद्यार्थी आन्दोलन र २०३६ सालको जनमत संग्रहको खुलापन उनको गाउँसम्म पनि आइपुगेको थियो। बहुदलको पक्षमा उभिएका नेता र विद्यार्थीहरूको अभियानले उनको मन छोयो। पञ्चायत नै समस्याको जड हो भन्ने बुझाइ गाढा बन्यो। १० कक्षा पढ्ने बोलाउनको स्कुलमा एक हुल युवाहरू आइपुगे।

‘संसारमा महिला र पुरुष दुई जात मात्र हुन्छन् र गरिबको राज्य स्थापना गर्नुपर्छ’ भन्ने भनाइमा सहमति जनाउँदै उनी तत्कालीन मशालको विद्यार्थी संगठनमा आवद्ध भए। मशाल अर्थात् विद्रोह उनको विद्रोही चेत झन् जागरूक भयो। हाल ‘जीवन’उपनामले चिनिने माओवादीका केन्द्रीय सदस्यको जीवनले अर्कै मोड लियो। २०४६ सालको आन्दोलनमा होमिए। खुला राजनीतिमा आएसँगै २०४७ सालमा हँसिया हथौडा अंकित झण्डा सहितको सदस्यता पाए।

२०४८ सालमा मशालको खुला राजनीतिक संगठन संयुक्त जनमोर्चाले उनलाई गाउँ इकाइको अध्यक्षको जिम्मेवारी दियो। २०४९ मा उनी जिल्ला सदस्यमा बढुवा भए। फलामे अनुशासन र अरू कम्यनिष्ट भन्दा फरक देखिने जनमोर्चामा रहँदा उनले अनुशासन र त्यागको पाठ सिके। जनताको मुक्ति बाहेकका सबै विषयहरूलाई मिथ्या ठहर गरे। ‘नीति र नेतृत्व तथा जनतालाई आदर गर्ने संस्कार मैले त्यही बेला सिकेँ,’ रामजी भन्छन्, ‘पुरानो संरचना नभत्काई नयाँ बन्दैन भन्ने विचारप्रतिको प्रतिवद्धता पनि वृद्धि भयो।’

२०५१ मा पार्टीको राष्ट्रिय भेलाले जनयुद्ध सुरु गर्ने र जनमुक्ति सेना निर्माण गर्ने निर्णय गर्‍यो। उनी जिल्ला कमिटीमै थिए। कमरेड तारा अधिकारीले उनको हातमा एउटा चिठी थमाइन्। तीन जनाको बीचमा चिठी खोल्नू भन्ने निर्देशन थियो। बरालले आफूसँगै अन्य २ जनाको बीचमा खाम खोले रे। खाममा जनयुद्ध सुरु भएका पोष्टर र अनुरोध थिए। ‘जनयुद्ध सुरु भएको र तयारी हुन अनुरोध गरिएको चिठी पढेपछि ममा खुसीको कुनै सीमा भएन, पार्टीप्रतिको विश्वास बढेर आयो,दिमागमा मुक्तिको सपना नाच्न थाल्यो,’ उनले अतीत सम्झिए।

मुक्ति मार्ग सजिलो थिएन। मार्क्स-लेनिन, गान्धी, नेपालकै बिपी कोइराला र पुष्पलालको जीवनी पढेर उनले बुझेको त्यही थियो। तर, क्रान्तिमा समर्पण चाहिन्छ भन्ने बुझेका रामजीले आफूलाई योद्धामा परिणत गर्न ढिलाइ गरेनन्। २०५३ सालमा तत्कालीन माओवादीको पूर्णकालीन कार्यकर्ता बने। खुला जीवन भूमिगतमा परिणत भयो। त्यस पछिको कालखण्ड साँच्चिकै कठिन थियो। जतिबेला पनि मारिने डर, भूमिगत संगठन निर्माण, युद्धकालीन आक्रमणका योजनाहरू बनाउने जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गरे। कास्कीका आफूभन्दा उच्च तहका र समकालीन नेताहरूले सहादत प्राप्त गर्दा पनि उनी सम्हालिए। निरन्तर मुक्तिको मार्गमा लागि रहे।

२०५३ मा पूर्णकालीन बन्ने बित्तिकै उनको काँधमा तत्कालीन नेकपा (माओवादी) को इलाका सेक्रेटरी र पार्टीको जिल्ला सदस्यको जिम्मेवारी आइलाग्यो। त्यही उपक्रममा थुप्रै फौजी र राजनीतिक योजना बनाएको स्मरण गर्दै उनले भने, ‘पूर्णकालीन बनेपछि बाँचेर यहाँसम्म आइपुगिएला भन्ने त कल्पनै थिएन तर बाँचियो अनि जनताले पाएको एउटा उपलब्धिको साक्षी बन्ने अवसर मिल्यो।’

२०५७ मा पार्टीले उनलाई पर्वत जिल्ला सेक्रेटरीको जिम्मेवारी दियो। २०५९ सालतिर पार्टी कमजोर देखिँदा पार्टीले उनको काँधमा कास्की सेक्रेटरी र इन्चार्जको जिम्मेवारी थमायो। उनी त्यो भूमिकामा अब्बल देखिए। पार्टी पोलिटब्यूरो सदस्यमा बढोत्तरी भए। २०६२/०६३ को आन्दोलनले देशमा परिवर्तन सम्भव गरायो। माओवादी शान्तिपूर्ण राजनीतिमा आयो। माओवादीले बोकेको संघीय लोकतान्त्रिक गणतन्त्रको एजेण्डा स्थापित भयो।

उनी २०६२/०६३ को आन्दोलनलाई जनताको आन्दोलन भन्न रुचाउँछन्। नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई, तत्कालीन एमाले नेताहरू माधव नेपाल, झलनाथ खनाल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सम्मको सुझबुझपूर्ण निर्णयबाटै यो उपलब्धि हात लागेको उनको ठहर छ।

खुला राजनीतिमा आएसँगै पार्टीजस्तै उनको पनि भूमिका फेरिएको छ। उनी पार्टीको केन्द्रीय सदस्य छन्। संविधान सभा सदस्य भएर संविधान लेख्ने रहर पूरा नभए पनि उनी २०७४ सालको चुनावमा कास्की क्षेत्र नम्बर २ क बाट प्रदेशसभा सदस्य चुनिए। हाल गण्डकीका अर्थमन्त्री रहेका रामजीले संघीयता संस्थागत गर्न तथा समुन्नत कास्की बनाउन सक्दो योगदान गरेकै छन्। जनताको घरदैलोमा पुगिरहने नेताको रुपमा आफूलाई उभ्याएका छन्।

उनै रामजीप्रसाद यो पटक प्रजातान्त्रिक वाम गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर ३ को प्रतिनिधि सभातर्फका उम्मेदवार बनेका छन्। अब संघीय संसदमा पुगेर कास्केली जनताको आवाज मुखरित गर्ने उनको सपना छ। ‘एक चरणको क्रान्ति सम्पन्न भएको छ,संविधानमै लेखिएको समाजवादको यात्रा अझै बाँकी छ,अहिले पनि हामी युद्धमै छौं र यो युद्ध अलि फरक प्रकृतिको छ, अहिले हिजोको उपलब्धिको रक्षा र प्रतिगमनलाई परास्त गर्नु छ,’ उनी अक्सर भन्ने गर्छन्।

रामजी प्रसादले हिजो प्रजातन्त्रको लागि ज्यान गुमाएका कास्कीका शहीद हरिप्रसाद गुरुङको सपना पच्छ्याएका छन्। माओवादी जनयुद्धका शहीदहरू राज विक्रम भुर्तेल, सीता भुर्तेल,विजय ढकाल, बेपत्ता पारिएका पूर्ण तिमिल्सिना लगायत घाइते र शहीद परिवारको व्यथालाई नजिकबाट बुझेका छन्। ‘मेरो आफ्नो व्यक्तिगत आकांक्षा केही छैन, म अहिले पनि सामान्य जीवन बाँचेको जनताको सेवक हुँ, भोलि पनि म त्यस्तै रहने हो,’ उनी भन्छन्, ‘एक बारको जीवनमा फलानो मान्छे पनि थियो है भन्ने काम गर्ने धोको छ र यो धोको पूरा गराउन कास्की क्षेत्र नम्बर ३ का जनताले साथ दिनुहुन्छ भन्ने मेरो पूर्ण विश्वास छ।’

यसो भनिरहँदा अभावले थिल्थिल्याएको र रोगले आक्रमण गरिसकेको शरीरप्रति भने बेपर्वाह देखिए। ‘अभाव र खटाइकै बीच आन्द्रामा समस्या देखियो, इन्टर्नल हर्नियाले पनि गाँज्यो, स्पाइनल कर्ड भन्छन् क्यारे, ढाडको शल्यक्रिया पनि ब्यहोरेँ, यो मेरो दोस्रो जुनी नै हो। यो जुनी जनताकै सेवामा लगाउने हो।’

त्यही उपक्रममा उनले कास्की क्षेत्र नम्बर ३ को समृद्धिको लागि दर्जनौं योजना सुनाउन भ्याए। उनका योजनाहरू पर्यटन र कृषिको जगमा टेकेर बनाएका योजनाहरूमा स्वरोजगार सिर्जना, कास्की क्षेत्र नम्बर ३ मा उत्कृष्ट कलेज र अस्पतालको स्थापना, जडीबुटी प्रशोधन केन्द्र, ग्रामीण सडकको स्तरोन्नति, पर्यटकीय पदमार्गहरूको संरक्षणसम्म समेटिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्