मुख्यमन्त्रीको कार्यालय सरेपछि देउखुरीमा बढ्यो चहलपहल

bhalubang_Deukhuri
फाइल तस्बिर
लोकपाटी न्यूज
5 Shares

भालुवाङ। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय सरेपछि स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा चहलपहल बढ्न थालेको छ। स्थानीयहरू स्वतःस्फूर्त आ-आफ्ना घर वरिपरि, बाटोघाटो सरसफाइमा सक्रिय भएर लागेको राप्ती गाउँपालिका-३ का वडा अध्यक्ष उमेशकुमार अधिकारीले बताए।

‘मुख्यमन्त्रीको कार्यालय नै मेरो वडामा रहने भएकाले यो वडालाई चिटिक्कै पार्ने काम भइरहेको छ,’ अध्यक्ष अधिकारीले भने।

‘मुख्यमन्त्रीको कार्यालय सरेसँगै यहाँ सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति देखिएको छ,’ स्थानीय किशोर घर्तीले भने, ‘सवारी साधनको आवगमन बाक्लो भएको छ।’ दुई वर्ष दुई महिनाअघि प्रदेशसभाले यस क्षेत्रलाई प्रदेशको राजधानी तोकेको थियो। यसअघि यहाँ ३० वर्षदेखि प्राविधिक शिक्षालय अध्यापन भइरहेकोमा हाल शिक्षालयलाई करिब १४ किलोमिटर दक्षिण राप्ती पारी गढवा गाउँपालिकामा स्थान्तरण गरिएको छ।

साथै, शिक्षालय भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय व्यवस्थापनको काम भइरहेको प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारुले बताउनुभयो । विद्यार्थीलाई कुनै समस्या नहुने गरी काम गरिरहेको उनको भनाइ छ।

यहाँ साना र ठूला गरी २४ वटा भवन छन्। प्रदेशसभा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। प्रदेशसभा भवनमा हाल रङ्गरोगनलगायतका काम भइरहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए। उनका अनुसार प्रदेशका सबै मन्त्रालयलाई पुग्ने गरी पूर्वाधारको व्यवस्थापन भइरहेको छ। यसअघि दुई वटा मन्त्रालय पहिले नै स्थान्तरण भइसकेका थिए भने बाँकी मन्त्रालयको काम बुटवलबाटै भइरहेको थियो।

गत सोमबार मध्यराति प्रदेश मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय बुटवलबाट यहाँ सारिएको थियो। यही मङ्सिर ४ मा निर्वाचित भएका प्रदेशसभाका सांसदहरूको शपथ पनि यसै प्रदेशसभा भवनमै गराउने तयारी रहेको मुख्यमन्त्री कुलप्रसाद केसीले बताए। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्