एनआरएनएको पहलमा क्यानडा पढ्न आएका एक नेपाली विद्यार्थीको उद्धार

pic-udar
एनआरएनए क्यानडाका सदस्य ज्ञवालीको साथमा साहिल श्रेष्ठ
लोकपाटी न्यूज
7 Shares

शिशिर सिम्खडा/ टोरण्टो। पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरी नेपाल पठाइएको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बुद्ध पथ, भैरहवाका २३ वर्षीय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरी नेपाल पठाइएको हो।

पढ्न आएका श्रेष्ठले पढाईको अतिरिक्त आफूले सोचे जस्तो काम नपाएपछि डिप्रेसनमा पर्दै गएका थिए। करिब १ वर्ष अगाडि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आएका श्रेष्ठ डिप्रेसनमा पर्दै गएको उनीसँगै कोठामा बस्ने साथी सागर मानन्धरले जानकारी दिए। सुरुवातमा उनको व्यवहार राम्रो भए पनि पछि उनी डिप्रेसनमा पर्दै गएको उनले बताए।

उनले कोठा भाडासमेत तिर्न नसकेर समस्यामा परेको थाहा पाएसँगै एनआरएनए क्यानडाका कार्यसमिति सदस्य कमल ज्ञवालीले आइतबार दिउँसो ४ बजे श्रेष्ठको उद्धार गरेका थिए। एनआरएनए क्यानडाका कार्य समिति सदस्य ज्ञवालीले नेपालमा श्रेष्ठको परिवारलाई सम्पर्क गरी हिजो मङ्गलवार नेपाल पठाएका थिए। कतार एयरवेजमार्फत उनी आज बुधवार बिहान काठमाडौँ पुगेको ज्ञवालीले जानकारी दिए। श्रेष्ठको उद्धार गर्नको लागि क्यानडामा रहेका अजय कार्कीको सहयोग रहेको ज्ञवालीले बताए।

क्यानडा प्रहरीले श्रेष्ठलाई बेवारिसे अवस्थामा भेटेर सिबिक हस्पिटल, ब्राम्पटन पुर्‍याएको जानकारी पाए लगत्तै ज्ञवालीले उनको उद्धार गरी नेपाल पठाउन सफल भएको बताए। उनी आज (बुधवार)  बिहान ९ बजे नेपाल पुगेको र एयरपोर्टबाट उनको परिवारजनले भेटेर जिम्मा लिएको ज्ञवालीले जानकारी दिए।

क्यानडामा विद्यार्थीले काम पाउन मुस्किल छ : एनआरएनए क्यानडा

“क्यानडामा अहिले नेपाली नयाँ विद्यार्थीहरूको अवस्था अत्यन्तै भयावह छ। तपाई हामीले सोचेको भन्दा पनि धेरै“ , एनआरएनए क्यानडाका सदस्य कमल ज्ञवालीले भने। कलिला साना साना भाइ बहिनीहरू जसले नेपाल हुँदा खानासम्म बनाउन परेन। एउटा ठुलो सपना बोकेर नेपाल छोडी आएका छन्। यहाँ आइसकेपछि एकातिर कोठा भाडा, खानाको समस्या, कामको समस्या अर्को तिर नेपालबाट करिब २५ लाख रुपैयाँको ऋणको बोझ। बाबु आमाले बिहानै बेलुकी सोध्ने प्रश्न “काम पाइस् कि नाइँ”अर्को तिर कलेजको फी तिर्नुपर्ने दिन नजिकिँदै गर्दा क्यानडा आएका कतै तपाई हाम्रा छोरा छोरी भाइ बहिनी भान्जा भान्जी टाउको भरि यत्रो समस्या बोकेर हिँड्दा मानसिक समस्यामा त छैनन् रु उनीहरूलाई खाना खायो कि खाएन, पढाईको कत्तिको प्रेसर छ भन्ने सोध्ने गरौँ जागिरको तनाव नदिँउ, जागिर पाएपछि गर्छन् उनीहरूलाई झनै पिर छ आफ्नो भविष्यको, ज्ञवालीले भने।

एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले विद्यार्थीहरूका लागि क्यानडामा काम पाउन मुस्किल हुँदै गएको बताए। विद्यार्थी श्रेष्ठको समस्याबारे जानकारी हुनासाथ हामीले तत्कालै हाम्रा सदस्य कमल ज्ञवालीमार्फत उद्धारको पहल गरेका हौँ, उनले बताए। क्यानडामा विद्यार्थीलाई पूरा समय काम गर्ने अनुमति छैन, हप्ताको २० घण्टा मात्रै काम गर्न पाउने यहाँको सरकारी नियम छ उनले भने।

काम दिने कम्पनी अथवा संस्थाले पनि विद्यार्थीलाई काम दिन असाध्यै गाह्रो मान्छन्, पढाईको अतिरिक्त काम पाउन र गर्न पनि त्यतिकै गाह्रो छ अध्यक्ष दुलालले भने। करिब ५ महिना त यहाँ हिउँ पर्ने गर्दछ। समर सिजनमा केही काम पाउन सहज भए पनि क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीको चाप दिनदिनै बढेको कारण अभिभावकले विद्यार्थीलाई कामको र पैसा कमाउने प्रेसर नदिन अनुरोध समेत गरेका छन्।

यहाँको पढाइ सकेपछि भने विद्यार्थीले पढेअनुसार काम पाउन भने सजिलो रहेको एनआरएनए क्यानडाका अध्यक्ष दुलालले बताए। हामीले हरेक सिटी र प्रोभिन्समा रहेका एनआरएनएका कार्यसमिति तथा अग्रज साथीहरूलाई नेपाली विद्यार्थीहरूको समस्यामा साथ दिन र सक्दो पहलको लागि अनुरोध समेत गरिरहेका छौँ, उनले भने। बढ्दो विद्यार्थीको चापले काम पाउन कठिन भएको अध्यक्ष दुलालले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्