विश्व प्रणय दिवश : प्रेम दर्साउने फूल गुलाफ

लोकपाटी न्यूज
18 Shares

मनभित्र पालिराखेका भावनालाई अरूले देख्ने गरी आमने-सामने रहेर माया दर्साउने दिन हो प्रेम दिवश। भनिन्छ, यो संसार मायामा अडेको छ। कसरी अड्छ होला मायामा संसार अचम्म लाग्ने कुरा। कुराको चुरो खोज्दै जाँदा भने ती कुरा ठिकै लाग्दा रहेछन्। जसरी मायामा सम्बन्ध टिकेको हुन्छ, त्यसरी नै संसार सम्बन्धमा टिकेको हुन्छ। यो विश्व सम्बन्धले विकास गरेको विश्व हो। र, त यो विश्व, मायाले सिर्जना गरेको विश्व हो। वास्तवमा भन्नुपर्दा, यो विश्व मानव सभ्यताले सिँचिएको विश्व हो। त्यसैले प्रेमको साटासाट गर्ने यो दिन, विश्वभरका प्रेमीहरूको दिन हो यो। मानव सभ्यतामा प्रेमले जितेको दिन हो यो।

प्रेम दिवस (Valentine Day)लाई भ्यालेन्टाइनको सम्झनास्वरुप उनकै नामबाट मनाउने गरिन्छ। प्रणय दिवश आफैमा एक उत्सुकता दर्साउने रोमाञ्चक र महत्त्वपूर्ण दिनको रुपमा लिनेक्रम बढ्दो छ। यस दिन सधैँ भेट भएका वा भेट हुन नसकेकाहरू भेट भएर युवायुवतीले एक आपसमा प्रेम प्रकट गर्ने दिन हो। आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन हो। प्रेम सम्बन्ध स्थापित भएका प्रेमीप्रेमीकाको प्रेम अझ दरिलो र सुदृढ पार्न मद्दत पुर्‍याउने दिन। यति प्यारो दिन, विश्वभरि मान्यता पाएको प्रेम दिवसको प्रारम्भ र महत्त्वबारेमा प्रष्ट पार्ने प्रयास यस लेखमा गरिएको छ।

तेस्रो शताब्दीको अन्ततिरबाट प्रारम्भ भएको प्रेम दिवस, अहिले आएर विश्वभरि नै प्रसिद्ध भएको छ। आजको विश्वका युवायुवतीहरू प्रेम दिवसका दिनलाई एउटा उत्साहको दिनको रुपमा खुसीको दिनको रुपमा सम्झेर रमाउने गर्दछन्। विश्वव्यापी रुपमा मान्यता पाउँदै गरेको यो प्रणय दिवसले प्रेमको सार्थकता र उचाइलाई अझ बढी उचाइमा पुर्‍याउँदै लगेको छ भन्ने गरिन्छ।

प्रेम दिवसको प्रारम्भको इतिहासलाई फर्केर हेर्दा नारीसँगको सम्बन्धको कारण सुरक्षाकर्मीहरू कमजोर हुने र गोप्य सूचनाहरू बाहिर जाने डरले रोम सम्राट्ले प्रेम र विवाहमा रोक लगाए। सम्राट्को हुकुमको उल्लंघन गर्दै भ्यालेन्टाइनले थुप्रै सैनिक र प्रहरीलाई वैवाहिक सूत्रमा बाँधिदिए। हुकुम नमानेको भनि उनलाई सम्राट्ले मृत्युदण्ड दिए। रोमका एक जेलरकी छोरीसँगको प्रेममा पागल भएका भ्यालेन्टाइनले मृत्युदण्ड पाउनुभन्दा केही दिन अघि अन्तिम प्रेम पत्र लेखेका थिए।

भ्यालेन्टाइनको समाधि स्थलमा बनाएको स्मारिकामा मानिसहरूले गुलाफको फूल चढाएर श्रद्धाञ्जली अर्पण गर्दथे। किनकि त्यस बेला पनि गुलाफको फूललाई प्रेमको प्रतीकको रुपमा हेरिने गरिन्थ्यो। प्रेमका जोडीहरू मिलाउन र उनीहरूलाई विवाह बन्धनमा बाँधिदिँदा उनीहरूको प्रेमले विजय पाएको उनको तर्क थियो। यो पुण्य कामका लागि उनलाई दिएको मृत्युदण्डलाई उनले हाँसी हाँसी स्वीकारेका थिए। आज तिनै भ्यालेन्टाइनको सम्झनामा प्रेम दिवश मनाउने गरिन्छ। भ्यालेन्टाइनप्रति गुलाफको फूल दिएर श्रद्धाञ्जली दिने गरिन्छ।

उनलाई मृत्युदण्ड दिएको आजको दिन फेब्रुअरी १४ का अवसर पारेर प्रणय दिवश मनाउने गरिन्छ। यसै दिन पारेर हजारौँ युवायुवतीले प्रेम पत्र साटासाट गर्दछन्। अहिले पनि फेब्रुअरी १४ लाई विश्वभरि नै प्रेम दिवसको रुपमा मनाइन्छ। खास गरी आजका दिन विश्वभरका युगल प्रेमीहरू प्रेमपत्र आदान प्रदान गरेर, कार्ड तथा फूलहरू दिएर, इमेल इन्टरनेटको माध्यमबाट भावनाहरू साटासाट गरेर प्रेम दिवस मनाउँछन्।

हामीलाई थाहा भएकै कुरा हो, विक्षिप्तता, घृणा, हत्या, अन्याय, अत्याचार, युद्ध, धोका, दुःख, पीडा जस्ता नराम्रा कुराहरू प्रेमको अभावमा हुने गर्दछ। यसै कुरालाई मनन गरेर विश्व चर्चित व्यक्तित्व महात्मा गान्धी भन्छन्- ‘प्रेम भन्दा ठूलो बस्तु संसारमा अरू केही छैन। प्रेमले (मानव हित विरोधी क्रियाकलापमा लागेकाहरू (पापी)लाई पनि सुधार्छ। प्रेम त्यो हतियार हो जसको प्रयोगले शत्रु पनि मित्र बन्दछ। ‘साँचो अर्थमा भन्ने हो भने प्रेमले मानिसलाई नयाँ जीवन दिन्छ। यस कुरालाई महान् वैज्ञानिक, दार्शनिक, चिन्तनहरूले स्वीकारी सकेका छन्।

प्रेम भनेको आत्माको आवाज हो, यो कुनै बनावटी कुरा होइन। आजको विश्वमा उमेर पुगेका युवायुवतीहरू प्रेम संसारमा अनुशासित रुपमा लाग्नुलाई अन्यथाको रुपमा मान्नु हुँदैन। त्यसो त कलिलो उमेरका किशोर किशोरीहरूको बौद्धिकतामा आउन सक्ने कमीले गर्दा प्रेम वरदान नभएर अभिसाप पनि बन्न सक्दछ। कलिलो उमेरका किशोर किशोरीहरूले प्रेमभन्दा अध्ययनलाई नै अघि बढाउँदा उपयुक्त हुन्छ। तर उमेर पुगेका, अध्ययन पूरा गरेर बसेका युवा युवतीहरूलाई भने प्रेमको ठूलो महत्त्व छ।

प्रेमले युवा युवतीभित्र लुकेर रहेका अन्तर्निहित भावना र प्रतिभालाई प्रस्फुटित गरिदिन्छ। आफ्नो आनन्दमय जीवनलाई अगाडि बढाउँदछ। वयस्क अवस्थाका युवायुवतीबीचमा प्रेमको अत्यन्तै आवश्यकता छ। प्रेमले गर्दा नै मानिसको जीवन सफल हुन्छ। प्रेम नभएको दाम्पत्य जीवन असफल र अपूर्ण हुन्छ। वास्तवमा भन्ने हो भने प्रेम अद्भुत छ, यसमा एउटा सुन्दर प्रकृतिको खाकमा रहेको आनन्द लुकेको छ।

मानव जीवनका सम्पूर्ण सुखद अनुभूति प्रेमले नै दिने गर्दछ। मनका कुरा भन्न डराउने युवा युवतीहरू पनि प्रेम दिवसका दिन मन खोलेर प्रेम प्रस्ताव राख्ने गर्दछन्। उनीहरूलाई यो दिवशले आत्मविश्वास र हौसला प्रदान गरेको हुन्छ। आजको वैज्ञानिक विश्वमा प्रेम विवाहको महत्त्व निकै बढेको पाइन्छ।

जसरी प्रजातन्त्र प्रेमीहरूको लागि प्रजातन्त्र दिवस को महत्त्व छ, नारीहरूको लागि नारी दिवसको महत्त्व छ, त्यसैगरी प्रेमी प्रेमिकाहरूको लागि प्रेम दिवसको महत्त्व छ। फेब्रुअरी १४ का दिन विश्वभरका अरबौं युवा युवतीहरूले स्वच्छ, आत्माले आ-आफ्नै ढङ्गले प्रेम दिवस मनाउँदछन्। प्रेम दिवसले हामी युवा युवतीबीचको प्रेम मिलनमा कहिल्यै बिछोडको बादल नल्याओस्। हाम्रो यही कामना छ, …..धन्यवाद।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्