लुम्बिनीमा महराको नेतृत्वमा सरकार गठन गर्न दाबी प्रस्तुत

Jokha_Bahadur_Mahara
लोकपाटी न्यूज
0 Shares

लुम्बिनी। लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आजदेखि प्रक्रिया सुरु भएको छ। मुख्यमन्त्री डिल्ली चौधरीले बिहीबार प्रदेशसभामा राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आजबाट प्रक्रिया सुरु गरेको हो।

मुख्यमन्त्री चौधरीले पदबाट दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन्। नयाँ सरकार गठनका लागि सत्तारूढ दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन बहुमत प्रदेशसभा सदस्यले प्रदेश प्रमुख शेरचनसमक्ष दाबी प्रस्तुत गरेका छन्।

सत्तारुढ दलहरूले महराको नेतृत्वमा नयाँ सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका हुन्। सरकार गठनका लागि आज दाबी पेस गरे पनि प्रदेश प्रमुख शेरचनले महरालाई आइतबार सम्ममा मुख्यमन्त्री नियुक्ति गर्ने तयारीअनुसार प्रक्रिया थालेको बताए।

सरकार गठनका लागि आवश्यक बहुमत सङ्ख्या नेकपा (एमाले)का २९, माओवादी केन्द्रका १०, जसपाका तीन, नेकपा (एकीकृत समाजवादी) का एक र एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको हो।

माओवादीका महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपाका भण्डारीलाल अहिर, एकीकृत समाजवादीका दलका नेता भगवती अधिकारी र स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले बिहीबार सात बुँदे सहमति गरेका थिए। प्रदेश प्रमुख शेरचनसमक्ष दाबी पेस गर्न महरा, गिरीसहितका नेता पुगेका थिए। प्रदेश प्रमुख शेरचनले छिट्टै प्रक्रिया पूरा गरेर चैत २५ गते मुख्यमन्त्रीसहित मन्त्रिमण्डल बनाउने गरी अगाडि बढाउन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्