कर्णालीको विकासका लागि सबै जुट्नुपर्छ : मुख्यमन्त्री कँडेल

Yamlal_Kadel
लोकपाटी न्यूज
0 Shares

कर्णाली। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको विकास र समृद्धिका लागि सबै जुट्नुपर्ने बताएका छन्। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको तेस्रो अधिवेशनको सातौँ बैठकमा उनले प्रभावकारी संयोजनद्वारा मात्र जनताका आशा पुरा गर्न सकिने उल्लेख गरे।

मुख्यमन्त्री कँडेलले भने, ‘हिजो प्रश्न सोध्ने ठाउँबाट आज जवाफ दिने ठाउँमा आएको छु। जनअपेक्षा अनुसार विधेयक ल्याउनुपर्ने र केही निरूपण गर्नुपर्ने अवस्था छ। विगतको तरिकालाई सकेसम्म बदल्ने र रकमान्तर नगर्ने गरी बजेट ल्याउने कुरामा हामी सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्नै पर्दछ।’

यस पटकको नीति तथा कार्यक्रम र बजेट जनसरोकारसँग सम्बन्धित हुने मुख्यमन्त्री कँडेलको भनाइ थियो। व्यक्ति अनुकूलभन्दा संस्थागत विकासमा सहयोग पुग्ने बजेट ल्याउने कुरामा मद्दत गर्न आग्रह गर्दै उनले सन्तुलित विकासको अवधारणा अनुसार आवश्यकताका आधारमा बजेट वितरण र योजना छान्ने काममा सबै प्रदेशसभा सदस्यको सकारात्मक भूमिकाको खाँचो औँल्याए। बजेट तर्जुमा योजना निर्माण र वितरण गर्ने प्रक्रियालाई व्यवस्थित बनाएर लैजाने उनले बताए।

‘अब अलमल नगरी छिटोछरितो विकास योजना निर्माण गर्नुपर्दछ। कर्णालीमा विकासको सही संस्कृति स्थापित गर्दै लैजाने जिम्मेवारी काँधमा आएको छ। यसका लागि सबै सरोकारवालाको सहयोग समर्थन आवश्यक छ,’ मुख्यमन्त्री कँडेलले भने।