कोसीका नवनियुक्त मन्त्रीले लिए शपथ

koshi pradesh
लोकपाटी न्यूज
0 Shares

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँच मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेर कार्यविभाजन समेत गरेका छन्। मुख्यमन्त्री कार्कीले स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की, सामाजिक विकासमन्त्रीमा पाँचकर्ण राई, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा एकराज कार्की, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नारायणबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लीलाबल्लभ अधिकारीलाई नियुक्त गरेका छन्।

यसैगरी मुख्यमन्त्री कार्कीले सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको राज्यमन्त्री र बन्दना झाँगरलाई पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेका छन्। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीको मिति २०८१ जेठ ४ गतेको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम वैशाख २७ गते गठित मन्त्रिपरिषद्को कार्यविभाजन नियुक्ति, हेरफेर र कार्यविभाजनसहित शपथग्रहण गराएका छन्।

प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज साँझ मन्त्री कार्की, मगर, अधिकारी, कार्की र राईलाई पद तथा गोपनीयताको शपथग्रहण गराए। यसैगरी मुख्यमन्त्री कार्कीले राज्यमन्त्रीद्वय राई र झाँगरलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्। यसअघि बिनाविभागीय मन्त्री रहेका रामबहादुर मगरलाई आर्थिक मामिला तथा योजनामन्त्री र गणेशप्रसाद उप्रेतीलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा कार्यविभाजन गरेका छन्।

शपथग्रहण समारोहमा सभामुख अम्बरबहादुर विष्ट, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू लगायतका विभिन्न राजनीतिक दलका नेता एवं कार्यकर्ताको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्