नेपाल टेलिकमले ल्यायो थरी-थरीका आकर्षक प्याकेज

telecome offer
लोकपाटी न्यूज

काठमाडौं। नेपाल टेलिकमले जिएसएम मोबाइल तथा एफटिटिएच (फाइबर टु द होम)मा विभिन्न आकर्षक प्याकेज ल्याएको छ। प्याकेजअन्तर्गत सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजनाअन्तर्गत पाँच सय ९९ रुपैयाँमा कम्पनीकै नेटवर्कमा अनलिमिटेड अन-नेट भ्वाइस तथा अन्य नेटवर्कमा सय मिनेट कल गर्न सकिने (अफ-नेट भ्वाइस) प्याकेज उपलब्ध हुनेछ।

त्यसैगरी, सजिलो प्याकअन्तर्गत ६ सय ३६ रुपैयाँमा अनलिमिटेड अन-नेट भ्वाइस, एक सय ५० मिनेट अफ-नेट भ्वाइस तथा एक सय अन-नेट एसएमएसका साथै नौ जीवी डेटा सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ। यसका साथै सजिलो सात सय ९९ रुपैयाँको प्याकेजमा अनलिमिटेड अल-नेट भ्वाइस, ३० जीवी डेटा र एक सय ५० अन-नेट एसएमएस र नौ सय ९९ रुपैयाँको प्याकेजमा अनलिमिटेड अल-नेट भ्वाइस सेवा, ६० जीवी डेटा र २०० अन-नेट एसएमएस सेवा उपलब्ध हुने बताइएको छ।

कम्पनीले उच्च मात्रामा भ्वाइस तथा डेटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी सजिलो एक हजार चार सय ९९ रुपैयाँको प्याकेज र सजिलो एक हजार नौ सय ९९ रुपैयाँको प्याकेज पनि सञ्चालनमा ल्याएको छ। सबै प्याकेजहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ।

त्यस्तै, इन्डिया भ्वाइस कल प्याकेजअन्तर्गत ८० रुपैयाँमा एक दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने दुई सय ७० रुपैयाँमा सात दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुने बताइएको छ। त्यसैगरी, एफटिटिएचका विभिन्न प्याकेजलाई अझै ग्राहकमैत्री बनाएको कम्पनीको दाबी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्