‘जनगणना–२०७८’ को तयारी शुरु

Cencus01
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १६ माघ । राष्ट्रिय जनगणना–२०७८ को तयारी शुरु गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

राष्ट्रिय तथ्याङ्क परिषद्को ३३औं र राष्ट्रिय जनगणना राष्ट्रिय निर्देशक समितिको पहिलो बैठक संयुक्तरूपमा बसी जनगणनाका तयारीका बारेमा छलफल शुरु भएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको अध्यक्षतामा बैठक बसेर तथ्यगत विवरणमा राखिने सूचक र आगामी २०७८ मा हुने राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन निर्देशिका स्वीकृतिको आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

योसँगै जनगणना–२०७८ को तयारीका लागि कानूनी आधारको शुरूआत भएको विभागले जनाएको छ । विसं १९६८ देखि शुरु भएको जनगणनाको यो १२औं शृङ्खला हो । यस पटक सात प्रदेश, ७७ जिल्ला समन्वय समिति र ७५३ स्थानीय तहमा छलफल गरी त्यहाँबाट आएका विचारलाई समेट्ने विभागको तयारी छ ।

हालसम्म छ वटा प्रदेशमा छलफल भइसकेको छ । कर्णाली प्रदेशमा भने छलफल कार्यक्रम गर्न बाँकी रहेको जनाइएको छ । तथ्याङ्कलाई भरपर्दो र विश्वसनीय बनाउन स्थानीय तहका वडास्तरसम्म सहकार्य गरिने निर्देशक लामिछानेले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्