नयाँ युगतर्फ नेपाल–चीन सम्बन्ध

लाेकपाटी न्यूज
0 Shares

– हरि प्रकाश चन्द ‘अग्निपुन्ज’

नेपाली प्रधानमन्त्री के.पी. शर्मा ओलीको जून महिनामा सम्पन्न चीनको ६ दिने भ्रमणको क्रममा भएका केही महत्वपूर्ण सम्झौता, एम.ओ.यू. र ‘लेटर अफ एक्सचेन्ज’मा समावेश बुँदाहरुको कार्यान्वयन भएमा नेपाल–चीन सम्बन्ध नयाँ युगमा प्रवेश गर्ने विश्वास गर्न सकिन्छ ।

ओलीले गत मार्च २७ मा कुटनीतिक निकायका प्रतिनिधिलाई सम्बोधन गर्ने क्रममा नेपालको छिमेक नीतिबारे पहिलोपटक बोले । उनले भने, ‘हाम्रो राष्ट्रिय हितको सेवा, आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढ्दै हाम्रा समृद्धिका सपनाहरु पूरा गर्ने उत्कट अभिलाषाले छिमेकीसँगको हाम्रो व्यस्ततालाई मार्ग निर्देशन गर्नेछ ।’ ‘हामी हाम्रा छिमेकीहरू, भारत र चीनसँगको सौहार्द तथा मैत्रीपूर्ण सम्बन्धमा रमाउछौँ । आपसी विश्वास नै हाम्रो सम्बन्धको प्रमुख आधार हुनेछ’ ओलीले भने।

उनले छिमेक नीतिसँग सम्बन्धित रहेर ‘जीवन्त आर्थिक चालक’ (भाइब्रेन्ट इकोनोमिक ड्राइभ) को अवधारणा अगाडि सारे । यसपटक चीनसँग गरिएका सम्झौताहरु यसैतर्फ लक्षित देखिन्छन् ।

चीनसँग इतिहासमा भएका ऐतिहासिक सम्झौतामध्ये ओलीको यसपटकको भ्रमणको क्रममा ‘रेल कनेक्टिभिटी’मा भएको एम.ओ.यू. एक ऐतिहासिक कदम हो । दुवै देशहरूले उक्त सम्झौतालाई दुईपक्षीय सहकार्यको इतिहासमा सबैभन्दा महत्वपूर्ण पहलकदमीको रूपमा उजागर गरेका छन्, जसबाट ‘क्रस बोर्डर कनेक्टिभिटी’को नयाँ युग शुरु हुने आशा गरिएको छ ।

६० को दशकमा राजा महेन्द्रको शासनअन्तर्गत निर्माण भएको कोदारी राजमार्गले लामो समयदेखि भारत निर्भर र केन्द्रित नेपालको भू–राजनीतिलाई ‘सिफ्ट’ गरिदिएको थियो र काठमाडौँको परराष्ट्र मामला प्रष्ट रुपमा बहुपक्षीय सम्बन्धको विकासमा अघि बढेको थियो ।

कोदारी राजमार्ग निर्माणको झण्डै ६ दशकपछि चीनसँग भएको काठमाडौंसम्म रेल लिङ्क निर्माणको सम्झौता नेपाल नीतिको विविधिकरण र खुल्लापनमा दोस्रो उल्लेखनीय उपलब्धि हो । सम्झौताको सफल कार्यान्वयनपछि, ‘भयद्वारा निर्देशित नेपालको भू–रणनीतिक बाध्यता वा बिवशता’मा कमि आउनेछ ।

यस सम्झौताको आक्रामक कार्यान्वयनले आशातित रुपमा एक दशक भित्र काठमाडौँ केरुंगसँग जोडिनेछ । अर्कोतर्फ, भारतले पहिले नै काठमाडौंसम्म रेल लिङ्क निर्माण गर्न सहमति जनाइसकेको छ । यदि नेपाल सरकारले चीन र भारतसँग भएका ‘रेलवे’ सम्बन्धित सम्झौताको कार्यान्वयन गर्न सक्यो भने ‘ल्याण्ड कनेक्टिभिटी’मा मात्र होइन, छिमेकी देशहरुबीच प्रविधिमा हुन सक्ने आपसी सहकार्यमा समेत देश ‘जीवन्त आर्थिक चालक’ (भाइब्रेन्ट इकोनोमिक ड्राइभ) को एक महत्वपूर्ण भाग बन्नेछ ।

भारत ‘ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क’को ढाँचामा उत्तरबाट अघि बढ्ने रेल लिङ्कबारे केही हदसम्म सशंकित देखिन्छ । तर, नयाँ दिल्लीले यसलाई रणनीतिक कोणबाट भन्दा पनि यस उपक्षेत्रमा आर्थिक रुपमा ल्याउनुपर्ने समृद्धिको त्रिपक्षीय सहकार्यको रुपमा लिनु उचित हुन्छ ।

उत्तर र दक्षिणबाट आउने काठमाडौंसम्मको रेल लिङ्कको निर्माणपछि, यो दुवै छिमेकीको आपसी फाइदा, समृद्धि र एक–अर्काको आर्थिक बृद्धिमा योगदान गर्ने उत्कृष्ट मौका हुनेछ ।

नेपाललाई विश्वास छ कि ‘सी जिनपिंग थट’को दिशानिर्देशनमा ‘चिनियाँ विशेषतासहितको समाजवादी विचारधारा’ले समृद्ध, सशक्त, प्रजातान्त्रिक, सांस्कृतिक रुपमा उन्नत, सौहार्दपूर्ण र सुन्दर देश निर्माणमा महत्वपूर्ण योगदान गर्नेछ जसले चिनियाँ जनताको शताब्दी लक्ष्य हासिल गर्दै नयाँ युगलाई उदघाटित गर्नेछ ।

नेपालले मोदीको विकासको रणनीति ‘सबका साथ, सबका विकास’लाई पनि प्रशंसा गरेको छ । नेपालले यो पनि विश्वास गरेको छ कि भारत विकासको यही रणनीतिमा समृद्ध बन्नेछ । त्यस्तै, बेइजिङ र नयाँ दिल्लीले ओली सरकारको विकासको रणनीति ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्त गर्न सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्, ताकि नेपालको विकासको लक्ष्य प्राप्त गर्ने अभियान तिब्र बनोस् ।

यसरी, यदि तीनवटा देशहरूले आफ्नो विकासको लक्ष्य हासिल गर्न एकअर्कालाई सहयोग गरे भने ‘ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिविटी नेटवर्क’ अन्तर्गत ‘पारस्परिक समृद्धिको लागि ट्रान्स हिमालयन सहकार्य’को उदय हुनेछ ।

ओली भ्रमणको दौरानमा भएको अर्को मूख्य उपलब्धि भनेको नेपालमा हुने आयात र निर्यातको लागि चीनको स्वायत्त क्षेत्र तिब्बतको राजमार्गको उपयोग सम्बन्धि प्रोटोकलमा हस्ताक्षर पनि हो । यसको उपयोगद्वारा नेपालबाट चीनमा हुने निर्यात बढ्ने र बेइजिंगसँगको काठमाडौँको ब्यापार कम गर्न सकिने विश्वास गरिएको छ ।

नेपालद्वारा तिब्बत स्वायत्त क्षेत्रको राजमार्गको उपयोग तथा ‘उत्पादन क्षमता माथिको लगानी र सहकार्य’मा भएको एम.ओ.यू.को सफल कार्यान्वयन हुन सकेमा चीनसँगको नेपालको ब्यापार घाटा प्रचुर मात्रामा घट्नेछ ।

यसका अलावा, उर्जा सहकार्यमा भएको एम.ओ.यू. (आर्थिक तथा प्राविधिक सहकार्यमा भएको सम्झौता) र मानव संशाधन विकास सहयोगमा सम्झौता ओलीको भ्रमणको दौडान चीनसँग भएका अन्य महत्वपूर्ण सम्झौताहरू हुन् । अर्थतन्त्र, ब्यापार, लगानी, औद्योगिक क्षमता, भूकम्पपछिको पुनर्निर्माण र अन्य आपसी हितका क्षेत्रहरुमा हुने सहकार्यलाई थप मजबुत बनाउने समझदारीले पनि नेपाललाई फाइदा हुने विश्वास गर्न सकिन्छ ।

सम्झौताहरुको श्रृंखलाका बावजुद, ओलीले नेपाललाई नयाँ युगमा प्रवेश गराउन थप सम्झौताहरु गर्न सक्थे । यदि नेपाललाई पारबाहन सुविधाको प्रोटोकलमा हस्ताक्षर, चीनबाट तेल आयात गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर र केरुङ्गदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्मको रेल लिङ्कको निर्माणमा सम्झौता गरिएको भए नेपालको लागि नयाँ युग नजिकै हुने थियो ।

लेखक काठमाडौंस्थित विदेश नीति विश्लेषक हुन् ।

यो लेखक हामीले चिनियाँ सञ्चार माध्यम globaltimes बाट नेपाली अनुवाद गरेका हौं-सम्पादक।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्