बच्चा हुर्काउँदा आमा–बुबाले के–के गर्नुपर्छ ? (१८ टिप्स)

लाेकपाटी न्यूज
0 Shares

हरेक अभिभावकको चाहना हुन्छ, आफ्ना छोराछोरीले उन्नति गरून्, हरेक क्षणमा सफलता प्राप्त होओस्। तर, सबैको चाहना पूरा नहुन सक्छ। कुनै बालबच्चा हरेक कुरामा अगाडि हुन्छन् भने कुनै बालबच्चा सबै कुरामा पछाडि हुन्छन्। आफूले चाहेजस्तो छोराछोरीको प्रगति देख्न बच्चा हुर्काउँदादेखि नै आमाबुबाको भूमिका निकै महत्वपूर्ण रहन्छ।

आजको प्रतिस्पर्धी युगमा कुनै पनि व्यक्ति उच्च मनोबल, भावनात्मक रूपमा सबल, निडर समाजमा घुलमिल गर्न सक्ने, नेतृत्व क्षमता भएको बनाउन बच्चा जन्माउँदादेखि नै आमा–बुबा मानसिक रूपमा तयार छन् कि छैनन् भन्ने कुराले फरक पार्छ।

हाम्रो जस्तो संस्कार भएको समाजमा बच्चा जन्माउँदा आमाबुबा मानसिक रूपमा तयार भएको पाइँदैन। कुनै–कुनै समाजमा छोराछोरीमा अझै पनि विभेद हट्न सकेको छैन।

१) बच्चा जन्माउँदा मानसिक रूपमा तयार नहुँदा साना केटाकेटीहरू आधारभूत आवश्यकताको अभावमा हुर्कनुपर्ने हुन्छ। कहिलेकाहीँ आमाबुबाले बच्चाहरूलाई समय दिन सकेका हुँदैनन्। बच्चाहरूसँग बसेर उनीहरूका कुरा बुझ्ने समय आमाबुबासँग हुँदैन । त्यसले गर्दा पनि बच्चाको सानो दिमागमा ठूलो असर परिराखेको हुन्छ।

२) बच्चाहरूको विकास राम्रोसँग होओस् भन्ने चाहने हो आमाबुबाले साना नानीहरूलाई समय दिनुपर्छ। उनीहरूसँग बोल्दा आँखामा हेरेर कुरा गरिदिनुपर्छ। उनीहरूको कुरा सुनिदिनुपर्छ। तर, हाम्रो समाजमा आमाबुबालाई यो कुराको जानकारी छैन।

३) हिजोआज आमाबुबाले बच्चालाई भुलाउन मोबाइल, कम्प्युटर, ट्याब, दिइहाल्ने प्रवृत्ति छ। तर, निगरानी नगरी आफ्नै काममा लाग्दा सम्बन्ध बिस्तारै बिग्रँदै जान्छ।

४) बच्चा सानो छँदासम्म यो ठिक लाग्न सक्छ । तर, हुर्कंदै गएपछि बच्चाको स्वाभावमा परिवर्तन आउन थाल्छ। एक्लै बस्न मन पराउने र आमाबुबासँग कुरा नगर्ने हुन सक्छ। आमाबुबामध्ये एक जना काममा व्यस्त भए पनि अर्कोले बच्चालाई समय निकाल्ने, उनीहरूसँग कुरा गर्ने, कुरा सुन्ने गर्नुपर्छ।

५) बच्चा जन्मिएदेखि नै आमाबुबाले बच्चाको स–साना कुरामा ध्यान दिनुपर्छ। बच्चाहरूलाई बाहिरतिर घुमाउन लैजानुपर्छ। नयाँ–नयाँ कुराको बारेमा जानकारी दिँदा पछि गएर बच्चाहरू ती कुरामा जिज्ञासु बन्दै नयाँ कुरा खोजेर पढ्ने हुन्छन्। बच्चाले स्कुलमा के गरेको छ त्यो कुरामा आमाबुबाले ध्यान दिनुपर्छ। बेलाबेलामा बच्चाको स्कुलमा जाने र उनीहरूले गरेको प्रगति कस्तो छ त्यसको बारेमा बुझ्ने गर्नुपर्छ। मोबाइल, कम्प्युटरमा बच्चाहरूले केके हेरिरहेका छन्, ती कुरामा ध्यान दिनुपर्छ।

६) बच्चालाई हुर्काउन आमाबुबा दुवैको भूमिका महत्वपूर्ण हुन्छ। आमाको स्नेहले छोराछोरीलाई नम्र बनाउन सिकाउँछ भने सफल, मिजासिलो बनाउन बाबुको भूमिका महत्वपूर्ण हुन्छ। बुबाले छोराछोरी हुर्काउने क्रममा शारीरिक र मनोवैज्ञानिक दुवै किसिमको सहयोग पु-याउँछन्।

७) छोराछोरीका लागि आमा र बुबा दुवैको बराबर स्याहार र ममताको आवश्यकता हुन्छ। दुई जनाको सन्तुलित स्याहारले मात्र छोराछोरी बलियो, निडर र समाजसँग घुलमिल हुन सक्ने सीप बढाउँछ। छोराछोरीले हरेक क्षण आफ्ना आमाबुबाबाट केही न केही सिकिराखेका हुन्छन्, त्यसैले आफ्ना बच्चालाई कस्तो कुरा सिकाउने त्यो आमाबुबामा भर पर्छ।

८) हिजोआज बच्चा हुर्काउँदा एक जनाले मात्र हुर्काउने र अर्को वैदेशिक रोजगारमा या बाहिर जागिरको सिलसिलामा जाने गर्छन्। यस्तो समस्याले बच्चाहरूलाई भावनात्मक समस्या आइराखेको हुन्छ। उनीहरू एकलोपन महशुस गर्ने र सधैं एक्लै बस्न मन पराउने खालका हुन्छन्। आमाबुबा एक जनाले मात्रा बच्चाका सबै आवश्यकता पूरा गर्न नसक्ने हुनाले बच्चाहरू पछि गएर कुलतमा फस्ने सम्भावना पनि उत्तिकै हुन्छ।

९) बच्चाहरूलाई जसले हुर्काएको छ, ऊसँगै बढी घुलमिल र आत्मीयता हुने गर्छ। कतिपय आमाबुबाले बच्चाले झगडा गर्यो भनेर सुधार्ने नाममा आफूबाट टाढा होस्टल राख्ने गर्छन्। यसो गर्दा आमाबुबासँग उनीहरूको आत्मीयता कम हुँदै जान्छ र सम्बन्ध पनि बिस्तारै पातलो हुँदै जान्छ।

१०) साना बच्चाहरू जिज्ञासु हुन्छन्। हरेक क्षण उनीहरूमा नयाँ कुरा सिक्ने जिज्ञासा हुन्छ। त्यस्तो बेलामा आमाबुबाले उनीहरूको हरेक जिज्ञास मेटाउनुपर्छ। उनीहरूले सोधेका हरेक कुराको उत्तर दिनुपर्छ।

११) बच्चाहरू सुत्ने बेलामा ओछ्यानमा कथा, कविता सुन्न मन पराउने हुन्छन्, त्यसो गर्दा उनीहरूको भावनात्मक विकास तीव्र रूपमा हुन मद्दत गर्छ। यस्तो कुरा सिकाउँदा पछि गएर अभिभावक बन्दा आफ्ना बच्चाहरूलाई पनि यस्तै कुरा सिकाउँछन्।

१२) बच्चाहरूलाई आफ्नो दुःख, व्यस्तता, कठिनाइ कहिले पनि देखाउन हुँदैन। आफ्नो तरिकाले हल गरेर बच्चालाई हुर्काइयो भने उनीहरूमा सकारात्मक सोचको विकास हुन्छ।

१३) माया–ममता, प्रशंसा, प्रोत्साहन, प्रेरणा, हिंसारहित वातावरणमा हुर्काउने हो भने बच्चामा कुनै पनि शिक्षाको तीव्र रूपमा विकास हुन्छ।

१४) बच्चालाई घरभन्दा वरिपरिको वातावरणमा पनि घुलमिल हुन दिनुपर्छ। आफ्नै घरआँगनमा खेलून् भनेर सोच्नु हुँदैन। घरबाहिर जाँदा साथीभाइ तथा अन्य अग्रजसँग उनीहरूले घुलमिल हुने र सिक्ने मौका पाउँछन्। साथीहरूसँगको संगतमा जुन शिक्षा र खुसी पाउँछन्, त्यसले उनीहरूलाई सकारात्मक प्रेरणा दिन्छ।

१५) हामीले स्कूलका किताबबाट सिकेको मात्र शिक्षा हो भन्ने सोच्छौं । तर, त्यस्तो होइन। बच्चाले आफ्नो जीवनमा लिने शिक्षा पनि त्यत्ति नै महत्वपूर्ण हुन्छ। बच्चाले आफ्नो परिवारका सबै सदस्यसँग अन्तरक्रिया गर्दै हुर्कने मौका पाउँछ भने त्यो निकै महत्वपूर्ण अवसर हो।

१६) हरेक खालको पोषणका साथै बच्चाहरूलाई समयमै खानपान र निद्रा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। बच्चाको विकासमा खानेकुराको धेरै महत्व हुन्छ। उनीहरूको विकासमा सबैखाले न्युटेसन जरुरत हुन्छ। त्यसैले बच्चालाई चाहिने मात्रामा न्युटेसन पुगेको छ कि छैन भनेर ध्यान दिनुपर्छ। तर, जंक फुडबाट भने बच्चाहरूलाई सानैदेखि टाढै राख्नुपर्छ।

१७) सधैं भरसक एकै समयमा सुताउने बानीको समेत विकास गराउनुपर्छ। ८ देखि ९ बजेसम्म बच्चाा सुत्ने हो भने बिहान ६ बजेसम्ममा उठ्न सक्ने हुन्छन्।

१८) कुनै सानोतिनो गल्ती गरेको अवस्थामा बच्चााहरूलाई गाली गर्नु भनेको उनीहरू आमाबाबुबाट झन् टाढिनु हो। यस्तो बेला हप्काउने, थर्काउनेभन्दा पनि मायाले सम्झाइबुझाइ गर्नुपर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्