‘सेक्टर–काण्ड’ र कमरेड प्रचण्डसँग त्यो भेट

Shrikrishna adhikari
‘गिरफतार परियो भने के भनेर बयान दिने ? हामीले हानेको हो छापामार युद्ध सुरु भयो भन्ने कि नभन्ने ?’ गिरफ्तार परेको खण्डमा यातना मात्र होइन, हामी मर्न पनि सक्थ्यौं, आफूले स–गर्व गरेको काम र आफ्नो परिचयबिना नै मर्नु पर्ने हो कि ? योजनाको ब्रिफिङपछि यी प्रश्न मनमा उठ्नु अस्वाभाविक थिएन ।
लाेकपाटी न्यूज
0 Shares

श्रीकृष्ण अधिकारी ‘विवेक’

२०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनावको चर्चा चल्दै थियो । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (मशाल) चुनाव बहिस्कारको तयारीमा थियो । त्यतिबेला देशमा तत्कालीन निरङ्कुश राजतन्त्रको छत्रछायाँमा फासिष्ट पञ्चायती व्यवस्थाले देशव्यापी दमन र धरपकड चलाइरहेको थियो । देशमा पञ्चायती व्यवस्थाका विरुद्ध एउटा सशक्त प्रकारको क्रान्किारी आन्दोलनको आवश्यकता थियो ।

पार्टीहरु सबै प्रतिबन्धित अवस्थामा थिए । म त्यतिबेला पेशाका हिसाबले रिक्सा मजदुर थिए । अखिल नेपाल ट्रेड यूनियन काठमाडौं जिल्ला सदस्य, पार्टीको सेल सदस्य र अखिल नेपाल युवक संघको इकाई सचिव थिए । त्यतिबेला क. यानप्रसाद गौतम (आलोक), क. बिनोद बानिँया र म, नरदेवीमा ‘देसैमरु झ्या’को अपोजिट भित्रपट्टी महर्जन थर भएका एकजना नेवार दाइको पूरानो घरको दुई तलामाथि एउटा सानो कोठा भाडामा लिएर बसेका थियौं ।

पार्टी प्रतिबन्ध भएकाले हामी भूमिगत थियौं । यानप्रसाद गौतम (आलोक) विद्यार्थी र बिनोद बानिँया र म पेशाले मजदुर भएर आफ्नो परिचय घरबेटीलाई गराएका थियौं । चुनाव नजिक आइरहेको थियो । चुनावी चहलपहल चल्न सुरु भइसकेको थियो । पार्टीले चुनाव बहिस्कार गर्ने निणय गरेको कुरा यानप्रसाद गौतम (आलोक) ले हामीलाई सुनाउनुभयो ।

त्यतिबेला योजना साप्ताहिक प्रकाशित हुन्थ्यो । म रिक्सा चलाउनका साथसाथै ‘योजना पत्रिका’ टोल टोलमा कराउँदै बेच्ने हल्काराको काम पनि गर्थें । दिनभरि रिक्सा चलायो रातभरि पार्टीको योजनाअनुसार चुनाव बहिस्कारको काममा लागिन्थ्यो । भित्ते लेखन, पोष्टर टास्ने र पर्चा छर्ने काम हामी टिमवद्ध रुपमा प्रहरीको आँखा छलीछली छापामार ढङ्गले गथ्र्यौं । बिहान उठ्दा शहरैभरि जताततै पर्चा पोष्टर र नाराहरु छपक्कै भएको देखेर प्रहरी जिल्ल पर्थे । प्रहरीको काम दिनभरि पोष्टर उप्काउनु र वालपेन्टिङ मेटाउनु हुन्थ्यो । हाम्रो काम रातभरि उही काम दोहोर्याउनु हुन्थ्यो । यसरी प्रहरी र हाम्रो दोहोरो लुकामारी चल्थ्यो ।

पार्टीले चुनाव बहिस्कारको उच्चतम् कार्वाही सशस्त्र छापामार प्रतिरोध आक्रमण गर्ने निर्णय गरेको रहेछ । नेतृत्वमा नेपाल कम्युनिष्ट (मशाल) को महामन्त्री क. मोहन वैद्य ‘किरण’ हुनुहुन्थ्यो । क. अमोघ नामबाट उहाँलाई हामी चिन्ने गथ्र्यौं । त्यतिबेला पार्टीको बागमती क्षेत्रीय ब्यूरो ईञ्चार्ज क. देवप्रसाद गुरुङ हुनु हुँदोरहेछ । यानप्रसाद गौतम ‘आलोक’ले हामीलाई क. दिनेश शर्माको कोठा महावौद्धमा ‘पार्टीले बहिस्कारलाई क्लाइमेक्समा पुर्याउन फौजी कार्वाही गर्ने निर्णय गरेको छ’ हामी त्यो कार्वाहीमा सहभागी हुँदैछौं’ भनेर सुनाउनु भयो ।

पार्टीले मेरो लडाकु स्वाभाव बुझेर मलाई एक्सन टीममा सहभागी गराउने निर्णय गरेको रहेछ । असन, इन्द्रचोक, नरदेवी, क्षेत्रपाटी, सुनधारा र मैतीदेवी प्रहरी सेक्टरमा एकसाथ आक्रमर्ण गर्ने योजना बनेको रहेछ । कार्वाहीमा छानिएका पार्टी नेता कायकर्तामा क. यानप्रसाद गौतम ‘आलोक’, क. तोयानाथ थपलिया, क. दिनेश शर्मा, क. दीपक महत, क. दीपक नेपाल, क. तीर्थ गौतम, क. ज्ञानबहादुर थापा, क. बिनोद बानिँया, क. लोकप्रसाद भुर्तेल, क. नारायण तिवारी, क. यादव पाठक लगायत हामी विद्यार्थी र मजदुर साथीहरु छानिएका रहेछौं । त्यतिबेला कार्यक्रमहरु छापामार ढङ्गले सम्पन्न गर्नुपर्ने हुन्थ्यो । प्रहरीसँग लड्न–भिड्न र भाग्न सिपालु विद्यार्थी र मजदुरभित्र छानिएका लडाकुहरुको अग्रभागमा म पनि एक थिएँ । कुनै पनि कार्यक्रममा अग्रभागमा सरेर पहलकदमी लिइन्थ्यो र कार्यक्रम सफल बनाइन्थ्यो । तिनै साथीहरुमध्ये त्यो एक्सनका लागि छानिएका रहेछौं हामी ।

कार्यक्रममा सहभागिताको कुराले मलाई खुसी, कौतुहलता र डर पनि एकैसाथ पैदा भएको थियो । खुसी यस मानेमा थिएँ, ‘प्रतिक्रियावादी वर्गसँग सशस्त्र बल प्रयोगको भूमिकामा सहभागी हुन पाउने अवसर मिलेको थियो ।’ कौतुहलता यस अर्थमा थियो कि यसपछिको कार्वाही के हुन्छ होला ? पार्टीले हामीलाई यतिक्कै साबिककै जसरी बस् भन्ला कि निरन्तर फौजी कार्वाहीका लागि अगाडि बढाउला ? डर यस अर्थ थियो कि ‘गिरफतार परियो भने के भनेर बयान दिने ? हामीले हानेको हो छापामार युद्ध सुरु भयो भन्ने कि नभन्ने ?’ गिरफ्तार परेको खण्डमा यातना मात्र होइन, हामी मर्न पनि सक्थ्यौं, आफूले स–गर्व गरेको काम र आफ्नो परिचयबिना नै मर्नु पर्ने हो कि ? योजनाको ब्रिफिङपछि यी प्रश्न मनमा उठ्नु अस्वाभाविक थिएन ।

इतिहासमा त्यतिबेलाको ‘सेक्टर–काण्ड’ कम्युनिष्ट आन्दोलनमा अपरिपक्वताको परिचय थियो । योजनाबिहीन हचुवा प्रकारको दुस्साहसपूर्ण निर्णय थियो । प्रहरीमाथि हमला गर्ने त्यत्रो निर्णय गर्दैगर्दा आक्रमणपछि पर्ने असर, त्यसबाट उत्पन्न हुने परिणाम र दमनको सामना कसरी गर्ने, नेता कार्यकर्ता र आन्दोलनको रक्षा कसरी गर्ने ? कुनै योजना नेतृत्वसँग थिएन । रोमान्टिक प्रकारका लाग्ने घटना सामेल भएर नेतृत्वको क्रान्तिकारिता बचाई दिनुपर्ने बाध्यताजस्तो बनेको थियो ‘सेक्टर–काण्ड’ ।

छापामार युद्धको निरन्तरताका लागि लागि सेक्टर आक्रमण सुरुवातको कार्यक्रम थिएन । चर्चामा आउन एउटा आत्मघाती कदम थियो त्यो घटना । अपरिपक्व निर्णय, जसले प्रतिक्रियावादी शासकलाई उत्तेजित पारेर बिना प्रतिरोध आफूलाई तितरबितर पार्ने केटाकेटी काम भएको थियो सेक्टर काण्डमा । एक्सनपछि आउनसक्ने रिएक्सन कस्तो हुन्छ ? त्यसपछिको योजना के हुन्छ ? कार्यकर्ताको रक्षा कसरी गर्ने ? संगठनको रुप कस्तो बनाउने ? भन्ने कुरामा ठोस योजना थिएन । तर पनि पार्टीले चुनाव बहिस्कारलाई उत्कर्षमा पुर्याउन गरेको निर्णयको स्वागत गर्दै निरन्तरताको योजनाबिना यो दुस्साहसपूर्ण हुन्छ, यसले पार्टीलाई क्षति पुर्याउँछ, निरन्तरताको योजना हुनपर्छ भन्ने सुझाव दिने काम भयो ।

निर्णय भइसकेको अवस्थामा निर्णय कार्यान्वयनमा लाग्नुभन्दा अरु उपाय हामीसँग थिएन । पार्टीले गरेको निर्णय सफल पार्न कार्यक्रमको तयारीमा लाग्यौं । हाम्रो भागमा असनको प्रहरी बिट परेको थियो । प्रहरी बिटमा भित्र एक जना प्रहरी मात्र बस्न मिल्नेगरि फलाम र सिसाले बनाएको थियो हुन्थ्यो । हाम्रो टीममा दिनेश शर्मा, कुमार थापा, बिनोद बानिँया र म थियौं । हाम्रो टीमको कमाण्डर दिनेश शर्मा हुनुहुन्थ्यो । बिहानको ठीक चार बजे हमला गर्ने, प्रहरीलाई केही नगर्ने । प्रहरीलाई बाहिर निकालेर सेक्टर तोडफोड गर्ने र नारा लगाउँदै भाग्ने भन्ने कार्यक्रम बन्यो । नारा थियो, ‘निरङ्कुश राजतन्त्र – मूर्दावाद ! फासिष्ट पञ्चायती व्यवस्थाको राष्ट्रिय चुनाव – बहिस्कार गरौं ! पुलिस दमन – मूर्दावाद ! नेकपा मशाल – जिन्दावाद ! नयाँ जनवादी क्रान्ति – जिन्दावाद ! आदि ।

२०४३ साल वैशाख १४ गते त्यस दिन हामी दिनभर लुकीछिपी रष्ट्रिय जनवादी मोर्चाको नाममा पर्चा छर्ने र चन्दा उठाउने काममा लाग्यौं । बेलुका साझ, विष्णुमतिको किनारमा गई झोलामा ढुङ्गा जम्मा गर्ने र कवाडी पसलमा गएर रड, डण्डी जम्मा गरियो । बेलुका महावौद्धमा रहेको क. दिनेश शर्माको कोठामा बसियो । कार्यक्रम एक्स्पोज होला कि भनेर हामी एकदम नै सर्तक थियौं । रातभरि म निदाउन सकिनँ, मनमा अनेक कुरा खेलिरहे ।

बिहानको ३.३० बज्यो । दिनेशजीले हामीलाई उठाउनु भयो । बाहिर कुकुर भुकिरहेको थियो । त्यो दिन मात्र होइ,न हाम्रा प्रायः कार्यक्रममा भुस्याहा कुकुरले हैरान पार्थे । कुकुर भुक्दै थिए । ज्ञान बहादुर थापा ‘कुमार’ले झोलामा पाउरोटीका केही टुक्रा बोक्नु भएको रहेछ । त्यो टुक्रा भुक्दै गरेका कुकुरतिर फालिदिनुभयो । उनीहरुको ध्यान पाउरोटी खानतिर गयो । समय ४ बजे चयन गरिएको थियो । हामी किलागड हुँदै गस्ती प्रहरीको गतिविधि नियाल्दै असन चोकमा पुग्यौं । परिस्थिति सामान्य थियो । बिहानपखको निन्द्राले होला, हामीले आक्रमण गर्ने बिटभित्र प्रहरी जवान बिना हलचल शान्तपूर्वक बसेको देखिन्थ्यो । सायद निदाएका थिए होलान् ।

अन्नपूर्णको मन्दिरमा एकजना बुढा ‘ज्यापु दाइ’ घण्टी बजाउँदै थिए । घण्टीको आवाजसँगै बिटभित्रको प्रहरी जवान खोक्दै गर्दै चल्मलाउँदै थिए । घडीमा ४ बज्यो, घण्टाघरको घण्टीले ट्याङ्ग ट्याङ्ग गर्दै थियो । हाम्रो कमाण्डर दिनेशजीले इशारा गर्दै अगाडि बढ्न भन्नुभयो । हामी मन्दिरको कभर लिएर बिटको नजिक पुग्यौं । दिनेशजीले कासन गर्नुभयो, ‘ठोक् ।’ म, क. बिनोद र क. ज्ञान बहादुरको हातमा फलामको डण्डी थियो । हामीले एकैपटक रड उठाएर झम्टिएको देखेर प्रहरी जवान एकै श्वासमा बाहिर निस्किएर ‘हुँहुँहुँ’ गर्दै भोटाहिटीतिर दगुरे । हामीले भटाभट रड्ले हानेर पुलिस सेक्टरलाई ‘कच्याक्य–कुचुक’ पार्यौं र ५ मिनेटभित्रै नारा लगाउँदै महावौद्धतिर फकियौं ।

परिस्थितिलाई नियाल्दै हामी बाँडिएर सेल्टर लिन पुग्यौं दिनेशजीकै कोठामा । त्यो दिन हामी दिनभरि कर्तै निस्किएनौं । बाहिर पूरै आतङ्ग छाएको रहेछ । क्षेत्रपाटी, नरदेवी र सुन्धारको बिटमा पनि साथीहरु ठीक चार बजे नै हमला गर्नुभएछ । प्रहरीमाथि आक्रमण भएन । तर, हाम्रो आक्रमणले चारवटै पुलिस बिट क्षतिग्रस्त भए । हामी सबै बिना क्षति फर्कियौं ।

घटनाको हल्ला शहरभरि फैलियो, प्रहरी गस्ती बढ्यो । हामी तितरबितर भयौं, सेल्टरहरु चेञ्ज गरियो । विद्यार्थी साथीहरुको कोठामा प्रहरीले छापा माने, धरपकड गर्ने, पक्रिन, यातना दिने अभियान सुरु गर्यो । नेतृत्वले काठमाडौं छोड्नुपर्ने परिस्थिति आयो । पार्टीका महामन्त्री क. किरण गिरफ्तार हुनबाट ‘बाल–बाल’ बच्नुभयो । कार्वाहीमा सहभागी भएका साथीहरु क. तोयानाथ थपलिया, क. दीपक महत, क. ज्ञान बहादुर थापा, क.उदय नेपाल, क. जनक अधिकारी लगायतका दर्जनौं साथीहरु गिरफ्तार पर्नुभयो । एक्सनमा सहभागी साथीहरु काठमाडौंमा कोही पनि टिक्न नसक्ने परिस्थिति बनेपछि बचेका कमरेडहरुले भ्याली छाड्ने निर्णय पार्टी नेतृत्वले लियो ।

म बसेको ठाउँमा आएर यानप्रसाद गौतम ‘आलोक’जीले भन्नुभयोे, ‘तपाई पार्टीको जिम्मेवार नेता हुनुहुन्छ, क. विश्वासजीसँगै चितवन जाने कुरा भएको छ । राम्रोसँग उहाँले राखेको ठाउँमा अनुशासित भएर बस्नुहोला, लगाएको काम गर्नुहोला । क. विश्वासलाई मैले देखेको सुनेको थिइनँ । पार्टी नेताहरुमध्ये मैले त्यतिबेला क. किरण, क. देव गुरुङ्ग, क. बाचस्पति देवकोटा, क. असारे काका, क. यानप्रसाद गौतम र क. दिनेश शर्मालाई मात्र चिनेको थिएँ ।
भोलिपल्ट बिहान ९ बजेतिर म बसेको नरदेवीको कोठामा गोरो पातलो, जुल्फी कपाल कोरेको र चिटिक्क जुङ्गा भएको हट्टाकट्टा जोसिलो र हसिलो मान्छे बाहिर ढोकामा देखा परे । आलोकजी जुरुक्क उठेर ढोकातिर जानुभयो ।

मेरा लागि ती नौला मान्छेले आलोकजीलाई बिस्तारै के–के भन्नुभयो, मैले भित्रबाट बुझिनँ । ‘हिड्ने बेला भयो, मसँग जाने कमरेड उहाँ नै हो ?’ भनेको कुराचाहिँ प्रस्ट सुनें । अनुमान गरें, ‘क. विश्वास उहाँ नै हुनुहुँदो रहेछ क्यारे ।’ उहाँसँग हात मिलाउन हतारिएको थिएँ म । उहाँले हल्का मुस्कानसहित मसँग हात मिलाउनुभयो । मेरो हात मिलाइको तरीका जोसँग पनि कसिलो हुन्थ्यो । विश्वास अर्थात् नेपाली क्रान्तिका नायक क. पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पहिलोपटक हात मिलाउने अवसर मिल्यो ।

क. विश्वासले फूर्तिसाथ हात मिलाउनु भयो । भूमिगत कालमा सुरक्षाको दृष्टिबाट आवश्यकताभन्दा धेरै नेताहरुको ‘सोध–खोज’ नगर्ने नीति थियो । मैले क. विश्वासका बारेमा धेरै ‘सोधी–खोजी’ गरिनँ । पार्टी काममा सरिक हुन उहाँसगै भ्यालीबाहिर जाँदै थिएँ । क. विश्वासको पछिपछि कलङ्कीबाट ट्रकमा नारायणघाटका लागि रवाना भए म । पार्टी काममा पहिलोपटक भ्यालीबाहिर जान पाएकोमा मख्ख थिए । बाटोमा राजनीति र संगठनका विषयमा त्यति ‘सोध–खोज’ गर्न मिल्दैनथ्यो । हामी चढेको ट्रकमा चितवनका मानिसहरु रहेछन् । क. विश्वासले चिने–जानेका मनिसहरु पनि रहेछन् ।

क. विश्वास समाज विकास लगायतका व्यवहारिक कुरा र सरसल्लाह गर्दै हिंड्नुभयो । उहाँले बोलेका शब्दहरुमा नम्रता, विश्वास र दृढता पैदा हुन्थ्यो । ती मान्छेहरु उहाँको कुराबाट मोहित भइरहेका थिए । चितवनसम्मको यात्रा रमाइलो भयो । म चुपचाप वहाहरुको कुरा सुनिरहेको थिए । क. विश्वास बोलीचालीमा मिठास, सहयोगी भावना, फरासिलो, फुर्तीलोपन, सरलताको हाउभाउ थियो । म उहाँबाट प्रभावित थिएँ ।

त्यतिबेला पूर्णकालिन कार्यकर्ताहरु शारीरिक श्रम गरेर नै दैनिक खर्च जुटाउने र पार्टी लेबी तिर्ने गर्थे । म भर्खर कार्वाहीमा सहभागी भएर भूमिगत काममा चितवन आएको थिएँ । तर, स्वाभाव अलि खुला रुपमा बोल्न, हिंड्न मनपर्ने खालको थियो । चितवनमा म ज्यामी काम र खेत खन्ने काममा सरिक भए । श्रमप्रति क. विश्वास आफै श्रम गर्न अत्यन्तै जाँगरिलो हुनुहुँदोरहेछ । पहिलोपटक मैले चिनेको आदरणीय क. विश्वाससँगको केही दिनको बसाइमा हरेक हिसाबले अलि फरक भरोसायोग्य लगन, निष्ठा र गतिशील नेता हुनुहुँदोरहेछ भनेर जान्ने जुन अवसर मिल्यो ।

आज पनि म उहाँलाई त्यही रुपमा पाउँछु । भरोसा, विश्वास, दृढता, निष्ठा र इमान्दारितामा आजभन्दा ३२ वर्षअगाडि मेरो पहिलो प्रभाव परेको क. विश्वास अर्थात् प्रचण्ड आज जनयुद्ध, शान्ति, संविधान, मेरो नजरमा विकास, समृद्धि र समाजवादको सङ्कल्पसहित अघि बढ्नुभएको छ । प्रचण्डमा इमान्दारिता, लगन र निष्ठामा उत्तिकै प्रभाव, भरोसा र विश्वास छ । क. प्रचण्ड असाधारण जोखिम, छलाङ, दृढता, विश्वास र इमान्दार नेताका रुपमा क्रियाशील हुनुहुन्छ ।

नेपाली कम्युनिष्ट आन्दोलनमा साहसिक तर, परिमाणतः दुस्साहसपूर्ण ‘सेक्टर–काण्ड’को घटना पार्टीले समीक्षा गर्याे । नेतृत्वबाट भएका कमजोरी एकिन गर्यो । ‘सेक्टर–काण्ड’मा भएको कमजोरीको निम्मेवारी पार्टीको मुख्य नेतृत्वले लिने निर्णयसहित सबै एक तह तल झर्ने निर्णय भयो । तत्कालीन ने.क.पा. (मशाल) को विस्तारित भेलाबाट क. ‘विश्वास’ अर्थात् प्रचण्ड पार्टीको महामन्त्री चुनिनुभयो ।

सारतः २०४३ सालको ‘सेक्टर–काण्ड’ तत्कालीन रुपमा बिना तयारीको नकरात्मक परिघटना हुन पुग्यो । तर, त्यसले दीर्घकालीन हिसाबले सशस्त्र जनक्रान्तिको परिपक्व विचार निर्माण गर्न र दीर्घकालीन जनयुद्धको राजनीतिक कार्यदिशा विकासका लागि एउटा ऐतिहासिक शिक्षा बन्यो । नेपाली क्रान्तिको नेतृत्व विकासमा प्रचण्डजस्तो कुशल र बहुप्रतिभाशाली व्यक्तित्व अगाडि ल्यायो । तसर्थ, ‘सेक्टर–काण्ड’ तात्कालीन दृष्टिले दुस्साहसपूर्ण घटना भए पनि नेतृत्व हस्तान्तरण र विकासका दृष्टिले महत्वपूर्ण रह्यो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्