विप्लव कमरेड ! ‘तपाई बवार्दीको बाटोमा हुनुहुन्छ’ (खुला–पत्र)

Ramdeep Acharya
लेनिनले शान्ति, रोटी र जमीनको नारामा प्रथम विश्व युद्धको र जारशाहीको धज्जी उडाएको जम्मा एक शताब्दी मात्रै भएको छ। माओले स्वाधीनता र शान्तिकै लागी च्याङकाइसेकसँग सम्झौता गर्नुभएको जग जाहेर नै छ। जबसम्म उसले सम्झौता तोडेन, माओ आफू प्रतिबद्ध नै हुनुहुन्थ्यो।
लाेकपाटी न्यूज
0 Shares

रामदीप आचार्य

विप्लव कमरेड अभिवादन,

पछिल्लोपटक तपाईले जारी गर्नुभएको विज्ञप्ति पढ्ने अवसर मिल्यो। तपाईंको वक्तव्य जुन माध्यमबाट मैले प्राप्त गरे त्यही माध्यमबाट यो पत्र तपाईंले पाउनु हुनेछ भन्ने म आशा गर्दछु। तपाईको विज्ञप्ति र राजनीतिक कार्यदिशासँग सम्बन्धित रहेर केही कुरा उल्लेख गर्न चाहन्छु।

१. तपाईंले नेतृत्व गरेको नेकपामाथि प्रतिबन्धको जुन प्रसङ्ग छ, कम्तिमा राजनीतिक रुपमा म त्यसको विरोध गर्दछु र तपाइहरुसँग राजनीतिक नै व्यवहार गरियोस् भन्ने अपेक्षा गर्दछु। तपाईं पचाउनु हुन्छ भने म तपाईसँग क्रान्तिका केही आधारभूत सवालमा छलफल गर्दैछु। म चाहन्छु तपाईं यो छलफलमा सामेल हुनु हुनेछ।

२. तपाइले भन्ने गरेको एकिकृत क्रान्तिको खास परिभाषा के हो ? त्यो क्रान्तिका मित्रहरु र शत्रुहरु को को हुन् ? क्रान्तिको स्वरुप के हो, शान्तिपूर्ण हो कि सशस्त्र ? नेपाली समाजको आजको वर्ग विश्लेषण कसरी गर्नुभएको छ ? नेपाली क्रान्तिका अन्तर्राष्ट्रिय आयामहरुबारे धारणा के हो ? क्रान्तिको नेतृत्व गर्न योग्य पार्टी निर्माणबारेको धारणा के हो ? यी आधारभूत प्रश्नको हल नगरी लहडमा क्रान्ति कसरी होला र ?

३. क्रान्ति र शान्तिबारेः

के कुनै कम्युनिष्टले शान्तिबारे पिठ फर्काएर हिड्न सक्छ ? मार्क्सले वुर्जवावर्ग जब युद्धको कुरा गर्दै थियो, त्यतिबेला ‘कम्युनिष्टहरुको अन्तर्राष्ट्रिय सिद्धान्त हुनेछ शान्ति’ भनेको विश्वलाई थाहा छ। लेनिनले शान्ति, रोटी र जमीनको नारामा प्रथम विश्व युद्धको र जारशाहीको धज्जी उडाएको जम्मा एक शताब्दी मात्रै भएको छ। माओले स्वाधीनता र शान्तिकै लागी च्याङकाइसेकसँग सम्झौता गर्नुभएको जग जाहेर नै छ। जबसम्म उसले सम्झौता तोडेन, माओ आफू प्रतिबद्ध नै हुनुहुन्थ्यो।

तसर्थ, शान्ति र क्रान्ति एक सिक्काका दुई पाटा हुन्। न सङ्घर्षै सङ्घर्ष मार्क्सवाद हो, न सम्झौतै सम्झौता मार्क्सवाद। बरु सङ्घर्ष र सम्झौताको सही संयोजन पो माक्र्सवाद हो कि ! लेनिनले भनेको ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा यसको निर्धारण गर्नुपर्दछ। अहिले सशस्त्र क्रान्तिको जरुरत छैन। यो ठोस परिस्थिति हो। जसलाई मार्क्सवादको सार भनियो। क्रान्ति निरन्तर प्रक्रिया हो। तर, यसको स्वरुप सधैं एकनासको हुँदैन। समयसँगै यो पनि गतिशील हुन्छ।

सबै सशस्त्र गतिविधिहरु क्रान्ति हुँदैनन्। तपाईलाई थाहा छ हतियार त तालिवान, बोकोहराम, मुजाहिद्दिन, आइएसहरुले पनि उठाएकै छन्। मूख्य सवाल लक्ष्यको हो। माक्र्सले पेरिसका कम्युनार्डहरुलाई तत्काल विद्रोह नगर्न भन्नुको तात्पर्य दुईवटा थियो, एक, विद्रोह सफल हुने सम्भावना थिएन, दुई, प्राप्त वुर्जुवा गणतन्त्र उल्टिएर राजतन्त्र फर्कने सम्भावना थियो साथै जर्मनीको हस्तक्षेप पनि। इतिहासबाट हामी केही त सिक्छौं होला नि ?

४. तपाईंको विश्लेषणमा ‘दलाल पूँजीवाद’ आजको नेपालको मूल समस्या हो र यसलाई हल गर्न ‘एकीकृत क्रान्ति’ चाहिएको हो। त्यो क्रान्ति गाउँ र शहरमा एकैसाथ हुनेछ। त्यसलाई जनयुद्ध वा शहरिया विद्रोह अर्को शब्दमा सशस्त्र विद्रोह भन्न जरुरी छैन। त्यसमा क्रान्तिकारी सेना त हुनेछ। तर, त्यस सेनाले राज्यको सेना र प्रहरीहरुलाई आक्रमण गर्ने छैन। उसको निशानामा दलालहरु मात्रै हुनेछन्। तपाईको समर्थन गर्र्नेहरु देशभक्त र विरोध गर्नेहरु सबै दलालको कोटीमा पर्नेछन्। सेना र प्रहरीको देशभक्त पङ्क्तिलाई सम्झाइबुझाई क्रान्तिको सहयोगी बनाइनेछ। एक–दुई वर्ष यसरी गुजारेपछि समाजमा ठूलो ध्रुवीकरण हुनेछ।

अहिलेको प्रक्रियामा असन्तुष्ट सङ्ग्रहालयका राजादेखि काँग्रेस हुँदै सिके राउतसम्म, गाई पाल्ने होइन, गाई टाँस्ने कमल थापादेखि देशलाई काँक्रो चिरेजस्तै पार्ने होइन, कोदो चुटेजस्तै थिलथिलो पार्ने चित्र बहादुरहरुको चित्र पनि देख्नुभएकै होला। ‘देशमा राजनीतिक क्रान्ति सकियो अब आर्थिक क्रान्तिको युग शुरु भयो’ भन्ने भाष्यकार तपाईंकै शब्दमा ‘कोखामा दाँत भएका मान्छे’को पुष्पलाल लोकमार्गको देश दौडाहाबाट प्राप्त ब्रह्माज्ञान भर्भराउदा युवा विप्लवतिर लागेको देखेको पनि हिसाब गर्नुभएकै होला।

भरतसिंह कोसियारीको पेट्रोलमा शशांककोे सलाई देख्दा खुशी नै हुनुहुन्छ होला। युद्धको खेती गरेर डलरको बाली भित्र्याउनेहरुको ‘न्याय’को तरबारले प्रचण्डहरुलाई ताकिरहेको देख्दा आनन्द पनि लाग्छ होला। उताको इण्डो प्यासिफिकदेखि यताको दलाईहरुको हर्कत हेर्दा क्रान्तिको भूमि उर्वर देख्नु स्वभाविक नै हो। कतै यी सबै चक्रलाई नै एकीकृत क्रान्तिको रुप दिनुभएको त होइन ?

विप्लव दाई ! यी सबै फलामले फलाम काट्ने तरिकामात्रै हुन्। दलालको विरोध गर्दागर्दै कतै दलाल नै त बनिँदैन ? तपाईलाई शक्ति मानेर ती सबै तपाईका वरिपरि घुम्छन् र तिनैसँग सत्ता साझेदारी हुन्छ भन्ने भ्रम छ भने आजैदेखि मुक्त भए राम्रो।

५. तपाईका प्रवक्ताको हस्तलिखित डायरी, जो उहाँँसँगै गिरफ्तार भएको थियो, त्यसमा उल्लेखित सेबोटेजको योजना कसरी कोर्न सक्नुभयो ? मानौं तपाईको योजना सफल भयो र केपी ओली, प्रचण्ड र देउवालाई सेबोटेज गर्नुभयो, त्यसपछि के हुन्छ ? दलाल पूँजीवाद सकिएर वैज्ञानिक समाजवाद आउँछ ? यो लेनिनवादभन्दा फरक नरोदनिकवाद भएन र ? तपाईले वर्गलाई विस्थापनको कुरा गर्नुभएको हो कि व्यक्तिको ? कतै देशमा ठूलो अस्थिरतापछिको सम्भावित स्थानको हिसाबकिताबले यसो गर्न तपाइलाई उत्पे्ररित गरेको त होइन ?

६. शहर र गाउँमा एकैसाथ शुरु गर्ने रुपरेखा वस्तुगत छैन भन्ने कुराको हेक्का त तपाइलाई भएकै होला। तपाइले परिभाषा गरेको मध्यम वर्ग त छोड्नुहोस्, आधारभूत वर्ग पनि तत्काल त्यो क्रान्तिमा होमिने स्थिति छैन। प्रविधि र क्रान्तिबारे पनि नयाँ संश्लेषण जरुरी भयो होला नै। मोबाइल फोन र फेसबुक लोकेशनका आधारमा भएको धेरैको गिरफ्तारीबारे सोच्नुभएकै होला। फेरि समाज पछाडि फर्केर हिड्छ भन्ने अल्पज्ञान त तपाईसँग नहुनुपर्ने हो।

जबसम्म तपाईले आफ्नो राजनीतिक मुद्धालाई खुल्लमखुल्ला जनताको बीचमा लिन पाउने अधिकार सुरक्षित हुन्छ, तपाई मोबाइल फोन छोडेर हिड्नु हँुदैन। तपाईले वैज्ञानिक समाजवाद युद्धद्धारा नै ल्याउन खोजेको हो भने राज्यले युद्ध थोपर्यो भन्नु तर्कसंगत नै भएन। के माक्र्स एंगेल्सले कम्युनिष्ट घोषणपत्रमा हाम्रा उद्देश्यहरु खुल्लमखुल्ला राख्छौं लुकाउदैनौं भनेको बिर्सिनुभयो ? हामी सबै वैज्ञानिक समाजवादकै पक्षमा बहस छलफल गर्दैछौ, तपाई यो अभियानमा सँगसँगै किन हिड्न सक्नुहुन्न ? हामी सबै साम्यवादकै उद्देश्यका लागि लड्दैछौ, सँगै किन लड्न सक्दैनौं ? हामी वैदेशिक हस्तक्षेपको विरुद्धमा छौं। हामीसँग काँधमा काँध मिलाउन तपाइलाई केले रोक्यो ?

तपाइले चौध अञ्चलको संरचनालाई नै पार्टीको संरचना बनाएको देखियो किन ? सङ्घीय संरचना बनाउन केले रोक्यो ? चौध अञ्चलको खाका कुन चाहिँ वैज्ञानिक समाजवादीले कोरेको रहेछ ? हामी कोही राजा महाराजा त होइनौं ? जोसँग तपाईलाई सहकार्य गर्न अप्ठ्यारो होओस्। आज तपाई एउटै मोर्चामा लडेका साथीहरुलाई तारो बनाउँदै हुनुहुन्छ। यो समयको बर्बादी मात्रै हो। तपाईसँग वैचारिक मोर्चा खोलेर लड्ने अवसर रहेसम्म तपाईले भौतिक मोर्चा खोल्नु घातक हुन्छ, त्यो पनि सहयोद्धाहरुसँग।

पार्टी र आन्दोलनभित्र विपरित प्रवृत्तिहरु हुन्छन्, ती प्रवृत्तिहरुको समाधान शत्रुतापूर्ण तरिकाले होइन, विचारधारात्मक तरिकाले लडिनुपर्छ। माओले फरक फरक अन्तरविरोधको समाधान फरक फरक तरिकाले गर्नुपर्दछ भन्नुको तात्पर्य त्यही हो। तपाईले नेकपालाई प्रमुख दुश्मन मानेर अरु सबैसँग संयुक्त मोर्चा बनाउने जुन नीति लिनुभएको छ, त्यो पूरै गलत छ। यसले विनास मात्रै निम्त्याउँछ।

७. तत्कालका लागि तपाईहरुका सशस्त्र गतिविधि बन्द हुनुपर्दछ, तपाईहरुमाथिको प्रतिबन्ध हट्नुपर्दछ। यसका लागि वार्ता नै उपयुक्त माध्यम हो। तपाई आफ्ना सबै राजनीतिक प्रस्तावहरुसहित वार्तामा आउनुपर्दछ। हामी पनि सुनौं न वैज्ञानिक समाजवाद प्राप्त गर्ने तरिका। तपाईको विदेश नीति, सैन्य नीति, आर्थिक नीति, संगठन चलाउने र अन्तरविरोधको व्यवस्थापन गर्ने नीति खुल्ला बहस हुनुपर्दछ। राज्यले कम्युनिष्ट योद्धाहरुलाई कुनै युद्ध अपराधीजस्तो व्यवहार नगरोस्, साथै कमरेडहरुले कमरेडहरुलाई निशाना बनाउने मूर्खता नगरुन्, आजलाई यत्ति ।

रामदीप आचार्य, तपाईको शुभ चिन्तक

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्