आदरणीय वामदेव कमरेड !
तपाईंले कास्कीबाट चुनाव नलड्ने घोषणा गरेको सुनेर अत्यन्तै खुशी भएँ। विभिन्न मिडियाहरुमा यस बारेमा जब तपाईंको पुर्ण वक्तव्य पढेँ मेरो खुशी दुःखमा परिणत भयो ।
तपाईं नेपाल कम्युनिष्ट पार्टाी (नेकपा)को एक स्पष्ट वक्ता, सिद्धहस्त र सिनियर नेतृत्व हो। तपाईंको यो व्यक्तित्व निर्माणमा हजारौं जनता र कार्यकर्ताको उत्तिकै मेहनत, योगदान र बलिदान छ।
जनताले गत निर्वाचनमा तपाईं भन्दा अर्को प्रत्यासीलाई बढी मत दिए र पाँच बर्षको लागि तपाईं संसदीय राजनीति भन्दा अलग्गै जिम्मेवारीमा बसेर काम गर्ने कार्यादेश समेत दिए। तर, तपाईं त आफ्नो निर्वाचन क्षेत्र होइन, आफ्नै जिल्ला मात्र पनि होइन, डोल्पा, काठमाडौंदेखि रुकुमसम्म आफूलाई केन्द्रमा राखेर घले दौडमा सहभागी हुनुभयो जसले तपाईंमाथि बनेको ‘टावरिङ्ग पर्सनालिटी’मा आँच पुर्यायो।
जब दिवङ्गत नेता रवीन्द्र अधिकारीको रिक्त क्षेत्रमा उपचुनावको प्रसङ्ग आयो, पुनः तपाईंले नजर त्यतै लगाउनुभयो। एउटा अग्लो व्यक्तित्वलाई सांसद बन्ने कुरा मामुली प्रश्न हो। यो मामुली प्रश्नमा तपाईं रुमल्लिएको देखेर म निकै समय अगाडिबाट असहज महसुस गरिरहेको छु। संसदीय राजनीतिमा यस्तो खेल स्वभाविक होला। तर, हामी जस्तो राजनीतिमा हुर्किँदै गरेको पुस्ताले तपाईंको मरिहत्तेबाट के सिक्ने ?
आदरणीय कमरेड,
तपाईं संसदीय मोर्चाभन्दा फरक ठाउँमा बसेर योगदान गर्नुस्। पार्टी एउटा बेथितिको स्थितिबाट गुज्रिरहेको संक्रमणकालिन परिस्थितिमा, यो पार्टीलाई एउटा व्यवस्थित, वैचारिक, सैद्धान्तिक दिशाबोध दिनुहोस्। सङ्गठनात्मक आँखाबाट यसका बल्ल आधारभूत संरचना तयार भएका छन्, यसलाई एउटा विधि र प्रक्रियाबाट सञ्चालन हुने खँदिलो पार्टी बनाउनुस्।
तीन तहकै सरकार र पार्टीका संरचनात्मक रुपमा परिपुरक गराई अधिकतम रुपमा देश र जनताको पक्षमा निरन्तर काम गर्ने एउटा सशक्त पार्टी बनाउनुस्। यस्ता महत्वपूर्ण र युगिन कामहरुको नेतृत्व गर्ने अवसरलाई छोडेर एक थान सांसद बन्न तपाईं दौडेको पटक्कै मन परेको थिएन। तर, आज उम्मेद्वारी नदिने घोषणाले खुशी बनायो। मैले सोचेको थिएँ म र म जस्ता हजारौं नौजवान युवाहरुको यही आवाजलाई बुझेर तपाईंले यो घोषणा गर्नुभयो । तर, फेरि पनि अन्तर्यमा त तपाईंले त्यागको भावनाले हैन कास्कीमा चुनाव जितिँदैन कि भन्ने संशयले पो उम्मेद्वार नबन्ने सोच बनाउनु भएको रहेछ। पुनः कमरेड मिठो खिरमा अलिकति गोबर हालिदिनु भयो।
प्रिय कमरेड,
हामी चुनावदेखि चुनावसम्म, संसददेखि संसदसम्म र सत्तादेखि सत्तासम्मको मात्र साँघुरो राजनैतिक परिधिभित्र कैद हुन चाहँदैनाैं। हाम्रो पुस्ता त बरु पैसा लगानी गरेर चुनाव जित्ने र त्यसको डबल पैसा अशुल्ने, राज्यको श्रोत साधन दोहन मात्र गर्ने यो प्रणालीकै पनि सुधार र विस्थापनको पक्षमा छौं ।
तपाईंको लोभलाग्दो विगत, अडान र क्रान्तिकारी छविलाई सम्झिँदा भन्न मन लाग्यो र अनुरोध गरैँ। अब यसपटक एउटा अन्तिम घोषणा गर्नुहोस् र भनिदिनुहोस्, ‘मलाई जनताले पाँच बर्षको लागि फरक जिम्मेवारीबाट काम गर्ने आदेश गरे, जनताको आदेशलाई यस अगाडि कहीँ कतै लोभ गरेर अक्षरसः पालना गर्न सकिन। तर, अन्तत मलाई जनताको यो आदेश मञ्जुर छ। अब म यो कार्यकाल पूरा नभई कुनै चुनाव लड्दिँन, बरु संसद बाट बाहिरै रहेर पहिले जस्तै हरसम्भव जनताको पक्षमा काम गर्छु।’
हामी एकपटक पुनः तपाईंसँगै संकल्प गर्नेछौं र भन्नेछौं, ‘हामी यो व्यवस्थामा शासन गर्न आएका हैनाैं, रुपान्तरण गर्न आएका हौं ।’ हार्दिक अभिवादनसहित……..
तपाईंको शुभेच्छुक
युवराज दाहाल