सम्पादकीय : निर्वाचनको गर्भबाट तानाशाहको उदय

kp_oli
लोकपाटी न्यूज
0 Shares

भनिन्छ एउटा स्वेच्छाचारी शासकका कारण मुलुकको अवस्था जर्जर बन्न पुग्छ। यस भनाइ नेपालको हालको सन्दर्भमा ठ्याक्कै मिल्न जान्छ। हिजो वैशाख २७ गते संघीय संसदमा एउटा गज्जबको तस्बिर देखियो। झण्डै दुईतिहाइ बहुमतको प्रधानमन्त्री हुँदै अगाडि बढेका केपी शर्मा ओलीले संसदमा जम्मा ९३ मत प्राप्त गर्दा विपक्षमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपाको बाबुराम–उपेन्द्र समूह लगायतको १२४ मत पर्‍यो भने जसपाकै महन्त ठाकुर र राजेन्द्र महतो समूह तटस्थ भूमिकामा रह्यो।

सर्वोच्च अदालतको अप्रत्यासित फैसलाले गत फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरी पूर्ववत नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बनाइदिएको परिस्थितिमा २०७५ जेठ २ गतेको एमालेको परिकल्पनासहित असन्तुष्ट माधव–झलनाथ पक्षलाई बेवास्ता गर्दा आफ्नै पार्टीका २८ सांसदहरु अनुपस्थित हुनु नै प्रधानमन्त्री ओलीको चरम व्यक्तिवाद र स्वेच्छाचारी प्रवृत्ति हो भन्ने कुरा स्पष्ट हुन्छ। यससँगै मुलुकको चौंथो दल जसपाको संसदमा उपस्थिति अनि एउटै पार्टीका दुई अध्यक्ष महन्त ठाकुर र उपेन्द्र यादवको सरकारप्रतिको धारणा सुन्दा संसदीय व्यवस्थाको कुरुप दृश्य स्पष्ट देखिएको थियो।

२०७४ फागुन गते करिब दुईतिहाइ बहुमतले प्रधानमन्त्रीमा निर्वाचित तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिन संसदको विशेष अधिवेशन आह्वान गरेका थिए। केपी ओलीले विश्वासको मत त पाएनन् नै, गज्जबको र उदेकलाग्दो कुरा त थियो भने आफूले विश्वासको मत नपाएमा मुलुकमा स्थीरता नहुने हुंकार गरिरहे।

आफ्नो सम्बोधनमा विकास र समृद्धिको नारा दुत्कारिरहेका ओलीलाई सार्वभौम संसदले गिज्याइरहेको आभास भएको थियो। भष्ट्राचारविरुद्ध काम गरेको, दैनिक ६ देखि १० किलोमिटर बाटो निर्माण गरिएको, देशमा एकैपटक ३९६ अस्पताल उद्घाटन गरिएको र हाल देशव्यापी रुपमा नागरिकलाई यथेष्ट स्वास्थ्य सेवा प्रदान गरिएको जस्ता मनगढन्ते कुरा गरिरहेका प्रधानमन्त्री ओलीले अक्सिजन र अस्पतालको बेड नपाएर छट्पटाइरहेका र दैनिक सयौंको संख्यामा ज्यान गुमाइरहेका नागरिकप्रति एउटा शासकले गद्दारी गरिरहेको महसुस भएको देखिन्थ्यो।

स्थीरताको लागि राजीनामा नदिएको, भ्रष्टाचार भएको छैन, भएको जानकारी भए मलाई बताउनोस्, कारबाही गर्छु, बेडको अभाव छैन, ८००० बेड अझै खाली छ, धरहरा बनेकै छैन भने म कसरी टुप्पोमा पुगेँ, धरहरा देखाउन नहुने कुरा हो र ? हलो आड्काउने, गोरु पडकाउने, एनफ इज एनफ भएर लौ त एनफ गर्देको भनेर आफ्नै खिल्ली उडाउने काम गर्दै उखान टुक्कामार्फत उट्पट्याङ कुरा गरेर समय व्यतित गर्नु नै ओलीटिक्स हो भन्ने कुरालाई प्रधानमन्त्री ओलीले संसदमा प्रमाणित गरेका छन्।

ओलीको सम्बोधनले उनी लोकतन्त्रप्रति कति अनुदार छन् भन्ने कुरा स्पष्ट गर्दछ। सम्वोधनमा उनले संसदले विश्वासको मत नदिए फेरि संसद भंग गर्ने अत्यन्तै निकृष्ट अभिव्यक्तिसमेत दिए। ओलीका अभिव्यक्ति हेर्दा विद्यमान संसदीय लोकतन्त्रले कति अनुदार तानाशाह जन्माउन सक्ने रहेछ भन्ने कुरा स्पष्ट हुन्छ। यसको दोषी प्रधानमन्त्री ओली मात्र नभएर हाम्रो प्रणाली र अभ्यासमा रहेका खराबी हुन् भन्ने स्पष्ट हुन्छ। तसर्थ, हाम्रो बहस प्रणालीको बिकल्प, अभ्यासका खराबीतर्फ केन्द्रित गर्न आवश्यक छ।