‘राजनीतिज्ञ नसुध्रेसम्म देश बन्दैन’

Bhim Regmi
लोकपाटी न्यूज
0 Shares

भीम रेग्मी/समाज अहिले त्रस्त छ। सन्त्रासमा मान्छे बाँचेको छ। दोश्रो युद्धपछि लेखिएको किताब वेटिङ्ग फर गोडो (गोडोलाई पर्खिंदा) मा मान्छेको बिपत्तिको कुरा गरेको छ। ती सबै कुराको कारक तत्त्व दोश्रो विश्वयुद्ध थियो। हामी प्राचीन साहित्य वा मेकियाबेली नै पढौं –राजनीति समाजलाई ठीक बाटोतिर लैजान प्रयोग भएको थियो। महाभारतको वा रामायणको युद्ध पढ्यो भने नराम्रोको पराजित र राम्रोको जीत नै छ। भीष्म र द्रोण कौरवको पक्षमा लडे र पनि पाण्डवलाई सहयोग नै गरे। पाण्डवका सबै भाइमा उच्च नैतिकता र मानवीयता थियो। लडाईं त त्यहाँ पनि थियो। नेपालमा पनि हामी चुकेको यही तथ्यमा हो।

समाजको साधारण मान्छेले सिक्ने राजनीतिज्ञबाट नै हो। वडा, गाउँ, स्थानीय पालिका, जिल्ला, प्रदेश र संघमा रहने सबै नेतामा उच्च नैतिकता हुनु आवश्यक छ। जनतालाई गाउँमा चाहिएको गुणस्तरीय शिक्षा हो। यो गएको ४ वर्षमा स्थानीय तहले कति स्कुलको गुणस्तर सुधारे होलान् ? कति स्कुलका कक्षाकोठाको गुणस्तर राम्रो बने होलान् ? कति स्कुलका शौचालय राम्रा बने ? कति स्कुलमा पिउने पानीको व्यवस्था भयो होला ? अध्ययन गर्ने हो भने उत्तर नकारात्मक मात्रै मिल्छ।

दोश्रो विश्वयुद्धपछि अमेरिकाले आफ्ना संस्थालाई सुधार मात्र गर्न सबै सरकार तल्लीन भए र सफलता मिल्यो। १९८० पछि चीनले एकै वर्षमा ठूलो संख्यामा विश्वविद्यालय खोल्यो र आजको अवस्थामा चीन पुगेको हो। नेपालमा ११ कक्षा पढाउन २ लाख कलेजलाई तिर्नुपर्ने ? अनि बन्छ देश कसरी। सिधै दलाल पूँजीवादको रक्षा गर्ने अनि कुरा समाजवादको । संगठनको ऋण तिर्न विश्वविद्यालयबाट कि त चन्दा लिनुपर्ने कि निजी कलेजलाई सम्बन्धन दिएवापत रकम असुल्नुपर्ने – अनि बन्छ देश कसरी ? यो कुराको अन्त्य नभएसम्म राजनीतिक दर्शनको कुरा गरेर मात्र देश बन्दो रहेनछ।

दर्शनमा सबै कुरा छ। तर पनि नभएको के हो त ? गल्ती हामीले गरेको हो। यहाँ तिमीले यो गल्ती गरेको भन्न नै नसक्ने अवस्था आयो। तिमी राम्रै भन्नुपर्ने। तिमीले गरेको ठीक नै हो भन्नुपर्ने र नै समाज स्खलित भएको हो। यसको अन्त्य हुने कहिले ? उत्तरको खोजी गरौँ। यदी किन र कसरी नभन्ने हो भने संविधान परिवर्तन भए पनि देश बन्दो रहेनछ भन्ने कुरा देखियो। यसको उत्तर दिने मार्क्सवादले कि हामीले ? यदी सत्यलाई सत्य भन्न नसक्ने हो भने समाज बहुलठ्ठी नै बन्छ। समाज ख्रुश्चोवकालीन नै बन्छ। होइन भने सबैभन्दा सुध्रनुपर्ने समूह राजनीतिज्ञ नै हो। यो कुरालाई नस्वीकार्दा समाजमा हुने दुर्घटना नै हो।

दर्शनको सम्बन्ध मान्छे र समाजसँग हुनुपर्छ। समाज परिवर्तन र समाजको सम्बन्ध क्रियात्मक पक्षसँग जोड्नु र जोडिनु नै दर्शनको मुख्य सार हो। अहिलेसम्म हामीले संसारलाई पश्चिमेली शिक्षाको आँखाले मात्र अध्ययन गरेका छौं। २०२८ को नयाँ शिक्षाको शुरुवातपछि सबै कुरा आयातित बने। राजनीति प्लेटो, अरस्तु, आदिबाट, अर्थशास्त्र एडम स्मिथबाट आदि। चाणक्य पढ़ेनौं, शकुनीलाई ग्वेबल्स जस्तोगरि बुझेनौं। बुद्धलाई दार्शनिकको रूपमा भन्दा पनि भगवानको रुपमा बुझ्दा समस्या भयो।

मार्क्सवाद समाजको ऐना हो र सामाजिक प्रतिविम्ब हो। द्वन्द्ववाद त्यसको सार हो। तर त्यसलाई नबुझ्नु अनि आफैमा लागू नगर्नु तर अरुका लागि भन्न पाउनुलाई सबै कुरा मानेका छौं। दक्षिण एशियामा – म यसलाई भारतीय उपमहाद्वीप पनि भन्दिनँ, नौ दर्शनका विकास भएका छन्। दर्शन पढ्नु र पढाउनु हाम्रै दायित्त्व थियो। हामीले मानेको मार्क्सवाद पनि हेगेलको दर्शनबाट नवीन रुपमा बनेको हो। त्यस्तै ती नौ दर्शनमध्ये कतिपय आस्तिक र नास्तिक दर्शन छन्। ती दर्शन समाज र मान्छेको बारेमा बुझ्ने दृष्टिकोण नै हुन्। ज्ञानको वर्गीकरण नै दर्शनको आधारभूत पक्ष हो। दर्शनमा अस्ति र नास्ती गरी २ पक्ष हुन्छन। हेगेलको दर्शन चेतनापक्षीय (अस्ति) र मार्क्सको दर्शन वस्तुपक्षीय (नास्ती) दर्शन हुन्।

पूर्वीय दर्शनमा कतिपय दर्शन परलोकमा आस्था र भगवानमा आस्था राख्नु अस्ति दर्शन हुन्। जैन र बुद्ध दर्शनले पनि परलोकमा आस्था राख्छन। तर, भगवानमा आस्था सांख्य र पूर्वमीमांसा दुवै दर्शनले राख्दैनन्। यदि यी पक्षलाई मात्र मान्दा पहिला २ दर्शन अस्ति र पछिल्ला २ दर्शन नास्ती दर्शन हुन्। तर हाम्रो बुझाइ यति मात्र हुनु हुँदैन। पूर्वीय समाजमा प्रचलनमा आएका चार्वाक वा लोकायत, बुद्ध, जैन वा अहर्त दर्शन भौतिकवादी दर्शन हुन्।

शंकराचार्यले सांख्य दर्शनलाई पनि भौतिकवादी दर्शन भनेका छन्। उनले यसलाई अवैदिकको मान्यता दिएका छन्। मनुले वेद मान्नेलाई आस्तिक दर्शन भनेका छन्। मार्क्सको धर्मलाई अफिमको मान्यतामध्ये युगिन समयमा चर्चको पादरीको ज्यादतीलाई केन्द्रमा राखेर नै आएको हो। तर, हामीकोमा प्रधानमन्त्री रोजगार कोषको पैसाले चर्च बन्दैछन्।

राजनीतिमा भौतिकवाद तर काम र गराइमा अस्तिवाद हाम्रो विशेषता भएको छ। त्यही अस्तिवादले दलितलाई अछुत सोच्छ। तर राजनीतिमा क्रान्तिकारी हुँ भन्नु बिशेषता बनेको छ। पूराना दिनमा सिकर्मी र डकर्मी नै इञ्जिनियर थिए। आहुरीहरूले कुलो बनाएर जमिन सिंचाइ गरे। ज्यावल तिनैले बनाए। तर तिनै वर्ग अहिले पनि सीमान्तकृत नै छन्।

यस्ता कुराको अन्त्य गर्न र गराउन हाम्रो सोंचमा रहेको जडता हटाउनु छ। हुन सक्छ –त्यो जडता बुद्ध धर्म मान्नेमा हुन सक्छ। छुत र अछुत नेवार र दलितमा मात्र होइन, नेवारभित्रै पनि छ। कामी–सार्की–दमाईं–बादीभित्रै छ। बाहुन–छेत्रीले आफूलाई जसरी अरूलाई पनि मानव मान्नुपर्‍यो। लक्ष्मीप्रसाद देवकोटाले अन्त्यमा ‘श्रीकृष्ण रहेछ एक’ भनेजस्तै कुरा ठूला गर्ने अनि गाउँ–गाउँमा मन्दिर मर्मत गरेर भोट बढाउने तर स्कुललाई सुधार गर्न फुटेका आँखाले नहेर्ने परिपाटी अहिले नै देखिएको छ। त्यो कुरा बुझ्न सांसदले विकास कोषबाट लगेको ६ करोडको बिन्यास हेरे हुन्छ।

अहिले चलेको सोचले समाज र देश परिवर्तन हुँदैन। लेखेको संविधानले आफै तिमीले गरेको ठिक र बेठिक भन्दैन। भन्ने र गर्ने नागरिकले हो। राजनीतिले समाजलाई ठिक तरिकाले डोराएन भने समाज अराजकतातिर जान्छ। हामीले समाजलाई त्यता जान रोक्नैपर्छ, यसको प्रमुख जिम्मेवारी राजनीतिज्ञकै हो।

(कुराकानीमा आधारित)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्