भरतपुर महानगरद्वारा साहित्य दर्पण २०७८ सार्वजनिक

लोकपाटी न्यूज
0 Shares

चितवन । भरतपुर महानगरपालिकाले महानगरीय साहित्य दर्पण २०७८ सार्वजनिक गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले बुधवार एक कार्यक्रमका बीच साहित्य दर्पणको सार्वजनिक गरेकी हुन्।

साहित्य दर्पणलाई सार्वजनिक गर्दै प्रमुख दाहालले भरतपुर साहित्य दर्पण महानगरपालिकाको साहित्यको क्षेत्रमा पूँजीको रूपमा रहने बताउँदै प्रकाशनमा महत्वपूर्ण सहयोग पूर्याउने अग्रज साहित्यकारहरूलाई धन्यवाद व्यक्त गरिन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्ती अवसर पारेर आयोजित कार्यक्रममा दाहालले महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यको विकास र विस्तारमा कोशेढुङ्गा सावित भएको बताउँदै यसलाई अझै परिस्कृत गर्दै लैजानुपर्ने बताईन् ।

भरतपुर महानगरपालिकाले कला साहित्य क्षेत्रको समग्र विकास र व्यवस्थित गर्न भरतपुर प्रज्ञा प्रतिष्ठान गठनको तयारी गरिरहेको उनको भनाई छ । दाहालले कार्यक्रममा प्रज्ञा प्रतिष्ठान गठनका लागि साहित्यकारहरूसँग रचनात्मक सुझावको समेत अपेक्षा गरेकी थिइन् ।

कार्यक्रममा भरतपुर महाशाखा प्रमुख महेन्द्र पौडेलले भरतपुर महानगरले कला साहित्य क्षेत्रको उत्थान र साहित्यकारहरूको सम्मानमा विविध कार्यक्रमहरू गरिरहेको भन्दै प्रस्तावित भरतपुर प्रज्ञा प्रतिष्ठान गठनसंगै अझै व्यवस्थित हुने बताए ।

कार्यक्रममा साहित्यकार डा केशवराज चालिसेले भरतपुर महानगरपालिकाले पूर्वाधार विकासमा अतुलनीय भूमिकासंगै साहित्य र कलाको क्षेत्रमा पनि उत्कृष्ट कामको सुरूवात गरेको बताए।  उनले साहित्य दर्पण प्रकाशन एक नवीन खोज भएको भन्दै भरतपुर प्रज्ञा प्रतिष्ठान गठनको सुरूवात भरतपुरको साहित्य कला र प्राज्ञिक क्षेत्रको विकास र प्रवर्धनको कोशेढुङ्गा हुने बताए ।

सो अवसरमा अग्रज साहित्यकार ईन्द्र रेग्मीले कला साहित्य र सृजना समाज र देशको साझा सम्पत्ति हुने बताउदै प्रस्तावित भरतपुर प्रज्ञा प्रतिष्ठान गठन संगै यस क्षेत्रको कला साहित्यको प्रवर्धन र सर्जकहरूको सम्मान हुने बताए । साहित्यकार रेग्मीले भरतपुर माहानगरपालिकाले साहित्य क्षेत्रको विकास र प्रवर्धनमा महत्वपूर्ण भूकिका खेलेको बताए

कार्यक्रममा साहित्य दर्पण प्रकाशनमा महत्वपूर्ण सहयोग गर्ने साहित्यकारहरू रामहरी श्रेष्ठ ,एल बी क्षेत्री, बालकृष्ण थपलिया, समालोचक डि आर पोखरेल लगायतका साहित्यकारहरूलाई महानगरपालिका प्रमुख दाहालले सम्मान गरेकी थिइन् । सो अवसरमा सहभागी साहित्यकारहरूले प्रस्तावित भरतपुर प्रज्ञा प्रतिष्ठान गठनका बारेमा रचनात्मक सुझावहरू प्रस्तुत गरेका थिए ।

भरतपुर महानगरपालिकाले कला साहित्यको विकास संरक्षण र प्रवर्धनका साथै साहित्यिक गतिविधिहरुलाई व्यवस्थित गर्न भरतपुर प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्