सामाजिक गतिशीलता निम्नवर्गको खुड्किलो

Communists_Word_Shabda
लोकपाटी न्यूज
0 Shares

सामाजिक क्रियाको सिद्धान्त- समाजशास्त्रको एउटा मुख्य धारा, जसका प्रणेता मूलतः वेबेर थिए, जसले सामाजिक क्रियाको सिद्धान्तको अवधारणा प्रस्तुत गरेका थिए। वेबेरका अनुसार सामाजिक क्रिया समग्ररूपमा मानिसको आचरण-व्यवहार हो, जब क्रियाशील व्यक्तिले अन्य व्यक्तिहरूको आचरण-व्यवहारलाई आफ्नो लागि एउटा नमूना बनाएर त्यसलाई आत्मगत अर्थ प्रदान गर्दछ (त्यसकारण सहज प्रतिक्रिया सामाजिक क्रिया हुँदैन)। वेबेरका अनुसार सामाजिक क्रिया सामाजिक यथार्थको मूल तत्त्व हो, जबकि सामाजिक संस्थान, समूह तथा अन्य सामाजिक समुदाय व्यक्तिहरूका निश्चित क्रियाहरूलाई संगठित गर्ने कार्यका परिणाम तथा विधिहरू मात्र हुन्। पछि गएर बढी सामाजिक-परमाणुवादी प्रवृत्तिका समाजशास्त्रीहरुले सामाजिक क्रियाको अवधारणाको विस्तार गरे (आर. मेकाइवर, आदि)। पार्सन्सले यसलाई सामाजिक प्रणालीहरूको, जसले व्यक्तिहरूको सामाजिक क्रियालाई संगठित तथा नियन्त्रित गर्दछन्, अनुक्रमको अवधारणासँग मिलाउने प्रयत्न गरे।

उनी सामाजिक क्रियाको संगठनका चार मुख्य स्तर (अथवा क्रिया प्रणालीहरूका स्तर) मान्दथे : १. जैविक शरीरको स्तर, २. व्यक्तित्वको स्तर, ३. सामाजिक प्रणालीको स्तर, ४. सांस्कृतिक प्रणालीको स्तर। सामाजिक क्रियाको उनको सिद्धान्तमा मुख्य स्थान सन्तुलनको, अर्थात् विद्यमान सामाजिक प्रणालीहरूलाई कायम राख्ने समस्यालाई प्राप्त छ। मार्क्सवादी दृष्टिकोणबाट मानव क्रियाकलापलाई आचरण-व्यवहारका सामान्य नमूनाहरुको अनुसरण गर्ने वा केही सामाजिक भूमिकाहरू निर्वाह गर्ने कुरासम्म सीमित गर्न सकिँदैन। मानिसहरूले आफ्नो इतिहासको सिर्जना स्वयं गर्दछन् तथा समाजद्वारा आफ्नो पूर्ववर्ती विकासको परिणामस्वरूप निर्मित अवस्थाहरू र परिस्थितिहरूमा क्रियाशील हुन्छन्।

सामाजिक गतिशीलता- एउटा सामाजिक अवधारणा, जुन कुनै सामाजिक संरचनामा सामाजिक समूहहरूको गतिशीलताको द्योतक हुन्छ। एउटा त समस्तरीय सामाजिक गतिशीलता हुन्छ (अर्थात् कुनै व्यक्तिको एउटा सामाजिक समूहबाट त्यही सामाजिक स्तरको अर्को सामाजिक समूहमा संक्रमण) र अर्को ऊध्र्वस्तरीय सामाजिक गतिशीलता हुन्छ (अर्थात् व्यक्तिको अर्को सामाजिक श्रेणी वा वर्गमा स्थानान्तरण)। सामाजिक संरचनाको परिवर्तनीयता तथा गतिशीलता वास्तवमा घटित हुन्छन् । तर बुर्जुवा समाजशास्त्रीले यो परिघटनाको स्वरूपलाई विकृत गर्दछन् र यो दाबी गर्दछन् कि पुँजीवादी समाजमा यसले वर्गीय अन्तर्विरोधहरूलाई नरम बनाउँदछ र सामाजिक समरुपता स्थापित गर्दछ। उनीहरूको मतानुसार ऊध्र्वस्तरीय सामाजिक गतिशीलताले निम्न वर्गको मानिसलाई सामाजिक खुड्किलोमा माथि चढेर उच्च वर्गमा सामेल हुने, अर्थात् करोडपति बन्ने सम्भावना प्रदान गर्दछ।

तर, तथ्य यो हो कि बुर्जुवा समाजमा माथि पुग्ने मार्ग, अर्थात् व्यक्तिहरू तथा परिवारहरूको सामाजिक स्थितिमा परिवर्तन अपवाद हुन्छ र त्यसले उत्पादनको प्रणालीमा समग्र रूपले वर्गको स्थितिलाई बदल्दैन। बुर्जुवा समाजमा सामाजिक गतिशीलताको मुख्य दिशा माथितिर होइन, बरु तलतिर छ। त्यसले शहर तथा गाउँमा निम्नपुँजीपतिहरुको विनाशलाई प्रतिबिम्बित गर्दछ, जसबाट पुँजीवादका वर्गीय अन्तर्विरोधहरू नरम हुँदैनन्, बरु तीक्ष्ण बन्दछन्। समाजवादअन्तर्गत सामाजिक गतिशीलताको स्वरूप भिन्न हुन्छ। समाजवादको सामाजिक संरचनामा हुने गहन परिवर्तनले मानसिक र शारीरिक श्रमको बीचमा, शहर र गाउँको बीचमा अन्तरहरू निरन्तर रूपले मेटिँदै जानुसँग जोडिएका छन् र तिनीहरूले सामाजिक एकरूपतामा पुर्‍याउँदछन्।

सामाजिक चेतनाका रूप- मानिसहरूको मनमा वस्तुगत जगत तथा सामाजिक सत्ताको परावर्तनका रूप, जसले मानिसहरूको व्यावहारिक क्रियाकलापको प्रक्रियाको क्रममा जन्म लिन्छन्। सामाजिक चेतना राजनीतिक विचारधारा, कानुनी चेतना, नैतिकता, धर्म, विज्ञान, कला, कलात्मक विचारहरू तथा दर्शनमा विद्यमान तथा प्रकट हुन्छन्। दैनिक चेतनामा यथार्थको प्रत्यक्ष परावर्तनभन्दा भिन्न सामाजिक चेतनाका रूप यथार्थको सैद्धान्तिक वा कलात्मक परावर्तनद्वारा व्यवहित धेरथोर व्यवस्थित चेतना हुन्छन्। सामाजिक चेतनाका रूप परावर्तनको विषय तथा रूप, सामाजिक कार्यहरू तथा विकासका विशिष्ट नियमहरूको सन्दर्भमा भिन्न हुन्छन्। सामाजिक चेतनाका रूपको विविधता स्वयं वस्तुगत जगतको – प्रकृति तथा समाजको – समृद्धि तथा विविधताबाट निर्धारित हुन्छ। सामाजिक चेतनाका भिन्न-भिन्न रूपहरूले यथार्थका भिन्न-भिन्न क्षेत्रहरू तथा पक्षहरूलाई परावर्तित गर्दछन् (उदाहरणको लागि, राजनीतिक विचारले वर्गहरू, राष्ट्रहरू र राज्यहरूको बीचमा सम्बन्धहरूलाई परावर्तित गर्दछन् र राजनीतिक कार्यक्रमहरूको आधारको काम गर्दछन्, जसलाई वर्गहरू तथा सामाजिक समूहहरूका कार्यहरूमा व्यावहारिक रूप दिइन्छ; विज्ञानमा प्रकृति तथा समाजका ठोस नियमहरूको परावर्तन हुन्छ, धर्मले मानिसहरूमाथि प्रभुत्वशाली प्राकृतिक शक्तिहरू र पछि गएर सामाजिक शक्तिहरूमा निर्भरतालाई काल्पनिक बिम्बहरूमा परावर्तित गर्दछ, आदि)। चेतनाको प्रत्येक रूपमा परावर्तनको आफ्नो वस्तु हुन्छ, त्यसकारण चेतनाको प्रत्येक रूपको परावर्तनको पनि आफ्नो तरीका हुन्छ (उदाहरणको लागि वैज्ञानिक अवधारणा, नैतिक मानक, कलात्मक बिम्ब, धार्मिक सिद्धान्त)।

वस्तुगत जगतको विविधता तथा जटिलताले सामाजिक चेतनाका विभिन्न रूपहरू प्रकट हुनको लागि केवल सम्भावना मात्र उत्पन्न गर्दछन्। यो सम्भावनालाई निश्चित सामाजिक आवश्यकताको आधारमा मूर्त रूप दिइन्छ। त्यसकारण विज्ञानले केवल तब मात्र जन्म लिन्छ, जब अनुभव तथा इन्द्रियानुभविक ज्ञानको साधारण सञ्चय सामाजिक उत्पादनको विकासको लागि अपर्याप्त हुन्छ। राजनीतिक तथा वैधानिक विचार तथा धारणाले वर्गहरू तथा राज्यको उत्पत्ति सँगसँगै प्रभुत्व तथा अधीनता, आदि सम्बन्धहरूलाई न्यायसंगत सिद्ध गर्नको लागि जन्म लिन्छन्। प्रत्येक सामाजिक-आर्थिक संरचनामा चेतनाका सम्पूर्ण रूपहरू परस्पर सम्बन्धित हुन्छन् र समग्र रूपले तिनीहरू सम्बद्ध समाजको आत्मिक जीवन हुन्छन्। सामाजिक चेतनाका यी वा ती रूपहरूलाई जन्म दिने सामाजिक आवश्यकताको विशिष्टताले त्यो ठोस ऐतिहासिक भूमिकालाई निर्धारित गर्दछ, जसलाई यी रूपहरूले समाजको जीवन तथा विकासमा निर्वाह गर्दछन्। साम्यवादको विजयसँगै राजनीतिक तथा वैधानिक विचारधाराहरूको आवश्यकता रहनेछैन र तिनीहरू लोप हुनेछन्। यसको बदलामा सामाजिक चेतनाका नैतिकता, विज्ञान, कला तथा दर्शनजस्ता रूपहरू विकसित हुनेछन्। तिनीहरूले विभिन्न सामाजिक आवश्यकताहरूको पूर्ति मात्र गर्नेछैनन्, बरु प्रत्येक व्यक्तिको आत्मिक रूपको पनि रचना गर्नेछन् तथा उसको चौतर्फी विकास र सक्रिय सृजनशील क्रियाकलापको आवश्यक शर्त बन्नेछन्।

सामाजिक-डार्विनवाद- समाजशास्त्रमा एउटा सिद्धान्त, जसले अस्तित्वको लागि संघर्ष तथा प्राकृतिक छनौटलाई सामाजिक विकासको प्रमुख चालक मान्दछ। यो सिद्धान्त, जुन १९औं शताब्दीको अन्तमा बुर्जुवा समाजशास्त्रमा प्रसारित भएको थियो, डार्विनको जैविक सिद्धान्तका केही (गलत ढंगले परिभाषित) प्रस्थापनाहरूलाई समाजशास्त्रमा लागू गर्ने आधारहीन प्रयास थियो (एल. गुम्पलोभिच, जी. राट्जेनहोफेर, ए. स्माल, आदि)। सामाजिक-डार्विनवादका केही समकालीन पक्षधरहरूले यो दाबी गर्दछन् कि प्राकृतिक छनौट तथा अस्तित्वको लागि संघर्ष मानव समाजमा आज पनि क्रियाशील छन्। अन्यले यो मान्दछन् कि आफ्नो शुद्ध रूपमा प्राकृतिक छनौट समाजमा १०० वर्ष पहिले क्रियाशील थियो, तर त्यसपछि विज्ञान र प्रविधिको विकासमा सफलताहरूको फलस्वरूप अस्तित्वको लागि संघर्ष घट्यो र यस्तो स्थिति उत्पन्न भयो, जसमा केवल सर्वाधिक योग्य मानिसहरू मात्र होइन, बरु तिनीहरू पनि जीवित रहन सक्दछन्, जसको भाग्यमा पहिले मर्नु लेखिएको थियो। यस्ता सिद्धान्तहरूका प्रचारकहरूले लगभग सम्पूर्ण सामाजिक खराबीहरूको मूल यी निकृष्ट मानिसहरूको बढ्दो संख्यामा देख्दछन्। यहाँ सामाजिक-डार्विनवाद समाजशास्त्रमा नश्लवादी मानवशास्त्रीय धारासँग मिल्दछ।

सामाजिक पर्यावरण विज्ञान- ज्ञानको एउटा क्षेत्र, जसले समाज तथा प्रकृतिको बीचमा पारस्परिक क्रियाका विभिन्न पक्षहरूको अध्ययन गर्दछ (कहिलेकाहीँ मानिसको पर्यावरण विज्ञान, भूमण्डलीय विज्ञानको चर्चा पनि यही अर्थमा गरिन्छ)। वैज्ञानिक-प्राविधिक क्रान्तिको युगमा मानिस तथा प्रकृतिको बीचमा पदार्थहरूको आदान-प्रदान मानव-निर्मित प्राविधिक साधनहरू र प्रणालीहरूद्वारा बढीभन्दा बढी मात्रामा परिमार्जित हुन्छ, जसको फलस्वरूप मानिसको प्रकृतिसँग पृथकता बढ्दछ। प्राकृतिक साधनहरूलाई उत्पादन कार्यमा लगाउने नयाँ तरीका उत्पन्न र विकसित हुन्छन्, जुन जीवमण्डलको अवस्थामाथि प्रभाव पार्ने सशक्त कारक बन्दछन्। फलस्वरूप मानिसका आर्थिक गतिविधिहरूले वायुमण्डलका रासायनिक संरचना र गुणहरू, पृथ्वीको ताप-सन्तुलन, रेडियोधर्मी पाश्र्वभूमि, विश्व महासागर, आदिमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पार्दछन्। यी गतिविधिहरूको परिणाम हुन्छ माटोको क्षय तथा उर्वरताको समाप्ति, जलको प्रदूषण, शुद्ध जलका भण्डारहरू तथा कच्चा पदार्थ र शक्तिको अनवीकरणीय साधनहरूको अभाव, जीवमण्डलमा जैविक ढंगले विघटित नहुने र विषालु अवशेषहरूको उत्पादन, भूदृश्यको बढ्दो शहरीकरण। यी सबैले अन्य पर्यावरणीय कारकहरूसँग मिलेर मानिसको शारीरिक र मानसिक स्वास्थ्य र मानिसहरूको आबादीको जीनकोशमाथि प्रतिकूल प्रभाव पार्दछन्। यी परिणामहरूको समुच्च प्रभाव कहिलेकाहीँ यति प्रबल हुन्छ कि त्यसको पर्यावरणीय संकटको रूपमा चर्चा गरिन्छ। यी संकटका विभिन्न मतहरूले, जसलाई बुर्जुवा सिद्धान्तकारहरूले प्रतिपादन गरेका छन्, गहन सामाजिक-वर्गीय परिस्थितिहरूसँग उपरोक्त परिघटनाहरूको सम्बन्धको उपेक्षा गर्दछन्।

मार्क्सवादी सिद्धान्तले यिनीहरूको सामाजिक स्रोत, सबभन्दा बढी आफ्नो स्वतःस्फूर्तसहित पुँजीवादी उत्पादन विधिमा, उत्पादन-सम्बन्धहरूको अराजकता तथा अन्तर्विरोधमा देख्दछ। ती मूल्यहरूको बुर्जुवा पद्धतिको विशेषता, जसले मानिसका गतिविधिहरू र संसारमा उसको दिशा निर्धारित गर्दछन्, प्रकृतिप्रति लुटपाटको दृष्टिकोण हो। पुँजीवादी समाजका परिस्थितिहरूमा समाज तथा प्रकृतिको बीचमा पदार्थहरूको आदान-प्रदानको विवेकसंगत ढंगबाट नियमन गर्ने पर्याप्त रूपले प्रभावशाली यस्तो कार्ययन्त्र तयार गर्न असम्भव छ, जसले मानिसका आर्थिक गतिविधिहरूका प्रत्यक्ष र अप्रत्यक्ष परिणामहरूको मूल्यांकन गर्न सम्भव बनाउँदछन्। समाजवादले मानिस तथा प्रकृतिको बीचमा पदार्थहरूको विनिमयलाई, सबभन्दा बढी उत्पादनका साधनहरू, भूमि तथा अन्य प्राकृतिक साधनहरूमाथि निजी स्वामित्वको उन्मूलनको माध्यमबाट सार्वजनिक नियन्त्रणको अधीनमा राख्नको लागि पूर्वाधारहरूको निर्माण गर्दछ।

समाजवादअन्तर्गत पर्यावरणको रक्षा तथा प्राकृतिक साधनहरूको विवेकसम्मत उपयोगको क्षेत्रमा उद्देश्यपूर्ण राजकीय नीति व्यवहारमा ल्याइन्छ, जसमा विद्यमान तथा निर्मित हुने नयाँ औद्योगिक तथा प्राविधिक प्रक्रियाहरूलाई पर्यावरण विज्ञानको दृष्टिले उपयुक्त बनाउनु र विशेष आर्थिक कदमहरूको एउटा पूर्ण समुच्चयलाई लागू गर्नु सामेल छन्। पुँजीवादी देशहरूको विपरीत, जहाँ पर्यावरण विज्ञानका कदमहरू अनिवार्य रूपले अपूर्ण र सीमित स्वरूपका हुन्छन्, समाजवादी सामाजिक प्रणालीले व्यापक दीर्घकालीन कार्यक्रमहरूलाई व्यवहारमा ल्याउन सम्भव बनाउँदछ, जसको लक्ष्य प्राकृतिक निवासलाई कायम राख्नु र सुधार्नु, वैज्ञानिक तथा प्राविधिक प्रगतिका पर्यावरण विज्ञानको दृष्टिले प्रतिकूल प्रभावहरूमाथि नियन्त्रण प्राप्त गर्नु र रोक्नु हो। पर्यावरणको रक्षा वर्तमान युगका सबभन्दा महत्त्वपूर्ण भूमण्डलीय समस्याहरूमध्ये एक हो र त्यसैकारण यसको समाधानले संसारका सम्पूर्ण देशहरू तथा जनसमुदायको घनिष्ठ सहयोगको अपेक्षा गर्दछ।

-रमेश सुनुवारको दर्शन विश्वकोशबाट

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्