चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण

pic ctw
लोकपाटी न्यूज
0 Shares

चितवन। चितवनका पत्रकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवस र भरतपुर अस्पतालको ५९ औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य परीक्षण गरिएको हो।

नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना, भरतपुर अस्पतालको प्राविधिक सहयोग र नेपाल औषधि व्यवसायी संघ चितवनको सहकार्यमा कार्यक्रम गरिएको हो। गत सोमबार १६६ जना पत्रकारको रगतको नमूना सङ्कलन गरिएको थियो। सोही नमूनाको रिपोर्ट हेरेर चिकित्सकहरुले परीक्षण गरेका थिए।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवं फिजिसियन डा. भोजराज अधिकारी, मेडिकल सुपरिटेण्डेण्ट अर्थोपेडिक सर्जन प्रा.डा.कृष्णप्रसाद पौडेल, मुटु रोग विशेषज्ञ डा.मणि गौतम, फिजिसियन डा.गोविन्द कँडेल, फिजिसियन डा.नवराज लामिछाने, फिजिसियन डा. प्रमोद पौडेल, फिजिसियन डा. प्रतीक्षा श्रेष्ठ लगायतका चिकित्सकहरुले पत्रकारहरूको स्वास्थ्य परीक्षण गरेका थिए। आवश्यक पत्रकारहरूलाई महासंघ मै ईसिजि समेत गरिएको छ। थप उपचार गर्नुपर्ने पत्रकारहरूलाई भरतपुर अस्पतालमा समन्वय गरिएको कार्यक्रम संयोजक विप्लव काफ्लेले बताए।

महासङ्घको सभा हलमा आयोजित स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले भरतपुर अस्पतालले मेडिकल सिटीको नेतृत्व गर्ने गरी विकास गर्नुपर्नेमा जोड दिए। भरतपुर अस्पतालको विकासका लागि पत्रकारहरूले स्वच्छ आलोचना गर्नुपर्ने बताउँदै अस्पताललाई अगाडि बढाउन सबै लाग्नुपर्ने उनले बताए।केन्द्रीय अस्पताल भनिए पनि एकाडेमिक र विशिष्टीकृत सेवाका लागि संघीय सरकारबाट पर्याप्त सहयोग नभएको उनले गुनासो गरे। भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले सरकारले क्षमता नै नहेरी बिमा गराउँदा भरतपुर अस्पतालमा सेवाग्राहीको भिड बढेको बताए। उनले बिमा कार्यक्रम नै असफल हुने खतरा रहेको बताउँदै अनावश्यक रूपमा होलबडी चेकअप, रिफर र औषधिका लागि मात्रै पनि ठूलो सङ्ख्यामा बिमा गरेकाहरू आउने गरेको बताए।आवश्यक नै नभएकाहरु आउँदा अस्पतालमा भिड बढेको र लामो समय पालो कुर्नु पर्ने बाध्यता रहेको उनको भनाई छ।

कार्यक्रममा महासङ्घका अध्यक्ष नारायण अधिकारीले स्वास्थ्य परीक्षण कार्यक्रमलाई वार्षिक रूपमा नियमित क्यालेन्डर राखेर लैजानुपर्ने बताए। महासङ्घका सचिव दीपेन्द्र अधिकारीले सञ्चालन गरेका कार्यक्रममा उपाध्यक्ष प्रकाश ज्ञवालीले स्वागत मन्तव्य राखेका थिए। स्वास्थ्य परीक्षण कार्यक्रमका संयोजक विप्लव काफ्लेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमपछि पत्रकारहरूको स्वास्थ्य परीक्षण गरिएको छ। सो अवसरमा नेपाल औषधि व्यवसायी संघ चितवन शाखाले औषधि निःशुल्क रूपमा वितरण गरेको थियो। सङ्घका अध्यक्ष ईश्वरकुमार भण्डारीले आफूहरूसँग उपलब्ध औषधिहरू निःशुल्क रूपमा वितरण गरेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्