‘ध्यान-तपस्याभन्दा श्रम-पसिना र मिहिनेतमा भगवान खुसी हुन्छन्’

लोकपाटी न्यूज
17 Shares
  • सरोजदिलु विश्वकर्मा

डोको र नाम्लो, घाँस र पानी, उकाली-ओराली
छोरीको कर्म, लेक र बेँसी, भञ्ज्याङ देउराली !
पराय घर जाने के गरी खाने, छुटिन्छन् दौतेरी !!

रामेछापको लेकको प्रितीटार। ५ छोरी र ३ छोरासहित आमाबुबा १० जनाको परिवार। भालेको डाँकोसँगै उठेर हातमुख धोई आमासँगै जाँतो ढिकी गर्नुपर्ने। उतिवेलै बुबा पनि उठेर १२ माऊ गाईभैँसी र ३ हल गोरु र केही बाख्राहरूको घाँसपानीमा लागि सक्नुहुन्थ्यो। बेँसीदेखि आधा दिन पिठ्यूँमा मकै, कोदो र फापर बोकेर उकालो चढ्नुपर्दथ्यो र माथिबाट डोकोमा उत्ति नै आलु बोकेर बेँसी झर्नुपर्दथ्यो।

यही उकाली ओरालीमा खेल्दै, लड्दै र उठ्दै ८ वर्षपछि मात्र स्कुल जान थालियो। छोरीलाई स्कुल पठाउने चलनै थिएन हिमालतिर। दाइले पढ्न शुरु गरेपछि मलाई पनि स्कुल जाने रहर लाग्यो। मेरै रहरका लागि बा-आमाले स्कुल पठाएका हुन्। साना भाइबहिनीहरू पनि थिए। उनीहरूका कापीकितावका भारी बोकेर दुई घण्टा उकालो चढेपछि चण्डेश्वरी स्कुल पुगिन्थ्यो। फर्कने वेलामा धेरै भोक लाग्थ्यो। अनि ऐसेलु र काफल खाँदै घर फर्किन्थ्यौं। कतिपय अप्ठ्राहरुमा सानो भाइलाई बोकेरै लानु ल्याउनु पर्ने हुन्थ्यो।’ आजभन्दा ३५ वर्षअगाडि रामेछापको आलु र फापर मात्र फल्ने प्रितीटारमा जन्मेकी रमिला श्रेष्ठ काठमाडौंको व्यापारिक केन्द्र कोटेश्वरको ठूलो सुन पसलमा भेटिन्छिन्, आजकाल। साह्रै हँसिली स्वभावकी फरासिलो कुरा गर्ने रमिलाले विगतदेखि वर्तमानसम्म आइपुग्दाका सुखदुखका यिनै कहानीहरू बताइन्।

‘आमा मिहिनेती हुनुहुन्छ। उहाँ काम नगर्ने पनि मानिस हुन्छ ? भन्दै सबैलाई काममा लगाउनुहुन्थ्यो। अनि सबै खेती किसानीमा लागियो। आफैँले उत्पादन र सिर्जना गर्दै गयौं। बिहान जुरुक्कै उठेर दिदीबहिनीमध्ये कोही घाँस, कोही दाउरा त कोही बारी खन्नतिर, कोही भान्सामा हिँडिहालिन्थ्यो। ८ बजेतिर ती कामहरू सकेर फर्की ५।६ गाँस टिपी भाइबहिनीलाई टिपेर विद्यालय जानुपर्थ्यो। फर्केर आउँदा लखतरान होइन्थ्यो। घरमा बासीभात वा के छ, त्यो खाएर फेरी कोही आलु खन्न, कोही मकै बोक्न र कोही गाई भैँसीलाई घाँसपात खोज्न कुदिहालिन्थ्यो। झिमिक्क साँझ पर्दा फर्केर बाँसका झ्यांङ्मा जम्मा भएका कागजस्तै आआफ्ना ठाउँमा लडेर रात बिताइन्थ्यो।’ उनी विगतको दिनचर्या बताउँछिन्।

खेतबारी निक्कै भएको मानिस धनीमा गनिन्थ्यो। अनि रमिलालाई भलिबल अति मन पर्दथ्यो। छालाको ड्यामबुट लाएर उनी विद्यालय जाने, भलिबल खेल्ने खेलाडी भएकाले केटाहरूसमेत यसले बुटले हान्छे भनेर डराउँथे। उमेरले अरूभन्दा अलि जेठी र खान्दानी भएकैले सबैले उनलाई विश्वास गर्दथे। त्यसैले उनी सधैँ स्कुलको मोनिटर बन्नुपर्दथ्यो। उनकै नेतृत्वमा नै पिकनिक, सरस्वती पूजा, खेलकुद र कक्षाभित्र र बाहिरका गतिविधिहरू सञ्चालन हुने गर्दथे। त्यही वेलादेखि उनमा नेतृत्व गर्ने रहर जाग्यो।

भलिबल प्रतियोगितामा विभिन्न मेडलहरू जितेकी रमिला श्रेष्ठले २०६४ मा एसएलसी पास गरिन्। छोरीलाई ढिलै उमेरमा विद्यालय पठाइने र घरायसी कामको लोडसमेत हुनाले उनलाई एसएलसी पास गर्न २० वर्ष लाग्यो। प्रेम र जवानीको थोरै कुरा कोट्याउँदा उनले जवानीको अनुभव यसरी सुनाइन्- ‘धनी ठानेकै होला केटाहरूले जिस्क्याउने-हेर्ने खासै आँट गरेनन्। म माथिल्लो जातकी, छोटे जमिन्दारकै छोरी, खेलाडी, ज्यानमा पनि ठूली, आजकालको भाषामा भन्ने हो भने डन। ड्याम्बुट लगाएर हिँड्दा केटाहरू म नजिक आउनै डराउँथेँ। तर पनि मलाई एक जना सुनार केटाले सायद मन पराउँथ्यो। मलाई पनि ऊ राम्रो लाग्थ्यो। आजकालको खुल्ला जमानामा हो भने त्यहीसँग प्रेम हुन्थ्यो होला। तर हामी माथिल्ला जातले तल्ला भनिनेहरूलाई हेर्दैहेर्दैनथ्यौं। ऊ पनि हामी नजिक आउने आँट पनि गर्दैनथ्यो। प्रेमको बारेमा कसैले कल्पना पनि गर्न कहाँ सकिन्थ्यो र !’ उनले खुल्ला किताबका एक पाना पल्टाइन्। ‘एसएलसी पास गरेपछि एक जना केटा मगनी गर्न आए। पहिलो आउने भगवानले जुराएर पठाएको हुन्छ, दोस्रो आउने रहरले र तेस्रो आउने स्वार्थले आएको हुन्छ भन्ने बुढापाकाको उखान छ। अनि छोरी बढे नाक काटिन्छ, विहेदान गरे इष्टमित्र जोडिन्छ भन्ने भनाई पनि छ। बाबुआमाको कुरा छोरी मानिसले नकार्न सकिँदैनथ्यो। बाबुआमाको आदेश काट्नु वा अटेर गर्नु छोरीको धर्म हुन्नथ्यो। यसो गर्‍यो की यो अर्कैसँग पोइल जान आटेकी हो भन्ने शंका हुन्थ्यो। त्यसैले पहिलो जो आयो, उसैसँग बिहे गरियो।’

रमिलामा बाल्यकालदेखि नै खेलाडी बन्ने देश विदेश जाने चाहना पनि थियो। काठमाडौं आएर पद्मक्कन्या क्याम्पसको सारी लगाएर कलेज जाने इच्छा पनि थियो र नेता बन्ने पनि। धेरै पढी सरकारी जागिर खाएर हाकिम बनी घुम्ने कुर्सीमा बस्ने सपनासमेत बोकेकी थिइन्। तर ती सपनाहरूलाई अधुरै राख्दै नौ डाँडा काटेर पाँचखालको एउटा घरकी बुहारीमा सीमित हुन पुगिन्।

उनी उसैगरी दुःखसमेत पोख्छिन्- ‘विवाह गरेपछि भने जीवन अलि गाह्रो भएको महसुस भयो। लेकमा जन्मेर हुर्केकी म एकैचोटी बेँसीको गर्मी खान पुगियो। खेतीपाती गर्न, कोदालो खन्न, आइपरे हलोसमेत जोत्न र भारी बोक्न सबै सिकेरै आएकी हुँ, गरियो। तर बुहारी बनेर भित्रिएपछि मलाई सासूले अपजस मात्र दिनुभयो भने नन्दलाई प्यारो। ससुराज्यूले चैँ बुहारीलाई अपजस दिएर मात्र पनि हुँदैन, नयाँ ठाउँ नयाँ घरबाट आएकी, अर्कैकी छोरी अर्कै संस्कार सिकेर आएकीलाई गाह्रो हुन्छ, सिक्न देऊ, पहिले छोरीलाई सिका अनि बुहारीले आफैँ सिक्छिन् भनेर सासूलाई गाली गर्नुहुन्थ्यो। तर म छोरी मान्छे हुँ, घर गरी खान र घर बसाउन आएकी हुँ। यही शिक्षाले अन्ततः घर गरेर खान म सफल भएँ। नन्दले घर गरेर खाइसक्नु भएन’ उनले सासूको अपजसलाई समेत शिक्षाकै रूपमा ग्रहण गरिन्।

विवाह गरेको ७ महिनापछि उनका श्रीमान् धन कमाउन विदेश लागे । श्रीमान् विदेश गएपछि सासूले अलि बढी नै हस्तक्षेप गर्न थालिन्। सायद उनलाई त्यो सह्य भएन। त्यसैले श्रीमानको सल्लाहअनुसार काठमाडौंमा आएर बस्न थालिन्। उनी माइती वा घरको सहयोगले नै आरामले शहरमा जीवन चलाउन सक्थिन्। तर रमिलामा जस्तोसुकै काम गर्ने जाँगर थियो, काम सानो-ठूलो हुन्न भन्ने आमाको प्रेरणा थियो र सानैदेखि काम गर्ने संस्कृति थियो। त्यसैले शहरमा लोग्नेले पठाएको कमाइमा मात्र रमाउनु हुन्न भनेर उनले शुरुमा जिन्स बनाउने गार्मेन्टमा सानो काम शुरु गरिन्। ‘विदेशमा श्रीमानको काम पनि त्यति राम्रो चलेन। काठमाडौंको खर्च धान्नै गाह्रो भएपछि पैसा अलि धेरै हुन्छ की भनेर घर बनाउने ज्यामी काम गर्न पनि पछि परिनन्। त्यतिवेला नै शहरमा अग्लाअग्ला घरहरू बनिरहेका थिए। तल भुईंदेखि १५।१६ तला माथिसम्म इँटा, सिमेन्ट र अरू सामान बोकेर दिनमा २० चोटि तलमाथि गर्नुपर्दथ्यो। पहाडमा खेलिखाई हुर्केकी, र वालकदेखि नै नबिसाई काम गर्ने भएकीले त्यसरी समान उठाएर लैजान-ल्याउनलाई खासै सकस भएन’ उनी भन्छिन्। केही महिना काम गरेपछि बानेश्वरको स्टाण्डरचाटर्ड बैंकको क्यान्टिनमा काम गर्न थालिन्। बैंक कर्मचारीहरूलाई चियाखाजा पुर्‍याइदिनुपर्ने अनि जुठा भाँडाहरू उठाएर ल्याइ माझ्नुपर्ने र बिहान-बेलुका सिंगो क्यान्टिनको सरसफाइ गर्नुपर्ने काम थियो। त्यो कामलाई पनि सानो मानिनन्।

उनले माइती वा घरमा आर्थिक गरिबी भोगेकी होइनन्, सुखसयलमै हुर्केकी हुन्। मागेको भए माइती र घरबाट प्रशस्त पैसा आउन सक्थ्यो। एउटा फ्ल्याट लिएर चैनसँग बस्न सक्थिन्। तर खवर कसैलाई नगरी श्रमलाई सानो नमानी एकोहोरो काम गर्न थालिन् । केही वर्षभित्रै रमिलाले आफ्नो र श्रीमानको कमाइले भक्तपुरमा केही जग्गासमेत किनिन्। ‘आध्यात्मिक ध्यान-तपस्याभन्दा मिहिनेत गरियो भने भगवान खुसी हुन्छन्’ भन्ने उनको मान्यता छ। उनको श्रम-पसिना र मिहिनेत देखेर सायद लक्ष्मीले पनि साह्रै खुसी भएर एउटा राम्रो बाटो देखाइदिएकी होलिन्- उनले कोटेश्वरको सुन पसलको काउन्टरमा सघाउने काम पाइन्। काम गर्दै जाँदा सुनका सामान्य कुराहरू बनाउने सीप पनि सिकिन्। सुनको व्यापार कसरी गरिन्छ भन्ने कुरामासमेत पोख्त भइसकेकी थिइन्। दैवले ‘तँ मिहिनेत गर् म साथ दिन्छु भन्छ रे’ भनेजस्तै पसलका साहु डिभी परेर अमेरिका जाने भएपछि सुन पसल विक्रीमा राखियो। उनले त्यो मौका खेर जान दिइनन्। सिकेको कालिगढी काम मै गर्छु र यसैलाई भविष्य बनाउँछु भनेर केही वर्षअगाडि किनेको जग्गा बेचेर आएको पैसामा श्रीमानको खाडीको कमाइसमेत जोडेर त्यो सुन पसल आफैले किनिन्।

भाग्य वा धर्मले होइन, मिहिनेत र कर्मले मानिसलाई समृद्ध बनाउँछ। उनको जीवनको प्रेरणा हो। आज करिब २ करोड बराबरको सुन पसलको मालिक भएकी छन्, रमिला। उनको यतिवेला त्यो सुन पसलसँगै न्युरोडमा सुनका गहना बनाउने कालीगढी कारखाना पनि छ। सोही पसलको कमाइबाट पाँचखालमा करिब २ करोड बराबरको जमिन जोडेकी छन्। भरखरै थानकोट बसपार्क नजिकै २१ आना जग्गा खरिद गर्न सफल भएकी छन् भने नुवाकोटमा समेत करिब २ करोड बराबरको जमिन उनले किनिसकेकी छन्।

बाबाआमाले भन्नुहुथ्यो रे ‘मान्छे भएपछि काम गर्नुपर्छ काम गरेर कमाउनु पर्छ र कमाएर मात्र होइन जमाउन पनि जान्नुपर्छ। पहिल्यै भएको र अर्काले आर्जन गरिदिएको सम्पत्ति सकेर जीवन जिउन त फटाहा चोरडाकाले पनि जानेकै हुन्छ। मान्छे आफैँ समृद्ध बन्ने हो भने आफैँ दुःख गर, पसिना बगाऊँ, पहिलेको सम्पत्तिलाई दुई गुणा बढाऊ।’ त्यो अर्तिले उनलाई छोइरहन्छ। ‘मैले अर्काको सम्पत्तिमा रमाउन, ठग, तश्कर हुन र अनैतिक काम गर्न जानिन। म मान्छे हुँ, मान्छे भएकोले मैले श्रम गर्नुपर्छ। श्रीमानले विदेशबाट पठाएको पैसा जोगाएर त्यसलाई जस्ताको तस्तै बैंकमा राख्दै आफू कमाउन हिँड्थेँ। मेरो मिहिनेतले मलाई साथ दियो’ उनको जीवनसंघर्षलाई यसरी सुनाइन्। र, श्रमलाई सम्मान गर्दै जाँदा १५ वर्षमै उनी आज करिब १५-२० करोडको मालिक भएकी छन्। नेपाल हस्तकला महासंघ, व्यापारीहरूको महासंघको समेत सदस्य भएकी छन् र अन्य आधा दर्जन व्यावसायिक संघसंस्थामा आवद्ध छिन्। रमिलाले बंगलादेश, भियतनाम, हंगकंग, सिंगापुर बेलायत र ताइवानमा भएका विभिन्न व्यावसायिक कार्यक्रमहरूमा भाग लिएकी छन्।

रमिलाले केही महिला आदर्शको कुरा पनि गरिन्- ‘आफ्नो घर मात्र होइन, देश बनाउनसमेत महिलाको असल संस्कारले भूमिका खेल्दछ। आजका महिला, युवतीकै विकृतिले हिंसा र बलात्कार बढिरहेका छन्। उनीहरू जति खुल्ला हुँदै गएका छन्, समाज विग्रहमा परिणत हुँदैछ। महिलाले हातमुख नधोई अरू काम छुनै हुन्न, बेलुका जुठो भाँडो सिनक्सानक् नगरी सुत्नै हुँदैन। आफ्नो श्रीमानलाई हँसिलो बनाएर बिहानै आर्शिवाद लिनुपर्छ, उसको दीर्घायुको कामना गर्नुपर्छ। किनकि महिलाको लागि ऊ नै सब थोक हो। तब न पुरुष पनि आफ्नो भइरहन्छ। यस्तो छोरी-बुहारीको घर बस्दैन, बसेपनि घरमा कहिले लक्षिणले बास गर्दैन भनेर हामीलाई आमाले सिकाउनु हुन्थ्यो। आजकालका बुहारीहरू ८ बजे उठ्छन्, एक घण्टा ट्वाइलेटमा बस्छन्, २ घण्टा मेकअप गरेर रेष्टुरेन्टमा जान्छन्, दिनभर फेसबुक र टिकटकसँग खेल्छन्, बेलुका नाइटक्लव धाउँछन् र मध्येराती आएर आफ्नै लोग्नेसँग जुझ्छन्। अनि महिला अधिकारका कुरा गरेर जाँगरिला महिलालाई समेत भड्काउँदै छन्। विवाहको एक महिनापछि नै डिभोर्स हुन थालेको छ। आफ्ना सन्तानलाई पनि त्यही संस्कार सिकाउँदै छन्। अनि अधिकांश घरमा लक्षिण छैन, देशमै लक्षिण छैन। अर्थतन्त्रहरू विभिन्न बहानामा बाहिर जाँदै छन्। अनि यो देश कंगाल नभए के हुन्छ ?’ रमिलाको यस मिथकमा कहीँ न कहीँ सत्यता छ।

उनी अव सामाजिक सेवा गर्न चाहन्छिन्। आफ्नै नाममा एउटा ट्रष्ट खोलेर गरिब दलितका छोराछोरीलाई पढाउन चाहन्छिन्। भोखा-नाङ्गाहरुलाई लत्ताकपडा र भोकमरीमा खाद्यान्न सहयोग गर्ने अभियानसमेत थालेकी थिइन्। तर कोरोना महामारीसँगै व्यापारसमेत खस्केको र बाहिरसमेत हिँडडुल गर्न नपाएकोले यी कामहरू त्यतिकै थाँती रहेका छन्। राम्रो र विश्वासिलो टिम भयो भने बाँकी जीवन समाज निर्माणमा लगाउने बताउँछिन्।

अन्ततः राजनीति गर्ने, नेता बन्ने र समाजका लागि एउटी महिलाले पनि केही गरी भनेर देखाउने उनको उद्देश्य छ। नामकै लागि भए पनि आफ्नो जिल्लामा गएर केही गर्ने इच्छा छ। केही सकिनन् भने एउटा स्कुल खोल्ने, त्यहाँबाट देश हाँक्ने संस्कार र संस्कृतियुक्त सच्चा छोरीहरू उत्पादन गर्ने उनमा धोको छ। बालेन शाह, हर्क साम्पाङ, रेणु दाहालजस्तै बनेर पाँचखाललाई काठमाडौंको वैकल्पिक ठूलो शहर बनाउने उनको लक्ष्य छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्