फोन-पे कसरी गर्ने ?

QR_Code
लोकपाटी न्यूज
5 Shares

मानिसको हात-हातमा स्मार्ट मोबाइल फोन पुगेसँगै यसबाट लिइने सेवा पनि बढ्दै गएको छ। स्मार्टफोनले क्यामेरा, कम्प्युटर, घडी, क्यालकुलेटर मात्र होइन, एकै छिनमा फोन रिचार्ज, पानी बिजुलीको बिल भुक्तानीदेखि विभिन्न प्रकारका भुक्तानी सेवा दिन सुरु गरेको धेरै भइसक्यो।

डिजिटल माध्यमको प्रयोग नगद कारोबारको एउटा बलियो विकल्पको रुपमा देखा परेको छ। मोबाइल पेमेन्टबाट विकसित हुँदै गएको यो नयाँ प्रवृत्ति अहिले क्युआर कोडको प्रचलनसम्म आइपुगेको छ। क्यूआर कोड मार्फत हुने भुक्तानीलाई नेपालमा अभ्यस्त बनाउने श्रेय फोन-पेलाई जान्छ।

सन् २००८ तिर नेपालमा मोबाइल पेमेन्टको सुरुवात भयो। स्मार्टफोनको प्रयोग बढ्दै गएपछि बिस्तारै डिजिटल भुक्तानी सेवा सहज बन्दैगयो। सबै बैंकहरुले इन्टरनेटमा चल्ने मोबाइल बैंकिङ सेवालाई प्रोत्साहित गरे। एसएमएसबाट टेलिकमको टपअप, ल्याण्डलाइन र एडीएसएलको बिल तिर्न त मिल्थ्यो तर संसारका अरू ठाउँमा मोबाइलबाटै रेष्टुरेन्ट, पसल लगायतको भुक्तानी गर्न मिल्ने भइसकेको थियो।

फोन-पे डाइरेक्ट भनेको एउटा बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिने एउटा सजिलो माध्यम हो। फोन पे डाइरेक्टको प्रयोग गरी मोबाइल नम्बर हालेर पैसा तुरुन्तै अर्को बैंकको खातामा पठाउन सकिन्छ। फोन-पे डाइरेक्ट मार्फत पैसा पठाउँदा पैसा पाउने व्यक्तिको मोबाइल नम्बर मोबाइल बैंकिङमा रजिष्टर भएको हुनु पर्नेछ। त्यसपछि मोबाइल नम्बर मात्रै राखेर फोन पे डाइरेक्ट मार्फत अर्को बैंकको खातामा पैसा पठाउन सकिन्छ।

कसरी गर्ने फोन-पे ?

फोन-पे डाइरेक्ट प्रयोग गर्नका लागि सुरुमा आफ्नो बैंकको मोबाइल बैंकिङ एपमा जानुहोस्। त्यसपछि नम्बर र पासवर्ड लगइन गरी ‘सेन्ड मनि’ मा क्लिक गर्नुहोस्।

सेन्ड मनिमा क्लिक गरेपछि ‘टु रेसिपेन्ट्स मोबाइल नम्बर (फोन-पे डाइरेक्ट) मा थिच्नुहोस्। त्यसपछि तपाईंले पैसा पाउने व्यक्तिको मोबाइल बैंकिङमा रजिष्टर भएको मोबाइल नम्बर राखेर सजिलै पैसा पठाउन सक्नुहुनेछ।

यसरी नेपालका ५० भन्दा बढी बैंकका कुनै पनि खातामा मोबाइल नम्बर प्रयोग गरी सजिलै र तुरुन्तै पैसा पठाउन सकिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्