हाम्रा सांस्कृतिक विविधता मुलुकका सम्पत्ति हुन् : मुख्यमन्त्री राई

Rajendra_Rai
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचानका साथ अनेकतामा एकता कायम गर्न हाम्रा चाडपर्वहरूको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्। नेपालीहरूको चाड बडादसैंको शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।

मुख्यमन्त्री राईले समाजमा रहेको विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत भएको बताए। उनले हाम्रा सांस्कृतिक पर्वहरू आपसी सहिष्णुता र भावनात्मक एकताका प्रतीक भएको बताएका छन्। उनले पर्वहरूको मौलिकतालाई कायम राख्दै संस्कृतिको जगेर्ना गर्नुपर्ने आवश्यकता औँल्याए। पर्वहरू मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै पर्वहरू मनाउनु वाञ्छनीय हुने उनको ठहर छ।

मुख्यमन्त्री राईले पर्वहरूका बीचमै आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गरी संविधान, गणतन्त्र, संघीयताको रक्षा, सुदृढीकरणका लागि भूमिका निर्वाह आज नागरिकमा आग्रह पनि गरे। साथै उनले, बडादसैंको अवसरमा देश, विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्