समतामूलक समाज निर्माणका लागि राष्ट्रिय चिन्तनको खोजी

लोकपाटी न्यूज
19 Shares
  • विश्वेश्वर कट्टेल

 जनताले राज्यप्रति दर्शाएको माया, सम्मान र भक्तिभाव नै राष्ट्रिय चिन्तन हो। राष्ट्रिय चिन्तन देशको सम्पत्ति हो। राज्यप्रति जनता किन विश्वस्त हुन्छ ? किनकि राज्यका कारण ऊ आफू सुरक्षित भएको महशुस गर्दछ। आफ्ना क्षमता उजागर गर्ने अवसर पाउने कुरामा विश्वस्त हुन्छ। यसरी मानिसमा राष्ट्रिय चिन्तनको भावना जागेको हुन्छ।

नेपालमा सरकारले लागु गरेका ऐन, नियम, कानुन र नेपाली जनताका लागि निर्माण भएका नीति नियमहरू सबैप्रति नेपाली जनताको जुन विश्वास छ, र त्यो विश्वासको आधारमा जसरी समाज चलेको छ, त्यो नेपालीले अवलम्बन गरेको राष्ट्रिय चिन्तन हो। त्यो नेपालको सम्पत्ति हो। सम्पत्ति भनेकै सबैले स्वीकार्ने वा स्वीकारेका कुरा हुन्। अर्थात् सम्पत्ति भनेको त सबैले गरेको विश्वास न हो। त्यस्तो विश्वासको वातावरण भने राज्यले प्रदान गरिदिएको हुन्छ। यसरी के भन्न सकिन्छ भने राष्ट्रिय चिन्तनको सिर्जना, विकास र प्रवर्धनमा राष्ट्रको भूमिका नै अहम् रहेको हुन्छ।

राज्य र राष्ट्रियहित

विभिन्न समाज मिलेर सामुदायिक हित र रक्षाका लागि निर्माण गरेको संस्था नै राज्य हो। यसको जन्मदाता पालन पोषणकर्ता र संरक्षक, समाज नै हो। समाजले आफ्नो हित र सुरक्षाका लागि आफ्ना बाहुबलले निर्धारण गरेको क्षेत्र राज्य हो। राज्यभित्र निश्चित सीमा हुन्छ, निश्चित जनसंख्या र भूगोल हुन्छ, उसको आफ्नै ऐन, नियम कानुन र शासन व्यवस्था हुन्छ। त्यसको प्रयोग गर्न ऊ स्वतन्त्र हुन्छ। ऊसँग निश्चित सेना हुन्छन्। यी सबै जनताको हितका लागि काम गर्दछन्।

आम जनताको हितका लागि गरिने सबै काम राष्ट्रिय हित हो। यसरी हेर्दा त्यस राष्ट्रको हितका लागि गरिएका हरेक क्रियाकलापमा राष्ट्रिय चिन्तन लुकेको हुन्छ। एउटा व्यक्ति त्यो देशको नागरिक हो। राष्ट्रप्रति उभित्र जुन प्रेम पैदा हुन्छ, त्यो राष्ट्रिय भावना हो। राष्ट्रिय भावनाले नै राष्ट्रियताको जन्म दिन्छ। राष्ट्रिय भावनाले प्रेरित भएर गरिने हरेक किसिमका चिन्तन नै राष्ट्रिय चिन्तन हो।

राष्ट्रिय चिन्तन

मानिस कुशल बन्नका लागि र क्षमतायुक्त बन्नका लागि के-कस्ता कुराहरू हुन, आवश्यक हुन्छ, ती सबै कुराका बारेमा सोध खोज गर्ने, अध्ययन अनुसन्धान गर्दा ती कुरामा ध्यान दिने, हरेक काम गर्दा राष्ट्रलाई पहिलो प्राथमिकता राखेर सोच्ने आदत नै राष्ट्रिय चिन्तन। आफ्ना पुस्ताका ज्ञान, सीप सिर्जनाहरूको उजागर गरी आफूलाई अरूका माझ चिनाउन प्रयास गर्ने। आफ्ना स्रोत साधनको खोजी गरी त्यसको व्यवसायीकरण गर्ने, अन्तर्राष्ट्रियस्तरसम्म व्यापार करणको सोच बनाएर काम गर्ने। आफ्नो देश समृद्ध भयो भने मात्र अरूको सामु कहिल्यै झुक्न नपर्ने अवस्था आउँछ भन्ने मान्यता भित्री मनमा राखेर काम गर्ने जस्ता बानी व्यवहार र प्रवृत्ति नै राष्ट्रिय चिन्तन हो।

समाज विज्ञानको उत्पादन

समाज भनेको विज्ञानको उत्पादन हो। विज्ञान भनेकै प्रयोग र परीक्षणका आधार स्तम्भ र स्थलहरू हुन्। हरेक समाज, समाज विज्ञानको प्रयोगशालाभित्र जीवन्त बनेर दिनानुदिन प्रयोग र परीक्षणबाट गुज्रँदै अगाडि बढिरहेको हुन्छ। प्रयोगशालाका सम्पूर्ण काम कारबाही नै मानिसको दिनचर्या बनेको हुन्छ। प्रयोगशालाले कस्तो उत्पादन दिइरहेको छ भन्ने कुरा भने प्रयोगशालामा प्रयोग हुने सामग्रीमा भर पर्दछ। जस्ता सामग्री छन्, त्यस्तै उत्पादन हुन्छन्। आफूले राम्रो सामग्री दिन सकिएन भने उत्पादन हुने चिज वस्तु पनि राम्रा हुँदैनन्। यस्तो अवस्थामा हामीमा दुई वटा समस्या देखा पर्दछन्, कि त अरूको प्रयोगशालाका सामग्री हामीले प्रयोग गर्न पर्छ। कि त हामीले नै हाम्रा सामग्री कसरी राम्रो बनाउने भनेर चिन्तन मनन र प्रयोग परीक्षणमा जोड दिन पर्दछ।

कहिले काहीँ यी दुई पक्षभन्दा बेग्लै नयाँ बाटो पनि समाउन सकिन्छ। हाम्रा सामग्रीबाट हाम्रो समाजको प्रयोगशालाले हाम्रा आवश्यकता पुरा गर्न सकेन भने दोस्रो प्रयोगशालाबाट ल्याउन पर्‍यो। यसरी ल्याउँदा कि त साटेर कि त किने र ल्याउन पर्‍यो। साट्दासम्म त ठिकै छ, जब किन्न नै पर्दछ भने हामीले पनि बेच्न पर्‍यो। त्यही बेचेको पैसाले हामीले किन्न पर्‍यो। तब मात्र हामी अगाडि बढ्न सक्दछौ। आज यो देश धनी यो देश गरिब किन भनिएको छ ? यस बारे सोचौँ। जसले आफ्नो प्रयोगशालाका सामान थोरै उत्पादन गर्ने र अरू देशको सामान धेरै किन्न थाले त्यो देश गरिब भयो। यो गरिबीमा हामी नेपाली पनि छौ। आज पनि हाम्रो वैदेशिक निर्भरताले देश डुबेको छ। यो परनिर्भरता हटाउन पहिला हामीमा राष्ट्रिय चिन्तनको विकास गर्न जरुरी छ।

अरूको राम्रो भन्ने सोच

अरूको राम्रो आफ्नो नराम्रो भन्ने गलत सोच हामीमा हाबी छ। यो सबै सत्य हैन। अरूको राम्रो छ भनेर हाम्रो प्रयोगशालामा परीक्षण र उत्पादन नै बन्द भयो भने के होला ? आज त्यही संकट हामीमा पैदा हुँदैछ। हाम्रा विश्वविद्यालय काम नलाग्ने भन्न थालेका छौ। यही विश्वविद्यालयका विद्यार्थी देश विदेश जहाँ पनि सफल छन्। विश्वले हाम्रा प्राविधिक डाक्टरको प्रशंसा गर्दछन्, हामीलाई मान्न संकोच लाग्दछ। जे गर्दा पनि उनीहरू कमजोर नै गर्दछन्, जस्तो लाग्दछ। विदेशमा गएर भाँडा माझ्न तयार छन्, यहाँ पढाउन तयार छैनन्। नेपालमा रहेको पानी एक लिटरको हामीले १२ देखि १५ हजार सम्ममा बिक्री गर्न सक्दछौं। यसको बारे कतिलाई जानकारी छ ? यसबारे चासो छैन। यस्ता धेरै कुरा छन्, हामीसँग।

निजामती जागिर छाडेर भाँडा माझ्न विदेश जानेको संख्या बर्गेल्ति छ। हामीभित्र नकारात्मक चिन्तनले घर गरेको छ। आफू र आफ्नोप्रति विश्वास गुमेको छ। हामी भित्र कै कुरा गरौँ, १२ कक्षा पास हुन नसकेका वा स्नातक पास नभएका शिक्षकहरू भए पनि आम-मानिसमा के छ भने बोर्डिङ(निजी विद्यालय)को शिक्षा राम्रो हुन्छ। सामुदायिक विद्यालयमा विद्यार्थी पढाउँदा आफू समाजको तल्लो तहको नागरिक भएको अनुभूत गर्न पुग्दछन्। यो किन भएको छ भने, यो राष्ट्रिय चिन्तन नहुनुको कारण हो। र, राज्यले शिक्षाको कुशल व्यवस्थापन गर्न नसकेर पनि हो।

प्रयोगशालाका अस्थित्व खोज्न जरुरी

यसरी मानव सभ्यताको यो चरणसम्म आइपुग्दा जे-जति प्रगति भएका छन् ती सबै सामाजिक प्रयोगशालाबाट तयार गरिएका हुन्। यसलाई नै हामी समाज विज्ञान भन्दछौ। यसर्थ राष्ट्रिय चिन्तन समाज विज्ञानको प्रमुख र महत्त्वपूर्ण पक्ष हो। राष्ट्रिय चिन्तनको अभ्यासका कारण अन्तर्राष्ट्रिय सहयोग सम्बन्धका अवधारणा विकास भएका छन्। आज समग्र विश्व परिवेशमा हरेक क्षेत्र र विषय स्तरका प्रयोगशालाहरूको अस्थित्व खोज्न सकिन्छ। तर, ती सबै समाज विज्ञानभन्दा बाहिर भने रहेका हुँदैनन्।

पहिला हामीले सोच्न पर्दछ कि हाम्रो प्रयोग शालामा उन्नत र उत्तम विषय वस्तुहरू कसरी राख्ने। यसमा सुधार नभएसम्म कहीँ कतै सुधार हुने देखिँदैन। पानीको मुहान धमिलो भए पानी सफा हुँदैन। हाम्रो प्रयोगशालाबाट उत्पादन वस्तु चेतना नै हो। चेतना भन्ने कुरा मानिसको अर्धचेतन मनबाट तयार हुँदै, चेतन मनमा पुगेपछि बल्ल बाहिर निस्कन्छ। त्यसलाई सुधार गर्ने हो भने चेतनालाई प्रभाव पार्ने तत्त्वका बारेमा हाम्रो ध्यान केन्द्रित हुन पर्छ। त्यसमा पहिलो त वातावरण नै हो।

चेतनालाई प्रभाव पार्ने तत्त्व वातावरण

वातावरण दुई किसिमको हुन्छ। एउटा प्रकृतिले तयार गरेको वातावरण र अर्को मानिसले तयार गरेको वातावरण। मानिसले तयार गरेको वातावरण हाम्रो जीवन व्यवहार रहन सहनको एक अंश हो। हामी यसलाई संस्कृति भन्दछौ। प्रकृतिको वातावरण पनि कुनै पद्धतिद्वारा निर्माण हुन्छ। त्यसका आफ्ना वैज्ञानिक विधि र पद्धति छन्। पहिला त प्रकृति र मानवबीच एउटा समन्वय कायम गर्न सक्नु पर्दछ। प्रकृतिको पद्धति बुझिसकेपछि हामीले कि त त्यसको विरुद्ध गएर सफलताको छलाङ मार्दछौ, कि त त्यसको अनुकूलन काम गर्दछौ। मानव विकासको इतिहासमा यी नै दुई प्रवृत्ति प्रयोग गरेको पाउँछौ।

चेतना के हो र यसको विकास कसरी हुन्छ ? यो दर्शनको प्रश्न भयो। वास्तवमा दर्शन विना कुनै सिद्धान्त जन्मँदैन, सिद्धान्त विना कुनै चिज वस्तु वा घटना घटेका हुँदैनन्। चेतना विकासका लागि सिद्धान्त बुझ्न जरुरी छ। सिद्धान्त सिक्नका लागि दर्शन बुझ्न जरुरी छ। दर्शन र सिद्धान्तको प्रयोग समाज हो। त्यो प्रयोगशालाबाट जे प्रतिफल प्राप्त हुन्छ, त्यो समुदायको साझा प्रयासको उपलब्धि हो। हामी त्यसलाई समुदायको सम्पत्ति भन्दछौ। यसरी हरेक स्थान र परिवेश अनुसार वातावरण फरक फरक हुन्छ भने फरक वातावरणले फरक फरक समुदायको जन्म दिएको हुन्छ। जसका कारण समुदाय अनुसार त्यसका विशेषता पनि फरक फरक हुन पुग्दछन्।

ज्ञान प्रयोगशालाको उत्पादन

विशेषता भनेको पहिचानका आधारहरू हुन्। मूलतः यी अमूर्त हुन्छन्। यी जीवनमा गतिलो प्रभाव पार्ने धरातल हुन्। विशेषताको धरातल बुझेर जबसम्म व्यवहारमा वा प्रयोगशालामा परीक्षण गर्न सकिँदैन तबसम्म त्यस वस्तु वा विशेषताले आफूलाई विकास र रूपान्तरण गर्न सक्दैन। प्रयोगशालाको उत्पादन भनेको ज्ञान हो। प्रयोगशालाले सकारात्मक र नकारात्मक गरी दुई किसिमबाट ज्ञानको उत्पादन गरिदिएको हुन्छ। सकारात्मक पक्षलाई हामी ज्ञान नै भन्दछौ भने नकारात्मक पक्ष शिक्षा हो। जसलाई पुन सकारात्मक तुल्याउनका लागि प्रयोग गरिन्छ।

शिक्षा भन्ने कुरा अन्य कुनै तत्त्वबाट आयातित कुरा हैन। शिक्षा त समाजबाटै प्राप्त हुन्छ। जब शिक्षा प्राप्त हुन्छ, तब त्यसले ज्ञानको रूप धारणा गर्न पुग्दछ। आगोले पोल्दछ। सबैलाई थाहा छ। आगोले पोल्दछ भन्ने ज्ञान नगरी उसले अरूलाई आगोले पोल्दछ है नजिक नजाऊ भनेर शिक्षा दिन सक्दैन। जुन समय आगोको पहिचान मानिसले गर्‍यो, त्यसपछि उसमा यो ज्ञान भयो कि, आगोले पोल्दछ। यसलाई अरू चिजको सम्पर्कमा राख्न हुँदैन।

राष्ट्रिय चिन्तन आफ्नो राष्ट्रको हित र समृद्धिका लागि त्यस देशका नागरिकले गर्ने चिन्तन हो। यो चिन्तन कसरी विकास हुन्छ, यसका पाटा र पक्ष के कस्ता छन् भन्ने सन्दर्भ यहाँ सविस्तार उल्लेख गर्न सकिएको छैन। यसलाई एउटा सानो कुनबाट अलिकति हेर्न प्रयास गरिएको छ। यसमा तपाइ पाठकहरूको राय बाझिन सक्छ, बाझिन पर्छ र यसमा थप बहस छलफल चल्न पर्दछ। आगामी अंकहरूमा पनि यसबारे निरन्तर छलफल गरिने नै छ। अस्तु…।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्