पार्टीबीचको ध्रुवीकरण विकसित राजनीतिको समृद्ध इतिहास

सम्पादकीय

Lokpati Logo
लोकपाटी न्यूज
19 Shares

गणतन्त्रको विकल्प गणतन्त्र नै हो, राजतन्त्र हैन। देशका शीर्ष नेताहरूको साझा अभिव्यक्ति हो यो। यो अभिव्यक्ति त्यस समारोहमा गरियो जुन समारोहको आयोजना काँग्रेसले गरेको थियो। बिपीले अगाडि सारेको ‘मेलमिलाप दिवस’ पारेर गरिएको अन्तरक्रिया कार्यक्रममा गणतन्त्र स्थापना गर्न आ-आफ्ना किसिमले संघर्ष गरेका देशका प्रमुख पार्टीका नेताहरूबीच यो कुराले साँझरूप लिन पुग्यो। तत्कालीन समयमा बिपीले भारत प्रवासको आफ्नो निर्वासित जीवन तोड्दै राजासँग एकताको प्रस्ताव साथ मेलमिलापको एक पक्षीय नीति घोषणा गरी नेपाल फर्किएका थिए। त्यस समय बिपीको यो नीतिले एकतन्त्रीय निरङ्कुश राजतन्त्र झस्कन पुगेको थियो भने इतर दलीय राजनीतिक पक्षहरू पनि सशङ्कित बन्न पुगेका थिए।

बहालवाला प्रधानमन्त्री बिपी कोइरालालाई राजा महेन्द्रले जेलमा कोचेर २०१७ साल पुस १ गते बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरे। राजनीतिक दलमाथि प्रतिबन्ध लगाए। त्यसको ८ वर्षपछि २०२५ कात्तिक १४ गते उनी रिहाइ भए। बिपी आफ्ना सहकर्मीसहित भारत पलायन भए। भारतमा रहेर नेपालको राजनीति गरिरहेका बिपी भारतमा पनि बस्न नसक्ने अवस्था सिर्जना भयो। किनकि त्यसबेला भारतमा काँग्रेस आइकी इन्दिरा गान्धी प्रधानमन्त्री थिइन्। जयप्रकाश नारायण, राममनोहर लोहिया, चन्द्रशेखरसहितका समाजवादी नेता प्रतिपक्षमा थिए। यहीबेला गान्धीले आपत्कालीन स्थिति घोषणा गर्दै सङ्गिन पेचिलो राजनीति सुरु गरिन। त्यसबेला बिपीलाई कि इन्दिरा गान्धीसँग मिलेर बस्न पर्‍यो, कि भाग्न पर्‍यो।

बिपीले सोचे कि इन्दिरा गान्धीसँग आत्मसमर्पण गर्नभन्दा त नेपालकै राजासँग आत्मसमर्पण गर्न ठिक। त्यसपछि उनले राजा र मेरो घाँटी जोडिएको छ भन्दै, भारत पसेको ८ वर्षपछि २०३३ साल पुस १६ गते उनी गणेशमान सिंहसहित राजासँग विद्रोह होइन, मेलमिलाप गर्नुपर्छ भन्ने नीति लिएर स्वदेश फर्किए। त्यतिबेला उनलाई क्यान्सर रोग पनि लागेको थियो। उनी नेपालकै माटोमा मर्न चाहन्थे पनि। नेपाल फर्कँदै गर्दा बिपीमाथि राजकाज सम्बन्धी ७ मुद्दा अदालतमा विचाराधीन थिए। उनी फर्कँदा नेपालमा वीरेन्द्र राजा भइसकेका थिए। बिपी कोइराला संवैधानिक राजतन्त्रको पक्षपाती थिए। राजाले उनलाई स्वतन्त्र रहन दिए र अमेरिका गएर क्यान्सरको उपचार गर्न २ लाख रुपियाँसमेत उपलब्ध गराए। बिपी कोइराला नेपाल प्रवेश गरेकै वर्षदेखि पुस १६ लाई नेपाली काँग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको हो। यो दिवस हिजो काँग्रेसले लोकतन्त्र र गणतन्त्रको रक्षार्थ राष्ट्रिय सहमति र एकता थलोको रूपमा मनाउन सफल रह्यो।

राजतन्त्र पक्षधरहरूले आन्दोलन सुरु गरिरहे कै बेला भएको शीर्षस्थ नेताहरू गणतन्त्र रक्षार्थ एकजुट हुन पुगेका छन्। कुनै समय काङ्ग्रेसले कम्युनिस्टलाई मानिस नै हैन जस्तो गर्दथ्यो। कम्युनिस्टहरू काँग्रेसलाई परम शत्रु ठान्दथ्यो। यही राजनीति हो, यही देश हो, यही जनता हो। तर राजनीति परिवेश ध्रुवीकृत हुँदै छ। नेपालको राजनीतिमा यो ध्रुवीकरण कुनै संयोग मात्र हैन, परिस्थितिको उपज हो। हिजोको आन्दोलनको साख जोगाउन पर्ने, पार्टीहरूले आफ्नो कमजोरी स्वीकारेर सचिनु पर्ने, गणतन्त्रको उपलब्धि संस्थागत गर्नुपर्ने र नेपाली जनताको मन जित्ने गरी काम गर्नुपर्ने बाध्यता हो। यति मात्र हैन, पार्टीहरूबीचको यो ध्रुवीकरण विकसित राजनीतिको समृद्ध इतिहास पनि हो।

अन्धकार युगको रूपमा रहेको २५० वर्षको राजतन्त्र नभोग्ने नयाँ पुस्ताले त्यसको कर्तुत बुझेको लाग्दैन। यही इतिहासभित्र नेपाल युरोपभन्दा अगाडि बन्न सक्ने अवसर कसले समाप्त पारेको थियो। विदेश पलायनको यो अवस्था गणतन्त्रको परिणामले ल्याएको हैन। यो राजतन्त्रले रोपेको विष वृक्षको उपलब्धि हो। पुराना संयन्त्र आज पनि जीवित छन्। पुराना सोच आज पनि हाम्रा रगरगमा घुलेर बसेको अवस्था छ। प्रशासन पुरानो रोगबाट मुक्त हुनै सकेको छैन। अँध्यारा गाउँबस्तीमा अझै चेतनाका किरणहरू छाउन सकिरहेका छैनन्। दुखिले पुर्पुरोलाई दोष दिने चलन कायमै छ। पाखुरीलाई पौरख र सामर्थ्यलाई दोष दिने दिन अझै आइपुगेको छैन। हामी भरखर त्यसको सङ्घारमा छौ। किनकि, गाउँ बस्तीहरूमा भरखर बिजुली पुगेका छन्। भरखर बाटो खनिँदै छ। सडक पुग्दै छ। दुर्गम बस्तीमा पनि ठुलठुला स्कुल भवन बनेका छन्। अस्पताल र डाक्टर गाउँतर्फ लम्कँदै छन्, तर हतार भएको छ। छिटो चाहिएको छ। भोक ज्यादै छ। तिर्खा ज्यादै छ। डालोमा सामल कम छ। घैँटोमा पानी थोरै छ। यसले विद्रोह जाग्नु ठिकै हो। तर, यसैलाई व्यवस्था परिवर्तनको रोइलो अलाप्नु भनेको निर्माण हुन लाग्दै गर्दाको घर ध्वस्त पार्नु हो। नेपाली जनताको सुन्दर भविष्य निर्माणको अवसर लुट्न खोज्नु हो।

हामीभित्रका कमजोरी अभाव आजको दिनले ल्याएको हैन। पचासौँ वर्षको परिणाम हो। विदेश जानु अवसरको खोजी गर्नु बाध्यता हो। त्यसलाई रोक्ने प्रयास गर्नु हाम्रो कर्तव्य हो। हिजो सीमा बन्द गरेर अवसर सबै खुम्च्याइन्थ्यो। सोह्र हातको सरस्वतीलाई चार हातको मन्दिरभित्र कोचिन्थ्यो। गणतन्त्रले त्यो गर्न दिँदैन। लोकतन्त्रले त्यो मान्यता बोक्दैन। विदेश जान बाध्य युवाहरू स्वदेश राख्ने योजना बनाउँछ। स्फूर्तरूपमा स्वदेश बस्न योग्य तुल्याउँछ। जग खन्दै छ, आधार तयार गर्दै छ। एकैचोटी आकासे भवनहरू बन्दैनन्। उत्निखेर नै आकाशमा पुलहरू ठडिँदैनन्। समय लाग्छ। कुर्नै पर्छ। हात बाँधेर कुर्ने र कुर्लने हैन। काम गर्दै विरोध गर्दै औला ठड्याउँदै अगाडि बढ्न पर्दछ। विद्रोह अहिले हैन, अहिले त विरोध गर्ने हो। हेर र पखको समय हो।

यतिखेर सबै नेताहरू एउटै मञ्चमा देखिनु नेपालीले खुसी मान्न पर्दछ। नेपालको राजनीतिभित्र एकता सद्भावको विकास भएको ठान्नु पर्दछ। नेपालको हित नचाहने तत्त्वहरू यो एकताबाट त्रसित छन्। गलत व्याख्या गर्दै छन्। हामीले पहिला आफैमाथि विश्वास गर्नु पर्दछ। हिजो अपमान सहिएको थियो। असमानता व्यहोरिएको थियो। अब अपमान र असमानताविरुद्ध संघर्ष गर्नुपर्छ। एकपटक पुन देश र जनताको नाममा समर्पित हुन परेको छ। किनकि देश विकासको काम कम्तीमा १०० वर्णको आयु हो भनी सम्झन सक्नु पर्दछ।

सोमबार काँग्रेसले गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको खुला अन्तर्क्रियामा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित संविधान निर्माणमा संलग्न दलका शीर्ष नेताहरू एउटै मञ्चमा उभिनु एक महत्त्वपूर्ण परिवेश सिर्जना हुनु हो।

राजनीति मञ्चमा उभिएर गरिएका प्रतिबद्धताले सकारात्मक सन्देश दियोस्। साँच्चै धर्मको देश हुँदैन। धर्म मानिसको विचार र आस्थासँग जोडिएको हुन्छ न कि देशसँग। हिजोको प्रतिबद्धताले देश विकासको सङ्कल्प लिएको छ। साँच्चै हो गणतन्त्रको विकल्प गणतन्त्र नै हो। राजतन्त्र त हुनै सक्दैन। यो नेताहरूले मात्र भन्ने हैन, हामीले भन्ने पनि यही हो। यो कुरा इतिहासले देखाएको मात्र हैन कि समाज विज्ञानले पनि पुष्टि गरेको वैज्ञानिक सत्य हो। वस्तु निष्ठ सत्य हो। असत्यको अन्धकारतर्फ जाने भ्रम नगरौं। सत्यको उज्यालोतर्फ अगाडि बढौं। अस्तु…..।