यस्तो दिन आउँदैछ : हामीलाई विज्ञानले मर्न दिँदैन, प्रविधिले बाँच्न दिँदैन!

लोकपाटी न्यूज
52 Shares

एक दिन संसारको धर्म ‘डाटावाद’ बन्नेछ। कृत्रिम बौद्धिकताको दृष्टिमा मानव डाटाभन्दा बढी केही पनि हुने छैनन्। यदि कसैले इन्टरनेटमा किताब सर्च गर्‍यो भने कृत्रिम बौद्धिकताले त्यसलाई किताबको विज्ञापन देखाउनेछ। यदि कसैले आतंककारी समूहको बारेमा पढिरहेको छ भने उसमाथि निगरानी राखिनेछ।

उसलाई गिरफ्तार पनि गर्न सकिनेछ। बजार व्यवस्थापनदेखि लिएर सुरक्षा जस्ता विषयसम्ममा पनि कृत्रिम बौद्धिकता सामेल हुनेछ। जसले संसारको पल-पलका सम्पूर्ण डाटा एकत्रित गरिरहन्छ। उसले त्यही डाटाको आधारमा निर्णय गर्दछ। डाटालाई नियन्त्रण गरी संसारमा शासन गर्नेछ।

संसार एक ‘म्याट्रिक्स’ बन्न

पुस्तकमा हरारेले भनेअनुसार समयसँगै संसार एक ‘म्याट्रिक्स’ बन्न सक्दछ। मानिस मेशिन बन्न पुग्छन् र मेशिन मानिस बन्नेछन्। कुनै भेदभाव रहनेछैन। हुन सक्छ सबै कुरा हाम्रै दिमागमा घट्न लाग्नेछन्। यो संसारमा पहिले नै धेरै निर्जीव प्रणालीले काम गरिरहेका छन्। यसरी नै मानव संसार पनि कुनै निर्जीव प्रणाली जसरी नै चल्नेछ। अहिले हामीले गोरुको सहाराले हलो चलाए जस्तै। त्यस समयमा मानव विचार केवल डाटाभन्दा बढी केही हुनेछैन। तिनीहरूलाई ‘इनपुट’ र ‘आउटपुट’ जस्तै गरेर प्रयोगमा ल्याइनेछ।

यी कुरा लामो समयको खोज अध्ययन अनुसन्धानका क्रममा प्राप्त डाटाहरूको तुलनात्मक अध्ययन र व्याख्या गर्दै एक इजरायली प्रोफेसरले पत्याउनै पर्ने गरी लेख्नुभएको पुस्तकमा उल्लेख गरिएका छन्। अर्थात ‘होमो डेयस : भविष्यको संक्षिप्त इतिहास’ जेरूसेलमको हिब्रू विश्वविद्यालयका इजरायली प्रोफेसर युवाल नोहा हरारीद्वारा लिखित एक चर्चित पुस्तक हो। यो पुस्तक पहिलो पटक सन् २०१५ मा हिब्रू भाषामा प्रकाशित भएको थियो भने सेप्टेम्बर २०१६ मा यसको अंग्रेजी संस्करण संयुक्त राज्यमा प्रकाशित भएको थियो। पछि फेब्रुअरी २०१७ मा अमेरिकामा पनि यो पुस्तक प्रकाशित भयो। यो पुस्तकमा लेखकले आफ्नो ऐतिहासिक सर्वेक्षणसँग सम्बन्धित नैतिक मुद्दाहरू सँगसँगै घटनाहरू र विशिष्ट मानवीय अनुभवहरूको वर्णन गर्दै चीजहरू र घटित हुने तरीकाको विवरण दिएका छन्।

उनले होमो सेपियन्सद्वारा एक प्रजातिको रूपमा आफ्नो अस्तित्व र विकासको क्रममा हासिल गरिएका क्षमताहरूमाथि गहिरो र उत्कृष्ट सोच प्रस्तुत गरेका छन्। होमो डेयसमा मानवताको वर्तमान क्षमता र उपलब्धिको वर्णन गरिएको छ। भोलिको भविष्यवाणी गर्ने प्रयास गरिएको छ। यसमा एउटा मानिसले खुसी प्राप्त गर्ने, अमरता हासिल गर्ने र ईश्वरकै जस्तो शक्ति प्राप्त गर्ने प्रयासको सम्भावना उल्लेख गरिएको छ।

चाहिएको काम लिन सक्ने बच्चा जन्माउने

होमो सेपियन्स एक दिन सर्वशक्तिशाली जस्तै बन्न सक्छ र उसलाई होमो डेयस भनिनेछ, उनले लेखेको पुस्तकमा उल्लेख छ। उनको दाबी छ, विस्तारै-विस्तारै मानिसले विज्ञान-प्रविधिमा अत्यधिक प्रगति गर्नेछ। एक दिन मानिसले आफ्नो इच्छाअनुसार गुण भएको बच्चा पैदा गर्न सक्नेछ। आज पनि ‘डिजाइनर बेबी’को अवधारणा चलिरहेको छ। यदि कुनै भ्रूणमा बौद्धिकताको जिन हालियो भने त्यो बच्चा धेरै बुद्धिमान हुनेछ। यस्तै प्रतिरोधात्मक, आदि जिन हालेर उसको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन सकिन्छ।

यस्ता मानिस हजारौं वर्षपछि समाजमा ‘सुपरमेन’, बलवान गुण हुनेछन्। यसरी नै उमेरको प्रक्रियालाई पनि शायद रोकिनेछ। र, मानिस कहिल्यै बूढो हुँदैन। मानिसको उमेर पनि शायद हजारौं साल हुनेछ। प्रविधिको कारणबाट मानिसले पर्यावरणलाई पनि जित्नेछ। उसले चाहनाअनुसार वर्षा र घामको सृजना गर्न सक्नेछ। यस्तो बिल्कुल सम्भव छ। किनभने ७० हजार वर्ष पहिलेको होमो इरेक्टस एक दिन होमो सेपियन्स बन्छ भनेर कसैले पनि सोचेको थिएन। सेपियन्स सिकारबाट आज इन्टरनेटसम्म पुगेको छ। यसरी नै आउने हजारौं वर्षमा उसले के-के गर्नेछ भन्ने कुराको यसै अनुमान लाउन सकिँदैन तर्क र प्रमाण दुवै भिडाउन खोजिएको छ।

मृत्यु नहुने मानिस बन्न सक्ने

मानिसले एक दिन आफ्ना सबै समस्याहरूलाई समाधान गर्न सक्नेछ। उसले अकाल, महामारी, हिंसा, आदिमाथि पूर्णतया विजय प्राप्त गर्नेछ। ‘सुपर-टेक्नोलोजी’को मद्दतले उसले यो सबै कार्य गर्नेछ। ‘सुपरह्यूमन’ हामीभन्दा १०० गुना बुद्धिमान हुने सम्भावना छ। त्यसकारण उनीहरूले समस्याहरूको तुरुन्तै समाधान गर्न सक्नेछन्। साथै मानिसले अमरताको खोजी गर्ने पनि कोशिस गर्नेछ। किनकि केही प्राणी कहिल्यै मर्दैनन्। जस्तो कि ब्याक्टेरिया हमेशा दुईमा विभाजित हुन्छन् तर मर्दैनन्। मानिसले पनि यस्तै जिनको खोजी गरी कहिल्यै मृत्यु नहुने हुनसक्छ। र, उसका अंगहरूबाट त्यसको नयाँ ‘भर्सन’ पैदा हुनसक्छ। यस्तो काम रूख, बोटबिरुवामा त हुन्छ नै। भित्तिले पुच्छर काटिदा नयाँ उमार्दछ। यसमाथि धेरै खोज भइरहेको छ। यसले के संकेत दिन्छ भने भविष्यमा यी सबैबाट नयाँ प्रविधि बनाउन सकिनेछ।

मानवताको मृत्यु हुँदै जाने

प्रविधि उच्च हुनुको फाइदा केवल सम्भ्रान्तहरूलाई मात्र मिल्नेछ। गरिब र मध्यम वर्गले केवल बेकार भएर रहनुपर्नेछ। उनीहरूको क्षमताको कुनै काम हुनेछैन। किनकि सबै कुरा कृत्रिम बौद्धिकता र रोबोट्सबाट सञ्चालित हुनेछ। श्रम गर्ने मानिसहरूको श्रमको कुनै काम हुनेछैन। त्यसको बदलामा आधुनिक मेशिनहरूले ती कामहरूलाई अति छिटो गरिदिनेछन्। घरको काम पनि रोबोटले नै गर्नेछ। हस्पिटलमा अपरेसन पनि रोबोटले नै गर्नेछ। यसरी बेकार वर्ग अगाडि बढेर विलुप्त पनि हुनसक्छ।

विस्तारै-विस्तारै मानवताको मृत्यु हुनेछ। मानवताको अर्थ मानिसका भावना, इच्छा, विचार, आदिको संरचना हो। मानवतालाई एक दिन डिजिटलवाद र रोबोटवादले प्रतिस्थापन गरिदिनेछ। जस्तो कि आज पनि मानिस एक-अर्कोसँग कुरा गर्नुको सट्टा आफ्नो मोबाइल फोनमा नै व्यस्त रहन बढी मन पराउँदछन्। यस्तै मानिसहरू ‘भर्चुअल’ वास्तविकतामा जिउन लाग्छन्।

प्रविधिविनाको शरीर अस्थित्वहीन

समयसँगै मानिसले स्वयंलाई प्रविधिसँग पनि जोड्न सक्छ। उदाहरण स्वरूप मुटुको ठाउँमा एक यन्त्र लगाउँदा बढी प्रभावकारी हुनसक्छ। यसबाट कहिल्यै हृदयाघात आउनेछैन र न मुटुसम्बन्धी रोगहरू नै लाग्नेछ। यस्तै उच्च परिष्कृत कृत्रिम अंगले मानव अंगहरूलाई प्रतिस्थापन गर्न सक्दछन्। मस्तिष्कको ठाउँमा कम्प्युटर लगाउने सम्भावना पनि हुनसक्छ। यसरी ‘साइबर्ग’को युग पनि आउन सक्छ। यो सबै कुरा फिल्मी होइनन्। मानिसले जुन चीजको कल्पना गर्दछ, त्यसलाई कार्यरूपमा पनि बदलिदिन्छ। जस्तो कि हजरौं वर्ष पहिले हामी आकाशमा उड्नेछौं भन्ने कुरा कसैलाई पनि थाहा थिएन। तर प्लेनको आविष्कारबाट यो सम्भव भयो।

मानवीय संवेदना विलुप्त हुने

सेपियन्स भनेको तर्कशील र चेतनशील मानव हुन्छ। एक दिन कम्प्युटरको सेपियन्स यति बढ्नेछ कि उसले हामीभन्दा धेरै बुझ्नेछ। हामी त भावनात्मक र चेतनात्मक निर्णय लिन्छौं, जुन गलत पनि हुन्छन्। तर कृत्रिम बौद्धिकतामा आधारित कम्प्युटरले बौद्धिक निर्णय लिनेछन्। मानिसहरूले आफ्नो प्रेम जीवन, कार्य र वृत्ति विकासको लागि पनि कम्प्युटरबाट निर्देशन लिनेछन्। जस्तो कि कैयौं पटक केही मानिसहरूले प्रेममा अन्धो भएर आफ्नो लागि गलत साथी चुन्दछन्। तर कम्प्युटरले आफ्नो तर्क शक्तिबाट मानिसलाई असल साथि चुन्नमा सहयोग गर्नेछ। यसबाट मानवीय संवेदना विलुप्त हुनेछ। भावनाको लागि कुनै ठाउँ रहँदैन। हरेकले बुद्धिले निर्णयले लिनेछन्।

नैतिकताको परिभाषा बदलिने

बिस्तारै यति उच्च प्रविधिमा आधारित एल्गोरिदम बन्नेछन् कि मानिसलाई विभिन्न क्याटागोरीमा विभाजन गर्न सकिन्छ। कृत्रिम बौद्धिकताले को राजनीतिकर्मी बन्नेछ र को अपराधी बन्नेछ ? आदि कुरा पहिले नै बताउनेछ। अपराधीलाई अपराध गर्नुभन्दा पहिले नै जेल हाल्न पनि सकिन्छ, ताकि अपराध नहोस्। यसको साथै जीव विज्ञानमा प्रगति भएपछि जिन सम्पादनको मद्दतले नयाँ जिनहरू पनि निकालिने सम्भावना हुन्छ। मान्यता र नैतिकताको पनि नयाँ परिभाषा हुनेछ। जुन अधिकतम मानिसहरूलाई राम्रो हुन्छ, त्यही शायद मान्यता र नैतिकता हुनेछ।

होमो सेपियन्स विलुप्त हुन सक्ने

अन्ततः कृत्रिम बौद्धिकता यति विस्तार हुनेछ कि होमो सेपियन्स विलुप्त हुनेछन्। र, यसको बदलामा होमो डेयस आउनेछन्। यो कृत्रिम बौद्धिकताले बनेको हुन्छ र ईश्वर जस्तै हुन्छ- अजर-अमर। जसरी होमो सेपियन्सले होमो नियन्डरथलेन्सिलाई विलोप गरिदिएको थियो, त्यसरी नै होमो डेयसले पनि एक दिन होमो सेपियन्सलाई विलोप गरिदिनेछ।

अन्तमा, हरारीले होमो डेयस (भविष्यको संक्षिप्त इतिहास) लेखेर इतिहासको परिभाषा बदलिदिएका छन्। आफ्नो पहिलो पुस्तक सेपियन्समा हरारीले समग्र मानव जातिको आजसम्मको यात्राको वर्णन गरेका थिए तर होमो डेयसमा उनले नभएको कुराको इतिहास लेखिदिएका छन् त्यो पनि आजका तथ्यहरूको आधारमा। मानिस वास्तवमा ‘ईश्वर’ (होमो अर्थात् मानिस र डेयस अर्थात ‘ईश्वर’) बन्नमा धेरै निकट पुगेको छ। तर समस्या के छ भने धेरै कम संख्यामा मानिस शक्तिशाली बन्ने र धेरै ठूलो संख्यामा मानव जाति कमजोर र बेकार हुनेछन्।

अनुमान लगाउन अझै असम्भव

हरेक नयाँ युगमा मानव जातिले के गर्नेछ भन्ने कुरा पत्ता लगाउन सकिन्छ, तर आउने समय यस्तो छ कि धेरै मानिसहरूले के गर्नेछन् भन्ने कुराको अनुमान लगाउन अझै असम्भव छ। हरारीका अनुसार मानिस अन्य जीवहरूभन्दा अलग हुनुको कारण प्रविधि हो। आगोमाथि विजय प्राप्त गरेर, कृषिको सुरुवात गरेर, भाषाको प्रयोगबाट मानिसले वृहत् स्तरमा आपसी सहयोग जुटाउन सकेको हो, जसको कुनै अरू प्रजातिमा कुनै उदाहरण छैन। जो शारीरिक रूपमा बलिया थिए वा जो तीक्ष्ण बौद्धिक थिए, उनीहरूले समाजमा शक्ति आर्जन गरे।

कम्प्युटर मानिसभन्दा बुद्धिमान

यन्त्रको आविष्कारले मानिस र जनावर दुवैको शारीरिक बललाई निरर्थक बनाइदिन्छ। बुद्धिको तीक्ष्णता मानव जातिको एक मात्र विशिष्टता जुन थियो त्यो हराउन पुग्दछ। आज हामी चौथो औद्योगिक क्रान्तिको समयमा छौं। आज एल्गोरिदम, ठूला डाटा र कृत्रिम बौद्धिकताले के प्रमाणित गरिदिएको छ भने कम्प्युटर मानिसभन्दा धेरै गुना बुद्धिमान छ। फरक यति मात्र छ कि कृत्रिम बौद्धिकताको कुनै चेतना हुँदैन र नभएको नै देखिँदै छ। तर समस्या के छ भने चेतनाको आवश्यकता कसैलाई छैन।

मानिसले के गर्नेछन् ?

सबभन्दा राम्रो घोडाभन्दा बढी प्रभावकारी एउटा कमजोर कार हुन्छ। घोडाले महसुस गर्न सक्दथ्यो तर कारले गर्दैन तर आज हामी सबै कारको प्रयोग गर्न सक्दछौं। यसरी महसुस गर्ने मानिसहरूको ठाउँमा यन्त्रहरू धेरै उत्कृष्ट डाक्टर, इन्जिनियर, प्राविधिक, वकिल, ड्राइभर, शिक्षक, आदि बन्न सक्दछन्। यिनीहरूलाई न त तलबको आवश्यकता हुन्छ र न संगठनको नै। यस्तो स्थिति मानव जातिको इतिहासमा पहिलो पटक निर्मित भएको छ। हरारी के प्रश्न गर्दछन् भने सबै कार्य मेशिनले गरेपछि मानिसले के गर्नेछन् ? त्यो समय कस्तो होला, जब विज्ञानले हामीलाई मर्न दिँदैन र मेशिनले हामीलाई बाँच्न दिँदैन ?

चिन्ताको विषय के छ भने यो समय १००-२०० वर्ष भन्दा टाढा छैन, बरु यस्तो समय सुरु भइसकेको छ। दुईदेखि तीन दशकमा नै हामी स्वयंले यो समयलाई भोग्न सुरु गर्नेछौं। हरारीको प्रश्न हामी सबैको प्रश्न हो। यसरी उनको यो पुस्तकले इतिहास र विद्यमान समयलाई दृष्टिगत गर्दै मानव प्रजातिको भविष्यको जानकारी प्रदान गर्दछ। हरारी यो पुस्तकमार्फत मानिसहरूलाई धेरै कुरा सोच्न विवश बनाउँदछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्